ad ad

राजनीति


सीमा विवादबारे बालुवाटारमा सर्वपक्षीय बैठकः गगन थापा र विष्णु रिजालको यस्तो प्रतिक्रिया

सीमा विवादबारे बालुवाटारमा सर्वपक्षीय बैठकः गगन थापा र विष्णु रिजालको यस्तो प्रतिक्रिया

नेपालखबर
कात्तिक २३, २०७६ शनिबार ३:३६,

सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका दुई युवा नेताले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग देखिएको सीमा विवादका सम्बन्धमा छलफल गर्न आह्वान गरेको सर्वपक्षीय बैठकलाई सकारात्मक कदम भनेका छन्।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका युवा नेता गगन थापा र सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री ओलीले बोलाएको बैठकलाई सकारात्मक भन्दै प्रतिक्रिया दिएका हुन्।

नेता थापाले ट्विट गर्दै लिपुलेक-कालापानीको वारेमा सरकारले धारणा सार्वजनिक गरेर ठिक गरेको जनाएका छन्। ‘अव अग्रसरताको खाँचो छ। राष्ट्रिय अस्मीतासँग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ,’ थापाले भनेका छन्, ‘फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सवैलाई एकठाँउमा उभ्याउन प्रधानमन्त्री ओलीले पहल गर्नुहोस्।’

त्यसैगरी नेता रिजालले सबै दलसहित राष्ट्रको एउटै बुझाइ र आवाज होस् भन्ने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेको बताएका छन्।

भारतले कालापानीमा नेपाली भूमि मिचेर एक पक्षीय रुपमा नक्सा सार्वजनिक गरेको विषय यतिबेला सर्वत्र चर्चा छ।

यही सन्दर्भमा छलफल गर्न प्रधामन्त्री ओलीले आइतबार दिउँसो सर्वपक्षीय बैठक आह्वान गरेका छन्।

‘मुलुकको सीमा जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिकरण नहोस् र सबै दलसहित राष्ट्रको एउटै बुझाइ र आवाज होस् भन्ने उद्देश्यले प्रम केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ रिमालले सामाजिक सञ्चाल फेसबुक स्टाटसमा लेखेका छन्, ‘जुन अत्यन्त सामयिक छ। यसबाट राष्ट्रियताप्रति वर्तमान सरकार, नेकपा र प्रम ओलीको गम्भीरता प्रस्ट हुन्छ।’

bishnu rija 5 w1bGHAd30F

नेता रिजालले पाँच बुँदामा लेखेको स्टटस यस्तो छ?
१. कालापानी नेपाली भू–भाग हो र हुनैपर्दछ। यो समस्या आज उब्जिएको होइन, पंचायतको बिरासत हो। सन् १९६२ पछि भारतीय सेना नेपाली भूभागमा बसेको छ।

२. कतिपयले वर्तमान सरकारका कारण समस्या आए जस्तो गरी प्रहार केन्द्रित गर्न खोजेका छन्, जुन पूर्वाग्रह मात्र हो। भारतले आफ्नो नक्सामा यसअघि झैं नेपाली भू–भाग राखेर सार्वजनिक गर्नासाथ नेपाल सरकारले त्यसलाई अस्वीकार गरेर बक्तव्य नै सार्वजनिक गरिसकेको छ। बरू, यस्तो काम विगतमा भएको सम्झना छैन।

३. नेपाल सरकारको बक्तव्यको प्रत्युत्तरमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रतिक्रिया दिंदै नेपाली भूमि आफ्नै भएको गलत दावी गरे पनि त्यो क्षेत्र विवादित रहेको स्वीकार गरेर वार्ताबाट समाधान गरिने प्रतिबद्धता जनाएका छन्। नेपालले यसैलाई आधार बनाएर भारतसँग कूटनीतिक पहल बढाउनुपर्छ र आफ्नो भूमिबाट भारतीय सेना फिर्ता पठाउनुपर्छ।

४. प्रम केपी ओलीले उत्तर र दक्षिण दुबैतिरका छिमेकीसँग हार्दिक र मर्यादापूर्ण सम्बन्ध विकास गर्नुभएको छ। भारतसँग बर्षौंदेखि समाधान नभएका विषयहरूले उहॉकै दृढ र प्रभावकारी पहलका कारण निकास पाएका छन्। विराटनगरबाट भारतीय फिल्ड अफिस बन्द, रेल सम्झौता, पेट्रोलियम पाइपलाइन सम्पन्न, विद्युत प्रशारण लाइन सम्झौता जस्ता काम उहॉकै कारण भएका छन्। कालापानी मुद्दा पनि उहॉको नेतृत्वमा समाधान हुन्छ भन्ने ठूलो जनअपेक्षा छ।

५. वार्ताको टेबुलमा जोड दिनुपर्ने विषयलाई राजनीतिक दाउपेच गरेर सरकारलाई प्रहार गर्ने मौकाका रूपमा प्रयोग गर्नुहुँदैन, यसबाट राष्ट्र थप कमजोर हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .