राजनीति


कम नम्बर ल्याएकालाई डिस्टिङ्सन दिने अधिकार देउवालाई छैन : चन्द्र भण्डारी

कम नम्बर ल्याएकालाई डिस्टिङ्सन दिने अधिकार देउवालाई छैन : चन्द्र भण्डारी

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७८ बुधबार १८:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाले पार्टीको विधि र विधानविपरीत गर्ने कुनै पनि कुराबारे आफूहरुले आँखा चिम्लेर बस्न नसक्ने बताएका छन्। 

डा. शेखर कोइराला समूहको होटल बसेरामा बिहीबार भएको भेलामा सहभागी उनले महाधिवेशनको निर्वाचन सहभागी भएर पराजित भए पनि हार नमानेको पनि उल्लेख गरे।

'यसलाई तपाईंहरुले गुटको भेला नभनिदिनुस्। हामीले अहिलेसम्म महाधिवेशनको समीक्षा गरेका थिएनौँ', उनले भने, 'महाधिवेशनमा सभापति शेरबहादुर देउवाले अत्यधिक मत प्राप्त गर्नु भएको छ। त्यसैले उहाँलाई नै प्रश्न बनाउने, कपी काट्ने र नम्बर दिने पनि अधिकार छ। तर उहाँले कसैलाई नियुक्ति गर्दा मनोमानी गर्न पाउनुहुन्न।'

चौधौँ महाधिवेशनमा कोइराला समूहबाट उपसभापतिमा पराजित उनले पार्टीलाई गुट उपगुटको नभएर सिंगो कांग्रेसको भनेर देउवाले लानुपर्नेमा जोड दिए। 

'हाम्रो सहयोग उहाँले लिनुपर्छ। देश संविधानले चल्छ भने पार्टी विधि विधानले चल्ने हो। त्यो कुरा मिच्ने अधिकार उहाँलाई छैन', उनले भने, 'देउवा हाम्रो सम्पत्ति हो। त्यो सम्पत्तिको सम्मान र इज्जत विधि र विधानमा चलेर मात्रै हुन्छ।'

उनले आगामी चुनावमा कांग्रेसलाई एक बनाउन देउवाले विवेक लगाउनुपर्नेमा पनि जोड दिए। 

'अब चुनाव हुँदैछ। त्यसैले कांग्रेसलाई एक बनाउनेतर्फ सभापतिले सोच्नुपर्छ। पार्टीमा मनोनीत गर्ने अधिकार सभापतिको हो', उनले भने, 'सत्तामा विवेक गुम्यो भने, ज्ञानमा विवेकले ठाउँ पाएन भने मनपरी हुन्छ, संगठनलाई आघात गर्छ।'

उनले देउवालाई कपी काट्ने नाममा मनपरी नगर्न पनि आग्रह गरे। 'कम नम्बर ल्याएकालाई डिस्टिङ्सन दिन पाइँदैन। फेल भएकालाई पास गर्न पाइँदैन', उनले भने, 'पास भएकालाई पनि फेल गर्न पाइँदैन। हामी देउवालाई गाली गर्दैनौँ तर आत्मसमर्पण पनि गर्दैनौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .