राजनीति


प्रधानमन्त्रीको निर्देशनपछि सांसद चौधरीलाई लगाइएको नेल खोलियो, दोषीलाई कारबाही गर्न निर्देशन

प्रधानमन्त्रीको निर्देशनपछि  सांसद चौधरीलाई लगाइएको नेल खोलियो, दोषीलाई कारबाही गर्न  निर्देशन

नेपालखबर
असार ७, २०७६ शनिबार ६:४५,

चौतर्फी विरोधपछि टीकारपुर हत्याकाण्डको अभियोमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीलाई लगाइएको १४ किलोको नेल (साङ्लो) हटाइएको छ।

सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

शुक्रबार बेलुकी सांसद चौधरीको खुट्टामा लगाईएको नेल हटाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेल खोलिएको बताए।

शुक्रबार बेलुकी प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीको निर्देशनपछि शुक्रबार बेलुकी नै नेल हटाइएको अधिकारीले बताए। उनले प्रधानमन्त्रीले घटनामा संलग्नको छानबिन गरी दोषीमाथि कारबाही गर्न मुख्यसचिवलाई निर्देशन दिएको बताए।

फोक्सो र ढाडमा समस्या देखिएपछि सांसद  चौधरीलाई बिहीबार वीर अस्पताल भर्ना गरी उपचार थालिएको थियो।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद चौधरीलाई उपचारका बेला समेत हत्कडीले बाँधेर लडाउनु अमानवीय हर्कत भएको भन्दै रोष प्रकट गरेका थिए। उनले

भट्टराईले फेसबुकमा चौघरीको खुट्टामा लगाइएको १४ किलोको नेलको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो?, हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण?’

पूर्वप्रधानमन्त्री भट्टराईले मात्रै नभइृ सञ्चार माध्यम र सामाजिक सञ्जालमा समेत यसको चर्को विरोध भएपछि प्रधानमन्त्रीले हटाउने निर्देशन दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .