राजनीति


लुम्बिनीका उपमहानगर : एमालेले रोक्ला कि कांग्रेसले खोस्ला?

यस्तो छ गत चुनावको अंकगणित
लुम्बिनीका उपमहानगर : एमालेले रोक्ला कि कांग्रेसले खोस्ला?

सुदीप भण्डारी
फागुन २३, २०७८ सोमबार २०:८, काठमाडौँ

लुम्बिनी प्रदेशमा ४ वटा उपमहानगरपालिका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा ३ उपमहानगरमा एमालेले बाजी मारेको थियो। बुटवल, तुल्सीपुर र घोराहीमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो। नेपालगञ्ज उपमहानगरपालिकामा भने एमाले कमजोर देखिएको थियो। यहाँ राप्रपाले मेयर र कांग्रेसले उपमेयर जितेको थियो। 

अघिल्लो चुनावी नतिजालाई आधार मान्दा यसपटक पनि नेपालगञ्जबाहेक तीन उपमहानगरमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ। एमालेले आफूले जितेका ठाउँ रोक्ला या कांग्रेसले खोस्ला? अहिले दलका स्थानीय नेता कार्यकर्ताहरुले यसकै हिसाबकिताब गरिरहेका छन्। अघिल्लो चुनावी नतिजा, थपिएका नयाँ मतदाता र भइरहेका पार्टी प्रवेशका गतिविधिलाई आधार बनाएर उनीहरुले जितहारको अनुमान लगाइरहेका छन्। 

हाल प्रदेशको अस्थायी मुकाम समेत रहेको बुटवल उपमहानगरमा गत चुनावमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत ल्याएर मेयरमा विजयी भएका थिए। कांग्रेसका खेलराज पाण्डेले २४ सय जति कम अर्थात् २० हजार ८५१ मत पाए। 

पाण्डेले पाएको मत सबै कांग्रेसको मात्र थिएन। बुटवलमा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको थियो। गठबन्धनमा माओवादी केन्द्रका जगत पोखरेल उपमेयरका उम्मेदवार बनेका थिए।​ वडाअध्यक्षहरुको मतलाई आधार मान्दा बुटवलमा त्यसबेला माओवादी केन्द्रको ३५ सय हाराहारीमा मात्र मत थियो। 

कांग्रेसका उम्मेदवार पाण्डेले पाएको मतमा सो संख्या घटाउँदा १७ हजार जति मात्र हुन आउँछ। यो भनेको एमालेले पाएकोभन्दा कांग्रेसले पाएको मत ६ हजार कम हो। 

यो अन्तरलाई आधार मान्दा बुटवलमा जित्न कांग्रेसलाई बढी मेहनत गर्नुपर्ने देखिन्छ। पार्टी विभाजनपछि एमालेलाई पनि बुटवलको मेयर हात पार्न ५ वर्षअघि जस्तो सहज भने छैन। पार्टी विभाजन हुँदा एमालेबाट माधव नेपालको एकीकृत समाजवादीमा कति गएका छन्? चुनावमै देखिने छ। 

बुटवललाई एमालेले आफ्नो गढ मानेको छ। एमालेसँग प्रतिस्पर्धाका लागि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच  तालमेलको चर्चा पनि छ। त्यसो भएमा चुनावी प्रतिस्पर्धा झनै तीव्र हुन सक्छ।

बुटवलजस्तै दाङका तुल्सीपुर र घोराहीमा पनि एमालेले मेयर जितेको थियो। तर यहाँ तालमेल भने भएको थिएन। तुल्सीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डे गत चुनावमा २२ हजार ८५७ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९३० मत पाए। माओवादी केन्द्रका उम्मेदवारले ८ हजार ६९३ ल्याएका थिए।  

त्यसबेला तुल्सीपुरमा एमालेको भन्दा कांग्रेसको ४ हजार जति मत कम देखिन्छ। तर एमालेभन्दा बढी वडा कांग्रेसले जितेको थियो। तुल्सीपुरका १९ वडामध्ये १० वटा कांग्रेसले जितेको थियो। कांग्रेसका मेयरका उम्मेदवारको भन्दा वडाअध्यक्षहरुको मतको योगफल करिब १ हजारले बढी थियो। 

घोराहीमा २२ हजार ३० मतसहित एमालेका नरुलाल चौधरी मेयर भएका थिए। कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री १७ हजार ४८४ प्राप्त गरेका थिए। 

घोराहीमा माओवादी केन्द्रको तुल्सीपुरमा भन्दा बढी मत देखिएको छ। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए। 

दाङका दुवै उपमहानगरमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा देखिन्छ। दाङबाट निर्वाचित दुई जना प्रतिनिधि सभा सदस्य एकीकृत समाजवादीमा गएकाले महासचिव शंकर पोखरेलको गृहजिल्लामा एमालेलाई धक्का लाग्ने अनुमान पनि गरिएको छ। त्यसबाहेक सत्ता गठबन्धन एक भएमा एमालेलाई यो चुनावमा नेतृत्व हात पार्न अझ कठिन हुने देखिन्छ। तर दाङ आफ्नो परम्परागत गढ भएको भन्दै तालमेलको सम्भावना नभएको कांग्रेस नेताहरु बताउँछन्। 

२०७४ मा एमाले नेपालगञ्जमा भने कमजोर देखिएको थियो। यहाँ राप्रपाका धवल शमशेर राणाले १२ हजार ५१५ मत ल्याएर मेयर जित्दा कांग्रेसका सुरेशकुमार कानोडियाले ८ हजार ७३० मत ल्याएका थिए। तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए। एमाले चौथो स्थानमा थियो। 

नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन्। उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन्। यसलाई आधार मान्दा नेपालगञ्जमा कांग्रेस र राप्रपालाई प्रतिस्पर्धी मानिएको छ। 

नेपाली कांग्रेस लुम्बिनीका उपसभापति राजु खनालले प्रदेशका उपमहानगरमा अब आफ्नो पार्टीले वर्चस्व कायम गर्ने दाबी गरे। 

‘अघिल्लो चुनावमा दाङमा पार्टीकै आन्तरिक कारणले दुवै उपमहानगर गुमाएका हौँ। यस पटक त्यसबाट पाठ सिकेर अघि बढ्छौँ। अब दाङमा दुवै उपमहानगर जित्छौँ,’ उनले भने, ‘नेपालगञ्ज पनि हाम्रो लागि सहज छ। बुटवलमा केही बढी मेहनत गर्नुपर्ने हुन सक्छ। तर सबै उपमहानगर हात पार्ने गरि अघि बढ्छौँ।’ 

एमाले लुम्बिनी प्रदेश संगठन कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशका उपमहानगरमा फेरि पनि आफ्नो पार्टीले जित्ने दाबी गरे।

‘गठबन्धनविरुद्ध एमाले हुँदा के होला भन्ने चिन्ता र बहस त छ। तर सांगठनिक, राजनीतिक हिसाबले एमाले कमजोर छैन,’ उनले भने, ‘योग्य, काम गर्न क्षमतावान् उम्मेदवार खडा गर्ने हो भने हामीलाई चुनाव जित्न दुख छैन।’ 

श्रेष्ठले बुटवल, तुल्सीपुर र घोराहीमा एमाले सजिलै विजयी हुन सक्ने तर नेपालगञ्जमा अलि बढी मेहनत गर्नुपर्ने बताए। 

माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, राप्रपा र मधेशवादी दललाई भने तालमेल र गठबन्धनबिना उपमहानगरको नेतृत्व हात पार्न कठिन देखिन्छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .