ad ad

राजनीति


यी चार प्रदेशमा एमाले नेताबीच टक्कर, ओली समूहमै फुट

यी चार प्रदेशमा एमाले नेताबीच टक्कर, ओली समूहमै फुट

सागर न्यौपाने
पुस २७, २०७८ मंगलबार १०:४०, काठमाडौँ

महाधिवेशन सकेको डेढ महिनापछि नेकपा एमालेले ६३ जिल्लाको अधिवेशनको उद्घाटन गर्यो। अध्यक्ष केपी शर्मा ओलीले पुस २३ गते एकैसाथ ६३ जिल्लामा भर्चुअल विधिबाट सम्मेलन उद्घाटन गरेको तीन दिन भइसक्दा पनि थुप्रै जिल्लामा सो पार्टीले नयाँ नेतृत्व चयन गर्न सकेको छैन। 

यसको एउटै कारण हो– अध्यक्ष ओली पक्षमै रहेका नेताहरु विभाजित हुनु।

निर्वाचन प्रक्रियामा जाने भनेर निर्णय गरिएका केही जिल्लामा समेत केन्द्रीय तहका नेताहरुको स्वार्थ बाझिएपछि नेतृत्व चयन गर्न सकस परेको छ।

केन्द्रीय तहका नेताहरुबीचको अघोषित प्रतिस्पर्धाले केही जिल्लामा अधिवेशन उद्घाटन भएर नेतृत्व चयन प्रक्रिया रोकिएको छ भने केही जिल्लामा चुनाव भएको छ। चुनाव भएका जिल्लामा पुराना नेताहरु बहिष्करणमा परेका छन्।

केन्द्रीय मात्र होइन, पदाधिकारीमै रहेका नेताहरुको स्वार्थका कारण १४ जिल्लाको अधिवेशन रोकिएको छ। प्रदेश २ मा सप्तरीबाहेक ७ वटै जिल्लामा अधिवेशन रोकिएको छ।

अधिवेशन नै रोकिनुपर्नाको कारण हो, केन्द्रीय नेताबीचको प्रतिस्पर्धा। सो प्रदेशमा स्थायी कमिटी सदस्य रघुवीर महासेठ र प्रभु साहबीच तीव्र प्रतिस्पर्धा छ।

महासेठ ओली निकट नेता हुन्। प्रदेश २ का इन्चार्ज समेत रहेका महासेठले एकलौटी जिल्ला कमिटीमा नियुक्त गरेको, प्रतिनिधि चयनमा मनोमानी गरेको भन्दै माओवादी छाडेर एमाले प्रवेश गरेका नेताहरु असन्तुष्ट बने।

माओवादी छाडेर एमालेमा बसेका प्रभु साहले २ नम्बर प्रदेशमा आफ्नो वर्चस्व बढाउँदै लगेका थिए। मंसिर १० देखि १४ सम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा धेरै मानिस उतारेर आफ्नो प्रभाव देखाएका साहलाई धक्का पुग्नेगरी महासेठले तयारी गरेपछि व्यापक असन्तुष्टि चुलियो। जसका कारण निर्धारित मितिमा अधिवेशन गर्ने अवस्था नै बनेन।

यतिसम्म कि अध्यक्ष ओलीले असन्तुष्ट पक्षलाई पुस १९ र २० गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा छलफल नै गरेका थिए। राति अबेरसम्म भएको छलफलपछि एउटा विधि बनाएर विवाद निरुपण गर्ने समझदारी बने पनि त्यो पालना भएको छैन।

सो प्रदेशमा यसअघि रामचन्द्र झा र महासेठबीच तीव्र प्रतिस्पर्धा थियो। झाले एमाले छोडेपछि केही समय महासेठले २ नम्बरमा हालीमुहाली गर्ने अवसर पाए। 

तर, २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो। महासेठको भूमिका खुम्चियो। उनले धनुषा क्षेत्र नम्बर ४ बाट २०७४ को संघीय संसदको निर्वाचन जितेका थिए। ओलीको क्याबिनेटमा महासेठले २०७४ फागुनदेखि २०७६ मंसिर ४ सम्म भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएर काम गरे। 

साहसहितका प्रभावशाली नेताहरुले जिल्ला तहको नेतृत्व चयनमा भूमिका खोजेपछि कुरा मिल्न सकेन। मधेशमा एमालेमा विवाद हुनु नौलो कुरा नभएको सो पार्टीका एक नेताले बताए।

‘विगतमा रामचन्द्र झा र रघुवीर महासेठबीचमा तीव्र विवाद हुन्थ्यो। धर्मनाथ साह, रामप्रित पासवानहरुको बीचमा पनि कुरा मिल्दैनथ्यो,’ ती नेताले नेपालखबरसँग भने, ‘अहिले ती नेता छैनन्। तर, फेरि रघुवीर महासेठ र प्रभु साहबीच विवाद भइरहेको छ।’

प्रदेश २ मा रहेका नेताहरुमध्ये महासेठ एमालेको केन्द्रीय पदाधिकारी हुन्। 

‘एकता प्रक्रियाबाट आएका, पुराना एमालेका सबैलाई मिलाएर लैजानुपर्ने छ तर, प्रदेश २ मै कुरा मिल्दैन,’ ती नेताले थपे, ‘अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलले पनि विवाद समाधानको पहल गर्नुभयो। अध्यक्षले त दुई पटक सबै पक्षलाई राखेर महासचिवसहित छलफल पनि गर्नुभयो।’

प्रदेश २ का रौतहट, पर्सा लगायतका केही जिल्लामा माघ १ र २ गते सम्मेलन राखिएको छ।

गण्डकीमा प्रदेशमा समेत केन्द्रीय नेताहरुको प्रतिस्पर्धाले नेतृत्व चयनमा ढिलाइ भयो। गण्डकीबाट एमालेको उच्च तहमा पुगेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको तीव्र प्रतिस्पर्धा छ।  

नेपालखबरकर्मी वाशुदेव मिश्रले पोखराबाट पठाएको रिपोर्टअनुसार गुरुङ र अधिकारीबीचको टक्कर जिल्ला र नगर तहसम्म पुगेको छ। कास्की जिल्ला अधिवेशनमा पनि दुवै नेताले आफू अनुकूलका व्यक्तिलाई अध्यक्ष बनाउन खोज्दा रोकिएको छ।

यतिसम्म कि प्रतिनिधि छनोट गर्दा गुरुङ र अधिकारी वडासम्म पुगेका थिए। उनीहरुबीच प्रतिनिधि खोसाखोस समेत भएको थियो। गुरुङले कास्कीमा आफ्नो पकड बलियो बनाउन स्थानीय चुनावमा मानबहादुर जीसीलाई मेयरको उम्मेदवारको टिकट दिएर जिताएको चर्चा पनि छ। 

दुई नेताको विवाद बढ्ने देखेरै अध्यक्ष ओलीले सचिव पद्मा अर्याललाई सो क्षेत्रमा खटाएका छन्। 

गुरुङ मुख्यमन्त्री भइसकेका छन्, प्राय सबै जिल्लामा पुगेका छन् र नेताहरुबीच राम्रै सम्बन्ध स्थापित गरिसकेका छन्। अधिकारी पनि अब विस्तारै प्रदेशभर प्रभाव विस्तारमा लागेको नेताहरु बताउँछन्।

एमालेको लुम्बिनी प्रदेशमा पनि ‘हेभीवेट’ नेताहरुबीच निकै रसाकस्सी छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच नदेखिनेगरी वडासम्मै प्रभाव विस्तारको होडबाजी छ। 

लुम्बिनीमा १२ जिल्ला छन्। रोल्पा र रुकुम पूर्वमा अधिवेशन गर्न बाँकी रहँदा लुम्बिनीका कपिलवस्तु, नवलपरासी र प्युठानमा चुनावबाटै जिल्ला नेतृत्व चयन गरिएको छ। 

महासचिव पोखरेलको प्रभाव रहेका बाँके, बर्दिया, दाङ हुन्। रुपन्देही, अर्घाखाँची, रोल्पा, रुकुम पूर्व र कपिलवस्तुमा पौडेलको सबैभन्दा राम्रो प्रभाव छ। 

मुख्यमन्त्री भएका बेला बुटवलबाट दाङको भालुवाङ राजधानी सार्ने निर्णयले पोखरेलसँग रुपन्देहीका पार्टीकै नेताहरु पनि असन्तुष्ट छन्। जिल्ला अधिवेशनमा पोखरेलले आफ्नो प्रभाव क्षेत्र बाँके पनि गुमाएका छन्। लुम्बिनीमा दस बुँदे सहमतिपछि एमालेमै रहेका नेताहरु पेलानमा परेको भन्दै असन्तुष्ट छन्।

दाङका पूर्वअध्यक्षले नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै निवर्तमान अध्यक्ष टीकाराम खड्काले पार्टीबाट अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन्।

यस्तै अर्घाखाँची र पाल्पामा पनि नेताहरुले सर्वसम्मत चयनको नाममा नेता विशेषका मान्छेलाई भर्तीकेन्द्र बनाएको भन्दै निर्णय नसच्याए सामूहिक राजीनामा दिने घोषणा गरेका छन्। पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगरले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। 

लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने तल्लो तहमा रहेका असन्तुष्टिहरुलाई ल्याएर नेतासँग जोड्न नहुने बताए।

‘तलका अन्तरकुन्तरका असन्तुष्टि ल्याएर माथिका नेतालाई जोड्नु भएन,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘हामीले लुम्बिनीमा अधिवेशन गरेका १० जिल्लामा कहीँ पनि जबर्जस्ती गरेनौँ, सहमति भएका ठाउँमा सर्वसम्मत, नभएका ठाउँमा चुनाव गरेर नेतृत्व चयन गर्यौं।’

सुदूरपश्चिम प्रदेशमा इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा र नेता भीम रावलबीच त्रिपक्षीय प्रतिस्पर्धा सतहमै देखियो।

अछाम जिल्लामा प्रभावशाली रहेका रावलले कैलालीमा समेत प्रभाव विस्तार गरिसकेका छन्।  

सर्वसम्मत नेतृत्व चयन गर्दा ओली समूहमा नै विभाजन देखा पर्यो। र, त्यो विभाजन ल्याउने काम रावलले गरेका हुन्। वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरे। जबकि चुनावमा प्यानल नबनाउने समझदारी थियो।

अध्यक्षका उम्मेदवार चन्दलाई रावल र कैलाली इन्चार्ज नारदमुनि रानाले समर्थन गरे। रावलको समर्थन रहेको प्यानलविरुद्ध सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल लड्यो।

कैलालीमा मिले पनि अन्य जिल्लामा भने थापा र भट्टको पनि प्रतिस्पर्धा चल्यो। आफूले इन्चार्ज पाउनुपर्ने माग गर्दै आएका थापाले भट्टसँग गहिरो प्रतिस्पर्धा गरिरहेको नेताहरु बताउँछन्।

‘लेखराज भट्ट र कर्ण थापाजीको प्रतिस्पर्धा सतहमै देखिनेगरी छ,’ सो प्रदेशका एक नेताले नेपालखबरसँग भने, ‘जिल्ला अधिवेशनमा छर्लङ्ग देखिएको छ, अब प्रदेश अधिवेशनमा झन् बढी देखिनेछ।’

प्रदेश १, बागमती र कर्णाली प्रदेशमा भने नेताहरुबीचको विवाद सतहमा देखिएको छैन। प्रदेश १ मा देवराज घिमिरेलाई इन्चार्ज बनाइएको छ। यसअघि त्यहाँका इन्चार्ज रहेका भीम आचार्यले दसौँ महाधिवेशनमा सचिव पदमा पराजित भए। 

कर्णाली प्रदेशमा यामलाल कँडेल इन्चार्ज छन्। उनीभन्दा कुनै वरिष्ठ नेता सो प्रदेशमा अहिलेसम्म छैनन्। 

बागमती प्रदेशमा काशीनाथ अधिकारी इन्चार्ज छन्। चितवन निवासी अधिकारी लामो समयदेखि एमालेमै सक्रिय रहेका नेता हुन्।

प्रदेश १ र बागमतीमा दस बुँदे सहमतिबाट एमालेमै बसेका आचार्य र अष्टलक्ष्मी शाक्यले केही समय मुख्यमन्त्री भएर काम गरिसकेका छन्। 

‘असन्तुष्ट हुने नेताहरुले एकपटक अवसर पाएपछि फेरि जिम्मेवारी देऊ भन्ने आधार बाँकी हुँदैन,’ एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने, ‘अध्यक्ष ओली पक्षका कोही असन्तुष्ट भएकैले पनि जिम्मेवारी पाएका छन्, माओवादीबाट आएकाहरुलाई पनि सम्मानजनक भूमिका दिइएकै छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .