मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आईतबार (भोली) विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए।
उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे।
मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दाबी समेत गरे।
उनका अनुसार भोलीनै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औंषधिउपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायसी सामानहरु रहेका छन।
परराष्ट्रमन्त्री खड्काले भने, ‘यो एउटा नेपालको अन्तराष्ट्रिय सम्बन्धको दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण मिसन हो। हामीले अफगानिस्तानका लाखौंलाख जनताहरु जो, भोकमरी, त्यस्तै गरेर खाद्यन्नको अभाव, लत्ताकपडा र धेरै ठूलो औषधिउपचारको संकटमा हुनुहुन्छ । उहाँहरुको चीतकार दिनैपिच्छे हामीहरुले अन्तराष्ट्रिय मिडियामा हेर्ने गरिराखेका छौं । यस सन्दर्भमा हामी यो दक्षिण एशीयाली परिवारको एउटा सदस्यको नाताले र अफगानिस्तान पनि त्यहीँ फ्यामिलीको एउटा सदस्य भएको नाताले हामीले हाम्रो एउटा नैतिक जिम्मेवारी पनि ठानेर हामीले एउटा मानवीय सहयोग जुटाउने प्रयास गरिराखेका छौं।'
मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पारे।
उनले नेपालले विपद् आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताए।
मन्त्री खड्काले भने, ‘हामीलाई यो पनि देखाउनुपर्नेछ कि–हामीलाई यहाँ प्राकृतिक प्रकोप वा अन्य खालको ठूला दैवीप्रकोप पर्दाखेरी हामीले सहयोग त लिन्छौं नै। र, हाम्रो सधैंभरी बाहिरबाट अन्तराष्ट्रिय इमेज कस्तो भएको छ त भन्दाखेरी हरेक कुरामा हामी माग्ने, अर्काको भरपर्ने खालको इमेज बाहिर गयो। त्यो इमेजलाई हामीले सुधारेर अन्तराष्ट्रिय जगतमा नेपालले पनि गर्न सक्छ, नेपालको पनि त्यो क्षमता छ। र, संकट परेको बेला नेपालले पनि निकै ठूलो स्केलमै पनि सहयोग गर्न सक्छ भन्ने एउटा सन्देश पनि दिन्छ।'
नेपालले पठाउने सो सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नु परेको मन्त्री खड्काले बताए। उनले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदुतहरुको ठूलो सहयोग रहेको पनि स्मरण गरे।
उनले भने, ‘यो एउटा मानवीय सहयोगको मिसन हो। यो मिसनमा संयुक्त राष्ट्र संघ, यहाँका हाम्रा मिसनहरुको ठूलो सहयोग छ। सरकारलाई एक पैसाको दायित्व नपारीकन यो एउटा अभियान हो। देशको इमेज बिल्डर गर्न, हाम्रो क्षमता छ भन्ने कुरा सावित गर्न एउटा मिसन हो यो। संयुक्त राष्ट्र संघ, त्यसै गरेर बाटोमा पर्ने एयर स्पेस, हामीले ओभर फ्लाईट परमिसन भारतको पनि प्राप्त भएर मुख्य कुरा कावुलमा हाम्रो जहाज ल्याण्ड गर्दाखेरी सबै सुरक्षाको प्रबन्ध र सुरक्षित तरीकाले ह्याण्डओभर गर्ने र सुरक्षित तरिकाले हाम्रो जहाज स्वदेश फिर्ता गर्ने व्यवस्था गर्न धेरै मेहनत गर्नु पर्यो । त्यसका लागि संयुक्त राष्ट्र संघ, नेपालस्थित राजदुतहरुको ठूलो सहयोग छ।’
संयुक्त राष्ट्र संघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ। लाखौंको संख्यामा बालबालिकाहरु खानाको अभावमा मर्ने उसले चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ।
Shares

प्रतिक्रिया