ad ad

राजनीति


चिनियाँ विज्ञ हु भन्छन्ः एमसीसीमा अमेरिकाले नेपालमाथि कूटनीतिक दादागिरी देखायो

चिनियाँ विज्ञ हु भन्छन्ः एमसीसीमा अमेरिकाले नेपालमाथि कूटनीतिक दादागिरी देखायो

हु सिसेङ


नेपालखबर
माघ २८, २०७८ शुक्रबार २१:१७, काठमाडौँ

चीनको दक्षिण एसिया मामिलाका एक जना प्रभावशाली विज्ञले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन गराउने क्रममा अमेरिकाले नेपालमाथि कूटनीतिक बलमिच्याइँ गरेको बताएका छन्।

बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने ​अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेताहरुलाई एमसीसी नेपालको संसदबाट अनुमोदन नगरे सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वासिङ्टनबाट फोन गरेर लुले यदि नेपालबाट एमसीसी परियोजना फिर्ता भए त्यो चीनको हस्तक्षेपका कारण भएको मानिने बताएका थिए। 

अमेरिकाको सो चेतावनी नेपालमाथिको थिचोमिचो भएको चीन सरकार अन्तर्गतको संस्था चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) को इन्स्टिच्युट फर साउथ एसियन स्टडिजका निर्देशक डा. हु सिसेङले बताए।

‘अमेरिकी अधिकारीको यसखालको अभिव्यक्ति विश्वको एउटा ठूलो शक्तिराष्ट्रले अर्को एउटा सानो मुलुकमाथि गरेको एक प्रकारको कूटनीतिक दादागिरी र खुलेआम धम्की हो,’ सहायकमन्त्री लुले नेपालका शीर्ष नेतासँग राखेको भनाइबारे हुले बेइजिङबाट नेपालखबरसँग भने। 

हुले एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालले पाउने भनिएको ५० करोड डलरको अनुदानलाई ‘विषाक्त औषधि’ को संज्ञा दिए र यसले ‘नेपालको हित नगर्ने’ तर्क गरे। 

‘यो यति घातक छ कि कसैले यो सेवन गर्नासाथ उसको भयानक दुर्दशा सुरु हुन्छ। ५० करोड अमेरिकी डलरको परियोजना आफैँमा खासै कुरा होइन। मलाई लाग्छ, नेपाल यो विषाक्त औषधि नपिएर पनि बाँच्न सक्छ,’ उनले भने। 

एमसीसी सम्झौता अनुमोदन नभए त्यसले अमेरिकासँग नेपालको सम्बन्ध बिग्रिने र नेपाललाई भविष्यमा अप्ठेरो पर्न सक्ने आशंका व्यक्त भइरहँदा डा. हुले अमेरिकालाई नेपालको भविष्यको कुनै वास्ता नभएको बताए।

‘अमेरिका दुरीका हिसाबले नेपालबाट निकै टाढा छ। अमेरिकालाई नेपालको भविष्यको वास्ता छ भन्ने म विश्वास गर्दिनँ,’ उनले भने।   

चीनको उक्साहटमा नेपालका राजनीतिक दलले एमसीसी सम्झौता अनुमोदन नगरेको भन्ने अमेरिकी सहायक विदेशमन्त्री लुको भनाइप्रति हुले चासो व्यक्त गरे।

उनले थपे, ‘दुई ठूला छिमेकी चीन र भारतसँग असल सम्बन्ध राख्नु नै नेपालका लागि हितकर छ। अमेरिका त नेपालबाट निकै टाढा छ।’

एमसीसी परियोजना अमेरिकाकै स्वार्थअनुसार नेपालमा ल्याउन खोजिएको उनको विश्लेषण छ। 

‘विश्वमा तनाव सिर्जना गर्ने सबैभन्दा ठूलो शक्ति अमेरिका हो, जसलाई आफ्नो स्वार्थको भन्दा अरु कुराको खासै मतलब छैन’, हुको दाबी छ, ‘कथित अमेरिका फर्स्ट नीतिअनुसार उसले अरु मुलुकसँग व्यवहार गर्छ।’ 

बेइजिङमा नेपाल मामिलाका प्रभावशाली विज्ञका रुपमा परिचित हुले ‘अमेरिकाले नेपाललाई चीन र भारतविरुद्ध खेल्ने आफ्नो कार्डको रुपमा उपयोग गर्ने मनसाय राख्ने’ गरेको बताए। 

एमसीसी सम्झौता अनुमोदनका लागि नेपालको राजनीतिक नेतृत्वमाथि अमेरिकी दबाबप्रति टिप्पणी गर्दै हुले भने, ‘मलाई दृढ विश्वास छ– नेपाली जनता र नेताहरु अमेरिकाको यस्तो धोकाधडी र चालबाजीपूर्ण व्यवहारप्रति चलाखी अनपाएर कदम चाल्न सक्षम हुनेछन्।’

नेपालमाथि अमेरिकी दबाबलाई उनले अन्तमा भने, ‘सार्वभौमसत्ताविरुद्ध यो एक प्रकारको खतरा पनि हो।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .