ad ad

राजनीति


११ दिनमा पनि यी ४ जिल्लामा किन चयन हुन सकेन एमाले नेतृत्व?

दैलेख, सिन्धुपाल्चोक, चितवन र पर्सामा विवाद के हो?
११ दिनमा पनि यी ४ जिल्लामा किन चयन हुन सकेन एमाले नेतृत्व?

सागर न्यौपाने
माघ ४, २०७८ मंगलबार २२:१७, काठमाडौँ

जिल्ला अधिवेशन उद्घाटन गरेको ११ दिन बित्दा पनि नेकपा एमालेले चार जिल्लाको नेतृत्व टुंगो लगाउन सकेको छैन।

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेखमा नयाँ नेतृत्व चयन प्रक्रिया नै स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।

गत पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल विधिबाट ६३ जिल्लाको अधिवेशन एकसाथ उद्घाटन गरेका थिए।

तीमध्ये अधिकांशमा सहमति र केहीमा निर्वाचनमार्फत नयाँ नेतृत्व आइसकेको छ। 

तर बाँकी चार जिल्लामा भने विवाद भएपछि नेतृत्व चयन प्रक्रिया रोकिएको थियो। तर केही दिनयता बढ्दै गएको कोरोनाका

अधिवेशनका सबै प्रक्रिया नै रोकिएको केन्द्रीय कार्यलयका मुख्य सचिव भीष्म अधिकारीले बताए। 

उनका अनुसार दैलेखमा मतदाताभन्दा ३१ मत बढी धेरै खसेको भेटिएपछि मतगणना प्रक्रिया स्थगित गरिएको छ।

सिन्धुपाल्चोकमा सबै पार्टी सदस्यहरुलाई मतदानमा भाग लिनुपर्ने माग उठेपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

पर्सामा नेताहरुबीच तीव्र विवाद छ। यस्तै चितवनमा पनि पदाधिकारी चयनमा समझदारी जुट्न सकेको छैन।​

दैलेखको विवाद?
पुस २३ गते उद्घाटन भएको दैलेख जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि पुस २८ गते मतदान भएको थियो। त्यसबेला ७ सय १७ मत खसेको थियो।

तर, मतदान सकिएर गणना सुरु गर्दा खसेको भन्दा ३१ मत बढी भेटियो।

अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाही तथा सचिवमा रुद्र शाही र तिलक प्रसाद रिजालको उम्मेदवारी परेको थियो।

उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भइसकेका छन्।

खसेको भन्दा बढी भेटिएपछि मतदानमा धाँधली गरेर फर्जी मत खसाइएको भन्दै उम्मेदवारहरूले विरोध गरे। त्यसले विवाद बढेर मतगणना प्रक्रिया रोकियो। 

रोकिएको मतगणना फेरि सुुरु भएको छैन। त्यहाँ फेरि मतदान पनि भएको छैन।

एमाले कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले केन्द्रीय निर्वाचन आयोगबाट कुनै जवाफ नआएकोले प्रक्रिया अघि बढाउन नसकिएको बताए।

‘जिल्लाको मतदानमा भएका त्रुटीबारे जिल्ला निर्वाचन समितिले केन्द्रीय निर्वाचन आयोगलाई जानकारी पठाइसकेको छ। तर, केन्द्रीय निर्वाचन आयोगले निर्णय नगर्दा प्रक्रिया अघि बढेन,’ कँडेलले नेपालखबरसँग भने, ‘आयोगले निर्वाचन बदर गरेर फेरि निर्वाचनमा जान भनेपनि तयार छौँ, माथिबाटै केही निर्णय नआउँदा हाम्रो काम रोकियो।’

जिल्लाको निर्वाचनमा आवश्यकताभन्दा कसरी बढी मत खस्यो भन्ने छानविन गर्न समिति बनाइएको छैन।

केन्द्रीय कार्यालयका मुख्यसचिव अधिकारीले भने, ‘प्रदेश इन्चार्ज, जिल्ला इन्चार्जहरुले परिस्थिति हेरेर निर्णय गर्नुहुन्छ। माथि (केन्द्रमा) रिर्पोटिङ गर्ने भएकोले कुनै समिति बनेको छैन।’

दैलेखमा भएको निर्वाचन गडबडले अन्य जिल्ला पनि तर्सिएको एक नेताले बताए।

‘केही जिल्लामा पुस २९, माघ २ गते मतदान गर्ने कार्यक्रम थियो, दैलेखको फर्जी मतपत्रबारे समाचार आएपछि अन्य जिल्लाको नेतृत्व टुंगो लगाउने प्रक्रिया रोकियो,’ ती नेताले भने।

सिन्धुपाल्चोक विवाद
सिन्धुपाल्चोकमा एमालेका १५ हजार सक्रिय सदस्य छन्। ती सबैलाई मतदान गर्न दिएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग उठेपछि नेतृत्व चयन रोकिएको छ।

‘सिन्धुपाल्चोकमा प्रतिनिधि छानिएन, १५ हजार पार्टी सदस्य सबैलाई मत हाल्न दिएर नेतृत्व चयन गर्नुपर्ने माग आयो,’ एक नेताले भने, ‘त्यसो गर्न गाउँ गाउँ ढ्वाङ थाप्न जानुपर्थ्यो तर, कोरोना बढ्न थालेपछि त्यो प्रक्रिया रोकियो।’ 

सिन्धुपाल्चोकको नेतृत्वका लागि गाउँपालिका महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, लिसंखु—पाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षत्री​ र बालकृष्ण देउजा जुटेका छन्। यीमध्ये श्रेष्ठ र देउजा ओली पक्षका नेता हुन्।

नेतृत्व चयनका लागि माघ २ गते निर्वाचन तोकिएको थियो।

तर, अध्यक्षको दौडमा रहेका ३ जनालाई कोरोना देखिएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।

सिन्धुपाल्चोकमा सुभाष कर्माचार्यले एमाले छोडेपछि झन् समस्या देखिएको छ। २०५६ सालका सांसद कर्माचार्य जिल्लाका चर्चित नेता हुन्। 

तर, उनले बीचमै एमाले छोडेको घोषणा गरेपछि समस्या देखिएको बागमती प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले बताए।

अधिकारीका अनुसार सिन्धुपाल्चोकमा परिस्थिति साम्य भएपछि नेतृत्व चयन प्रक्रिया थालिनेछ।

चितवन अध्यक्षमा सहमति, पदाधिकारीमा विवाद

एमालेले दसौँ राष्ट्रिय महाधिवेशन गरेको चितवनमा पनि नेतृत्व चयन रोकिएको छ।

२६ गते निर्वाचन तयारी गरिए पनि अध्यक्षमण्डलकै नेताहरु कोरोना संक्रमित भएपछि प्रक्रिया रोकिएको बागमती प्रदेश इन्चार्ज अधिकारीले बताए। 

उनका अनुसार जिल्लामा प्रत्येक क्लष्टरबाट ल्याउने संख्याबारे सहमति जुटिसकेको छ।

अध्यक्षमा राम न्यौपाने हुने लगभग निश्चित जस्तै भए पनि पदाधिकारीमा विवाद छ।

एकताको सन्देश दिन रामबहादुर थापा ‘बादल’निकट नेता प्रकाश खनाललाई पदाधिकारी बनाउने समझदारी जुटिसके पनि उपाध्यक्ष, र सचिवमा आकांक्षी धेरै हुँदा विवाद मिलाउने प्रयास भइरहेको छ। तर त्यही बेला धेरै नेताहरुलाई कोरोना भएपछि सबै प्रक्रिया स्थगित गरिएको छ।

‘चितवन अध्यक्षमा लगभग समझदारी बनिसकेको छ, पदाधिकारीबारे अलिक विवाद छ,’ अधिकारीले नेपालखबरसँग भने।

 पर्सामा पनि

पर्सा जिल्लामा भने आन्तरिक विवादले अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन रोकिएको छ।

‘तराईमा समस्या सुरु हुन र समाधान हुन समय लाग्दैन, सानो सानो कुराले पनि विवाद भइरहन्छ, अहिले पनि विभिन्न कुरामा विवाद भएपछि नेतृत्व चयन प्रक्रिया रोकिएको छ,’ एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

बाँकी जिल्लामध्ये हुम्लामा माघ २३ गते अधिवेशन मिति तोकिएको छ। 

मुस्ताङ, मनाङ र बझाङमा चिसोका कारण अधिवेशनमा  अन्योल छ। 

एमाले प्रचार विभाग उपप्रमुख रिजालले धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशन मिति कोभिङ–१९ महामारीलाई ध्यानमा राखी तय गरिने बताए।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशन पनि अब सरेका छन्। 

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीमध्ये मधेस प्रदेशबाहेक छ वटै प्रदेश कमिटीका अधिवेशन पनि भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .