सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा आधिकारिक धारणा तय गर्न सत्तारूढ समाजवादी पार्टीको संघीय परिषद् बैठक आज (बिहीबार)देखि राजधानी काठमाडौँमा सुरु हुँदै छ।
३० कात्तिकसम्म चल्ने बैठकले पार्टीको भावी कार्ययोजनासमेत तय गर्नुका साथै राजपासँगको एकताको विषयमा पनि ठोस धारणा बनाउने नेताहरुले बताएका छन्।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलोपटक समाजवादीको परिषद् बैठक बस्न लागेको हो। परिषद्को नेतृत्वमा डा.बाबुराम भट्टराई छन्।
बैठकमा सहभागी हुन मुलुकभरका करिब एक हजार प्रतिनिधि राजधानी आइपुगेका छन्।
समाजवादीमा सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा दुई थरी मत छ। कतिपयले यही बैठकको निर्णय अनुसार समाजवादी सरकारबाट बाहिरिने अनुमान गरेका छन्।
अध्यक्ष उपेन्द्र यादवसहित वर्तमान सरकारमा समाजवादीका तीन मन्त्रीछन्।
पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टीको सिद्धान्त, नीति, घोषणापत्र, विधान र नियमावली बनाउने काम परिषद्ले गर्ने बताए।
बैठकमा भट्टराईले समग्र राजनीतिक परिस्थिति र पार्टीको यसअघि घोषित सिद्धान्तलाई थप व्याख्यासहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।
प्रतिक्रिया