प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको जिकिर गरेका छन्।
नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आइतवार प्रज्ञा भवनमा शुभकामना मन्तव्य राख्दै देउवाले एमसीसीबारे राम्रो अध्ययन गर्न पनि सुझाव दिएका छन्।
‘एउटा कुरा बोल्नै पर्ने भो । म अरु कुराको लागि आएको थिएँ। तर यहाँ वक्ताहरूले एमसीसी राष्ट्रघाती भनिदिए। राष्ट्रघाती भन्नेले पढेका छन् कि छैनन्, त्यो पनि थाहा छैन मलाई’, मन्तव्यको अन्तिममा देउवाले भने, ‘पहिला पढ्नु पर्यो एमसीसी कहाँ छ राष्ट्रघाती? मैले पनि हेरेँ, कहीँ राष्ट्रघाती देखेको छैन।’
उनले आफूले राष्ट्रघाती काम नगर्ने पनि बताएका छन्। ‘म पनि नेपालको प्रधानमन्त्री हुँ। नेपालको राष्ट्रको खिलाफमा जाउँला र मैले?', देउवाले प्रश्न गरे, 'म पनि पञ्चायतकालदेखि राष्ट्रका लागि लडेको मान्छे हुँ। राष्ट्रघाती काम गरौँला मैले? राष्ट्रघाती सन्धि किन गरौंला? यससम्बन्धमा तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस्।’
एमसीसी राष्ट्रको हितमा रहेको बताउँदै उनले पास गराउने विषयमा माओवादीसहितका दलहरुबीच छलफल भइरहेको स्पष्टीकरण दिए।
‘एमसीसी नेपालको हितमा छ। सित्तै आएको पैसा हो यो हेर्नुस्। सित्तै आएको पैसा चाहिँदैन भन्छन्’, देउवाले भने, ‘विश्व बैंक र एडीबीबाट पनि हामी ऋण लिन्छौँ। त्यसमा अन्तर्राष्ट्रिय कानुन लागु हुन्छ। एमसीसीले नेपालको कानुन मान्छु भनेको छ। त्यति भन्दा भन्दै पनि पनि स्वीकार्दिनौँ भन्छन्। राम्रोसँग बुझ्नु पर्यो क्या!’
एमसीसीबारेमा ब्यापक छलफल गरेर संसदबाट पास गराउने पनि देउवाले बताए। देउवाले बोल्नुअघि जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल र क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसी राष्ट्रघाती भएकाले कुनै हालतमा पास गर्न नहुने कुरा राखेका थिए।

Shares

प्रतिक्रिया