ad ad

राजनीति


कैलाली कांग्रेस : संस्थापनबाटै सभापतिमा ६ जना दाबेदार

आरजुको निर्वाचन क्षेत्र भएकाले विशेष चासो
कैलाली कांग्रेस : संस्थापनबाटै सभापतिमा ६ जना दाबेदार

फाइल तस्बिर


गोकुल जोशी
पुस १९, २०७८ सोमबार १४:२३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा कांग्रेसलाई अधिवेशन सरगर्मी चढेको छ। 

जिल्ला अधिवेशन नजिकिएसँगै नेताहरु आफ्नो पक्षमा माहोल बनाउन जुटेका छन्। उनीहरुले अहिले कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्। 

अधिवेशन नभएका १६ जिल्लामा पुस २७ गते गर्ने केन्द्रीय कार्यालयले मिति तय गरेको छ। प्रदेश अधिवेशनका कारण यसअघि अधिवेशन हुन सकेको थिएन। 

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवाको निर्वाचन क्षेत्र पर्ने कैलालीको अधिवेशनलाई चासोसाथ हेरिएको छ।

कांग्रेस कैलालीको सभापतिमा संस्थापन (देउवा) पक्षबाटै ६ जना आकांक्षी देखिएका छन्। कार्यबाहक सभापति प्रकाश बहादुर बमले सभापतिमा दाबी गरेका छन्।

नेता नरनारायण शाह कांग्रेस सुदूरपश्चिमको महामन्त्री भएपछि उपसभापति बमलाई कैलाली कांग्रेसको कार्यबाहक सभापति बनाइएको छ।

यस्तै भीम बडुवालले पनि सभापतिमा आकांक्षा देखाएका छन्। उनी पनि संस्थापन पक्षकै मानिन्छन्। यसअघिको अधिवेशनमा सभापतिमा नरनारायण शाहसँग पराजित बडुवाल फेरि एक पटक सभापतिको दौडमा होमिएका छन्।

नेता गणेश देउवाले पनि सभापतिमा दाबी गरेका छन्। उनी यसअघिको अधिवेशनमा सभापतिका लागि नरनारायण शाहसँग चुनाव लडेका थिए। 

सभापतिमा बडुवाल र देउवाले समान मत प्राप्त गरेका थिए। त्यसपछि देउवा ‘ब्याक’ भएर बडुवाललाई समर्थन गरेका थिए। यद्यपी, बडुवालले शाहलाई सभापतिमा रोक्न सकेका थिएनन्। 

नेपाली कांग्रेस कैलालीको सभापतिमा पूर्व उपसभापति नारायण भट्टले पनि दाबी गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का सभापति खेमराज चौधरी र नेता नवराज रावलले पनि सभापतिमा आकांक्षा देखाएका छन्।

उता इतर समूहबाट सभापतिका उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन। उनीहरु सभापतिको उम्मेदवार टुङ्ग्याउन छलफलमै व्यस्त छन्। कैलालीमा संस्थापनकै नेताबीच नेतृत्वको लागि प्रतिस्पर्धा हुने देखिन्छ। 

अधिवेशनको मिति नजिकिएसँगै तयारी तीव्र पारिएको नेपाली कांग्रेस कैलालीका प्रचार प्रसार विभाग संयोजक नृप सुनारले जानकारी दिए। 

‘तल्लो तहका सबै अधिवेशन सम्पन्न भएका छन्, हामी जिल्ला अधिवेशनको तयारीमा जुटेका छौँ,’ उनले भने, ‘आकांक्षीहरूले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्।’

आकांक्षी बढी हुँदा नेतृत्व चयन चुनावी प्रक्रियामा जान सक्ने उनको दाबी छ। ‘आकांक्षीहरु धेरै देखिनु भएको छ। सुरुमा सर्वसम्मतिको पहल हुने छ,’ उनले भने, ‘त्यसो भएन भने चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिन्छ। चुनावी हुने सम्भावना बढी छ।’

सभापति जस्तै अन्य पदाधिकारीमा आकांक्षी बढी नै देखिएका छन्। उपसभापतिमा अहिलेसम्म धर्मराज न्यौपाने, लोकराज पाण्डे र प्रकाश देउवाले आकांक्षा देखाएका छन्।

यस्तै सचिवमा नृप सुनार, केशव मिश्र, अमृत बिसी र कृष्ण पाण्डेयको दाबी छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा २ हजार ५ सय ७२ मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .