ad ad

राजनीति


माओवादीमा विवाद : सम्मेलनबाट अध्यक्ष र महासचिव मात्रै छनोट गर्ने कि सबै पदाधिकारी?

माओवादीमा विवाद : सम्मेलनबाट अध्यक्ष र महासचिव मात्रै छनोट गर्ने कि सबै पदाधिकारी?

सीताराम बराल
पुस ९, २०७८ शुक्रबार २१:२३, काठमाडौँ

दसौँ महाधिवेशन (१०–१४ मंसिर) बाट एमालेको अध्यक्षमा केपी शर्मा ओली दोहोरिन्छन् भन्ने महाधिवेशनपूर्व नै पक्कापक्की थियो। 

यसैगरी जिल्ला–जिल्लाबाट छनोट भएर आएका महाधिवेशन प्रतिनिधिहरुको पक्षधरताका आधारमा १४ औँ महाधिवेशन (२४–२७ मंसिर) बाट नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा नै दोहोरिन्छन् भन्ने धेरैको अनुमान थियो। निर्वाचन परिणामले यो अनुमानलाई सत्य साबित पनि गरिदियो।

यति हुँदाहुँदै पनि एमाले र कांग्रेसको महाधिवेशनले धेरै नेपालीको ध्यान खिच्न किन सफल भयो भने दुवै पार्टीमा पदाधिकारी चयनका लागि निकै ठूलो रस्साकस्सी थियो। उपाध्यक्ष–उपसभापति, महासचिव–महामन्त्री, उपमहासचिव–सहमहामन्त्रीका लागि भएको रस्साकस्सी र यी पदमा कसले बाजी मार्ला भन्ने चर्चा–अनुमानका कारण दुवै पार्टीका महाधिवेशन चर्चाको शिखरमा रहे। 

एमालेमा ओली र कांग्रेसमा देउवा दोहोरिएझैँ आइतबार (११ पुस) देखि सुरु हुने माओवादीको पहिलो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड अझ सहज रुपमा दोहोरिने पक्काजस्तै छ। अध्यक्षबाहेकका पदाधिकारीमा कसले बाजी मार्ला भन्ने विषयले माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पनि चर्चाको शिखरमा छ। 

माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटीमा बैठकमा पदाधिकारी संख्या ५ बाट बढाएर १५ पुर्‍याउने प्रस्ताव आएको छ। अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ। 

शुक्रबारको बैठकमा दश जना पदाधिकारी थपेर १५ जना बनाउन प्रस्ताव गरिएको हो। स्थायी कमिटीमा एक अध्यक्ष, वरिष्ठसहित सातजना उपाध्यक्ष, एकजना महासचिव, दुईजना उपमहासचिव, तीनजना सचिव र एकजना कोषाध्यक्ष बनाउने प्रस्ताव आएको हो। तर यसबारे निर्णय भइसकेको छैन।

एमाले र कांग्रेसमा जस्तै प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी को–को होलान् भन्ने चासो सर्वत्र छ। तर, यो राष्ट्रिय सम्मेलनले सबै पदाधिकारी चयन गर्छ–गर्दैन, यकिन छैन।

माओवादी नेताहरुका भनाइमा राष्ट्रिय सम्मेलनमा केन्द्रीय समिति लगायत पदाधिकारी चयन गर्ने–नगर्ने सम्बन्धमा दुई खालका मत छन्। एकथरी नेताहरु राष्ट्रिय सम्मेलनबाट नै सबै पदाधिकारी र केन्द्रीय समितिको चयन गर्नुपर्ने पक्षमा छन् भने अर्काथरी यस पटक अध्यक्ष र महासचिवको चयन मात्र गरेर केन्द्रीय समिति यथावत राख्नुपर्ने पक्षमा देखिएका छन्।   

जानकारहरुका भनाइमा पार्टीका शीर्ष नेताहरु राष्ट्रिय सम्मेलनबाट अध्यक्ष र महासचिव मात्र चयन गर्ने र एमालेसँगको एकतापूर्व रहेको केन्द्रीय कमिटीको रिक्त संख्यामा पदपूर्ति गरेर जानुपर्ने पक्षमा छन् भने नयाँ पुस्ताका नेताहरु यही राष्ट्रिय सम्मेलनबाट पदाधिकारीलगायत केन्द्रीय समिति चयनको पक्षमा छन्। 

‘स्थानीय तहदेखि प्रदेशस्तरसम्मै नयाँ नेतृत्व छनोट भएर आएको छ, त्यसैले राष्ट्रिय सम्मेलनले पनि नयाँ नेतृत्व छनोट गर्छ,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज भण्डारी भन्छन्, ‘पार्टीको अन्तरिम विधानले नै केन्द्रीय समिति र पदाधिकारीको व्यवस्था गरिसकेको स्थितिमा राष्ट्रिय सम्मेलनबाट नेतृत्वको पुरै सेट चयन नहुने भन्ने हुँदैन।’ 

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ पनि राष्ट्रिय सम्मेलनबाटै पदाधिकारी लगायत २ सय ९९ केन्द्रीय समिति चयन हुने बताउँछन्। 

‘निर्वाचन र प्रतिस्पर्धा नै हुन्छ कि हुँदैन, त्यो छुट्टै कुरा हो,’ श्रेष्ठ भन्छन्, ‘तर, नेतृत्व चाहिँ यसै पटक राष्ट्रिय सम्मेलनबाट नै चयन हुन्छ।’

साउनमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको अन्तरिम विधानले भने राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन गर्ने स्पष्ट व्यवस्था गरेको छैन। यस्तो अधिकार अन्तरिम विधानले राष्ट्रिय महाधिवेशनलाई मात्र प्रदान गरेको छ। 

विधानको धारा ५९ मा ‘राष्ट्रिय महाधिवेशन अगावै पार्टीको नीति, कार्यक्रम, संगठन, पार्टी एकता वा विभाजन वा कुनै विशेष परिस्थिति उत्पन्न भएमा केन्द्रीय समितिले राष्ट्रिय सम्मेलनको आयोजना गर्न सक्ने’ उल्लेख छ। 

तर, राष्ट्रिय सम्मेलनले गरेको निर्णयको अनुमोदन त्यसपछि आयोजना हुने राष्ट्रिय महाधिवेशनबाट हुनुपर्ने व्यवस्था पनि विधानले गरेको छ। तत्काल नेतृत्व चयनको पक्षमा रहेका नेताहरुका भनाइमा विधानले राष्ट्रिय सम्मेलनले ‘संगठन’सम्बन्धी विषयमा पनि निर्णय गर्नसक्ने भएकाले यसै पटक नेतृत्व छनोट गर्न सकिन्छ। 

विधानको धारा १५ ले भने राष्ट्रिय महाधिवेशनबाट नेतृत्व छनोट गर्न सकिने स्पष्ट व्यवस्था गरेको छ। विधानको धारा १५ (८) मा भनिएको छ, ‘केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधान बमोजिम हुनेछ।’ 

तर, ‘राष्ट्रिय सम्मेलन’ निर्णय ‘राष्ट्रिय महाधिवेशन’ बाट अनुमोदन गर्नुपर्ने भएकाले आगामी राष्ट्रिय सम्मेलनले नेतृत्वका सबै पदहरु छनोट गर्यो भने त्यसलाई दुई वर्षपछि गर्ने भनिएको राष्ट्रिय महाधिवेशनबाट अनुमोदन गराउनै पर्ने हुन्छ। महाधिवेशनले पारित गरेन भने चयन भएको नेतृत्वले मान्यता पाउन सक्दैन। 

‘केही साथीहरु नेतृत्वका सबै पदहरु राष्ट्रिय सम्मेलनबाटै छनोट गर्ने पक्षमा हुनुहुन्छ,’ स्थायी समिति सदस्य चक्रपाणि खनालले भने, ‘तर, केही साथीहरु भने सीमित पदहरु मात्र अहिले छनोट गरी राष्ट्रिय महाधिवेशनबाटै नेतृत्व छनोट गर्ने पक्षमा हुनुहुन्छ।’

खनालको भनाइमा दोस्रो खालको धारणा राख्ने नेताहरु राष्ट्रिय सम्मेलनबाट अध्यक्ष र महासचिव मात्र चयन गर्ने, बाँकी पदाधिकारी (उपाध्यक्ष, उपमहासचिव र सचिव) लगायतका पदहरु चाहिँ राष्ट्रिय महाधिवेशनबाट चयन गर्ने पक्षमा छन्। 

‘राष्ट्रिय महाधिवेशनबाट अनुमोदन गराउनु पर्ने भएपछि त्यतिबेला नै नेतृत्व चयन किन नगर्ने भन्ने धारणा देखिन्छ,’ खनालले भने, ‘राष्ट्रिय महाधिवेशनसम्मका लागि पनि मुख्य नेतृत्व त चाहियो। त्यसैले, अहिले अध्यक्ष र महासचिव मात्र चयन गरौँ भन्ने उहाँहरुको मत छ।’

नेतृत्व चयनका सन्दर्भमा दुईथरी मत रहे पनि यो विवादको विषय नरहेको र यी मतको पक्ष–विपक्षमा पार्टी नेतृत्वपंक्तिमा ध्रुवीकरण नभएको पनि उनले बताए। 

सबैभन्दा चासो र चर्चा चाहिँ महासचिवका विषयमा छ। अन्य पदाधिकारी राष्ट्रिय महाधिवेशनबाट चयन गर्ने निर्णय भएछ भने पनि महासचिव चाहिँ अहिल्यै चयन गर्नुपर्ने बाध्यतामा माओवादी केन्द्र छ। किनभने, पार्टीमा अध्यक्षबाहेकका पदाधिकारी छैनन्। कम्युनिस्ट पार्टीमा महत्वपूर्ण र शक्तिशाली मानिने महासचिव पनि माओवादी केन्द्रले नेकपा विभाजनपछि छनोट गर्न सकेको छैन। 

एमालेसँग एकतापूर्व माओवादी केन्द्रको कार्यकारी नेतृत्वमा अध्यक्ष र महासचिव मात्र थिए। अन्य शीर्ष नेताहरु स्थायी समिति सदस्यका रुपमा विभिन्न जिम्मेवारी सम्हालिरहेका थिए। 

तर, नेकपा विभाजित भएपछि माओवादी केन्द्रको महासचिव रामबहादुर थापा झण्डै एक दर्जन केन्द्रीय सदस्यसहित एमालेमै रहे। जसकारण झण्डै एक वर्षदेखि माओवादी केन्द्रमा महासचिव पद रिक्त छ। 

यही कारण राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने, रिक्त महासचिव र एक दर्जन केन्द्रीय सदस्यमात्र छनोट गर्ने पक्षमा नेतृत्वको एउटा पंक्ति छ। 

सबै पदाधिकारी छनोटमा लाग्दा विवादको सम्भावना रहेकाले पनि अधिकांश शीर्ष नेताहरु महासचिवलगायत आवश्यक पद मात्र यसपटक छनोट गर्ने र महाधिवेशनमार्फत् नै नेतृत्वलाई पूर्णता दिने पक्षमा छन्। 

माओवादी केन्द्रका नेता दीनानाथ शर्मा भन्छन्, ‘यो राष्ट्रिय सम्मेलन सैद्धान्तिक–वैचारिक दृष्टिले महत्वपूर्ण हुनेछ। किनभने, राष्ट्रिय सम्मेलन नेतृत्व चयनभन्दा सैद्धान्तिक–वैचारिक विषयमा केन्द्रित हुनेछ।’  

शर्माले भनेजस्तै नेता चयनभन्दा सैद्धान्तिक–वैचारिक विषयमा राष्ट्रिय सम्मेलन केन्द्रित भयो भने अध्यक्ष, महासचिव र रिक्त केन्द्रीय सदस्यहरु मात्र चयन गरेर राष्ट्रिय सम्मेलन टुङ्गिन सक्छ। तर, पुरै नेतृत्व चयन गर्नुपर्ने दबाब राष्ट्रिय सम्मेलनमा बढ्यो भने चाहिँ पदाधिकारी लगायत २ सय ९९ केन्द्रीय सदस्यको चयन पनि यसै पटक हुनसक्ने सम्भावना उत्तिकै छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .