ad ad

राजनीति


मन्त्री आले उपस्थित मझगाउँ विमानस्थल शिलान्यासको त्यो रोचक दृश्य

मन्त्री आले उपस्थित मझगाउँ विमानस्थल शिलान्यासको त्यो रोचक दृश्य

गोकुल जोशी
पुस २९, २०७८ बिहिबार ९:२९, महेन्द्रनगर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको शिलान्यास कार्यक्रममा बुधबार सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरू एउटै मञ्चमा देखिए। 

कोरोना महामारीको तेस्रो लहरको त्रासकैबीच सयौं जनाको उपस्थितीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरे। 

सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ। तर यसलाई बेवास्ता गर्दै नेता/कार्यकर्ता तथा स्थानीयलाई जम्मा गरेर शिलान्यास कार्यक्रम आयोजना  गरिएको हो। 

कार्यक्रममा अर्को रोचक दृश्य देखियो– सत्तारुढ नेपाली कांग्रेस तथा आपसमा पानी बारबारको स्थितिमा रहेका माओवादी केन्द्र–नेकपा एकीकृत समाजवादी र प्रतिपक्षी नेकपा एमालेका  नेताहरू एउटै मञ्चमा! 

कञ्चनपुरमा लामो समयपछि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेता एकै ‘स्टेज’मा उपस्थित भएका हुन्। तर उनीहरू आपसमा बोलेनन्।

‘लामो समयपछि प्रतिद्वन्द्वी नेताहरू एउटै ठाउँमा देखेँ। त्यसैले उहाँहरू आपसमा के गर्नु हुन्छ भनेर हेरिरहेको थिएँ’, कार्यक्रममा सहभागी भीमदत्त नगरपालिका–१६ का अशोक विष्टले नेपालखबरसँग भने, ‘बोलचाल नै गर्नुभएन, पर्यटन मन्त्रीज्यूसँग चाहिँ बोलिरहनुभएको थियो।’

पर्यटनमन्त्री आले प्रमुख अतिथि रहेको कार्यक्रममा एमालेका सांसद डा.दीपक प्रकाश भट्ट र नेपाली कांग्रेसका नेता पूर्वमन्त्री रमेश लेखक पनि थिए। 

मझगाउँ विमानस्थल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी एजेन्डा बन्ने गरेको छ। भट्ट र लेखक आपसमा प्रतिस्पर्धी हुन्। निर्वाचन क्षेत्र ३ बाट वाम गठबन्धनका उम्मेदवार बनेका भट्टले कांग्रेस नेता लेखकलाई हराएका थिए। 

शिलान्यास कार्यक्रममा एउटै मञ्चमा देखिए पनि भट्ट र लेखक आपसमा नबोलेका हुन्। 

यस्तै एकीकृत समाजवादीका नेता तथा स्थायी समिति सदस्य उर्वादत्त पन्त, तारालामा तामाङ, लालबहादुर खड्का तथा एमाले नेता सुरेन्द्र विष्ट, निरुदेवी पाल, दीपक प्रकाश भट्टले पनि एकअर्कासँग कुरा गरेनन्। 

केन्द्रीय पर्यटनमन्त्री आलेसहित प्रदेश सरकार मन्त्रीको जम्बो टोलीको सहभागितामा मझगाउँ विमानस्थल शिलान्यास गरिएको हो। 

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी, आर्थिक मामिला तथा योजनामन्त्री तारालामा तामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारलगायत पनि सहभागी थिए। 

कार्यक्रममा आले ‘आक्रामक’
आफ्नो अभिव्यक्तिले चर्चामा आइरहने पर्यटनमन्त्री आले कार्यक्रममा आक्रामक शैलीमा प्रस्तुत भए। कार्यक्रम सुरु हुनुभन्दा पहिले मन्त्री आलेले उद्घोषकलाई ‘प्रोटोकलमा ध्यान दिनू’ भनेर निर्देशन दिए।

कार्यक्रम सञ्चालन समूहको अपूर्ण तयारी कार्यक्रममा स्पष्ट देखियो। सञ्चालकले कार्यक्रम सञ्चालन गर्दैगर्दा मन्त्री, सांसदको आसन ग्रहणमा मर्यादा क्रममा गल्ती गरिरहेका थिए। त्यो बेला मन्त्री आले ‘के गरेको’ भन्दै जंगिरहेका थिए। 

मन्त्री, सांसद तथा नेताहरूलाई मन्तव्यका लागि बोलाउँदा पनि क्रम नमिलेको भन्दै आले सञ्चालकप्रति रुष्ट भएका थिए। र, सञ्चालकलाई सिकाइरहेका थिए।

मन्त्री आलेले कार्यक्रम लम्बिरहेकाले आफ्नो समय नभएको भन्दै वक्तालाई पनि धेरै बोल्न दिएनन्। मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेशबहादुर चन्दले ‘विमानस्थल पुनः सञ्चालनका लागि दबाब दिन कसरी एकजुट भयौं’लगायत कुराहरू भनिरहँदा मन्त्री आलेले ‘यो सब भन्दा सम्म समय लाग्छ’ भन्दै टुंग्याउन निर्देशन दिइरहेका थिए। 

प्रदेश पर्यटनमन्त्री रुष्ट
उद्घोषणका क्रममा मर्यादाक्रम नमिलेको भन्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी पनि रुष्ट भइरहेका थिए। 

सञ्चालकले विशिष्ट अतिथिको आसन ग्रहण गर्न मन्त्री धामीलाई आग्रह गरे। दर्शकदीर्घासँगै उभिएका धामी आसन ग्रहणका लागि मञ्चमा गएनन्। 

प्रमुख अतिथिको आसन ग्रहण गरेका मन्त्री आलेले ‘ह्या मन्त्रीज्यू यार आउँनु न’ भने पनि उनी मानेनन्। उनले मन्त्री आलेलाई जवाफ फर्काए, ‘म जनताको बीचमै ठीक छु।’

यो दृश्यले सबैको ध्यान खिच्यो, त्यसको केही समयपछि मात्रै मन्त्री धामी मञ्चमा उक्ले। त्यहाँ गएर उनले मञ्चमा रहेका नेताहरूसँग यही विषयमा धेरै बेर कुरा गरे। 

उनी भनिरहेका थिए, ‘सरकारी कार्यक्रममा केही सिस्टम त हुनुप¥यो नि! संघ सरकारका मन्त्री प्रमुख अतिथि भइसकेपछि विशिष्ट अतिथि किन राख्नुप¥यो?’

मन्त्री धामीभन्दा अगाडि विशिष्ट अतिथिमा सांसद निरु पाल, दीपकप्रकाश भट्ट र विना बुढाथोकीलाई आसन ग्रहण गराइएको थियो। 

लेखक र आले प्रशंसामै व्यस्त
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र पर्यटनमन्त्री आले दुवैले एकअर्काको खुलेर प्रशंसा गरे। लेखकले सम्बोधनका क्रममा मन्त्री आलेलाई ‘म्यान अफ एक्सन’ सम्म भन्न भ्याए।

‘जग्गा प्राप्ति र प्राविधिक कारणले लामो समयदेखि विमानस्थल पुनःसञ्चालनको काम रोकिएको थियो। अब उडान भर्नेमा हामी आशावादी छौं’, लेखकले भने, ‘मन्त्रीज्यू म्यान अफ एक्सन हो। देखिने गरी काम गर्नुहुन्छ।’

१५ सय मिटरको रनवेलाई १८ सय मिटरको बनाउनपर्नेमा पूर्वमन्त्री लेखकले जोड दिए।

लेखकको सम्बोधनपछि भाषण गरेका मन्त्री आलेले पनि उनको प्रशंसा गरे। 

‘विमानस्थलको कामका लागि पूर्वमन्त्री रमेश लेखकज्यूले भेटेरै भन्नुभयो, प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभयो’, आलेले भने, ‘त्यसैले विमानस्थलको काम सुरु गरेका छौं।’

लेखकले भनेको रनवे १८ सय मिटरलाई बढाएर मन्त्री आलेले २५ सय मिटर बनाउनुपर्नेमा जोड दिए।

सांसद डा. दीपक प्रकाश भट्टलगायत नेताहरूले पनि विमानस्थलबारे आफ्नो ध्यानाकर्षण गराएको आलेले उल्लेख गरे। आले र लेखक सत्तारुढ पाँचदलीय गठबन्धनका नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .