तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता कब्जा गर्दा गगन थापा नेपाल विद्यार्थी संघका महामन्त्री थिए। महामन्त्रीकै रूपमा उनले शाही ‘कु’को विरोध मात्रै गरेनन्, गणतन्त्रको वकालत पनि गरे।
माउ पार्टी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका नेताहरूले गणतन्त्रको ‘ग’ नउप्काउँदा गणतन्त्रलाई एजेन्डा बनाएकामा पार्टीभित्रै थापाको चर्को विरोध भयो। गिरिजा स्वयंले नरहरि आचार्य र गगनहरू दरबारीया भएको आरोप लगाए। पार्टीका नेताहरू सडकमा थिएनन्, यता गगनहरू गणतन्त्रको नारा लगाउँदै सडकमा ओर्ले।
‘अब राजतन्त्र र गणतन्त्र सँगै रहन सक्दैन’ भन्ने उद्घोष गरे। परिणाम स्वभाविक थियो– उनले राजद्रोहको मुद्दा खेपे। गगनको राजनीतिक उचाइ बढ्दै गयो।
गुरु घिमिरे सभापति र गगन महामन्त्री भएको नेपाल विद्यार्थी संघको नेतृत्व विघटन गरियो। पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले केशव सिंहलाई सभापति बनाए र पोखरामा अधिवेशन गर्ने जिम्मा दिए। गगन हिरासतमै थिए, यता पोखरामा गगनलाई सभापति बनाउने माहोल सुरु भइसकेको थियो। गिरिजाप्रसाद कोइराला नेपाल विद्यार्थी संघको अधिवेशन उद्घाटन गर्न पोखरा आए। चिप्लेढुंगामा आयोजित उद्घाटन समारोहमा उनले गणतन्त्रबारे केही बोलेनन्।
संयोग कस्तो भने सभापति कोइराला उद्घाटन सकेर काठमाडौं जान पोखरा एयरपोर्ट पुग्दा गगन हिरासतबाट छुटेर पोखरा आउँदै थिए। पोखरा विमानस्थलमा उनीहरूको भेट भयो, तर गिरिजाबाबुको सदाशयता गगनले पाएनन्। उनी सोझै अधिवेशनस्थल पोखरा सभागृह गए। बाहिर दमदार भाषण गरे। संस्थापनविरोधी गगनलाई आक्रमणकै प्रयास भयो।
घटनाक्रम सम्झँदै युवा नेता योगराज लामिछाने भन्छन्, ‘त्यसपछि गगन दाइलाई हामीले सुरक्षित ठाउँमा लग्यौं, महाधिवेशन त्यही निहुँमा स्थगित भयो र महेन्द्र शर्मालाई सभापति घोषणा गरियो।’
गगन सेलाएनन्। शाही शासनविरुद्ध निरन्तर आवाज उठाइरहे। मातृ पार्टी नेपाली कांग्रेसले आफ्नो विधानबाट संवैधानिक राजतन्त्र झिकैकै थिएन। नरहरि आचार्य र गगन थापाहरूले भने गणतन्त्रको नारा उचालिरहे। शाही शासन झन् निरकुंश बन्दै जाँदा गणतन्त्रका पक्षमा जनमत बढ्दै थियो।
अन्ततः २०६२ भदौ १४ कांग्रेस सभापति कोइरालाले भने, ‘अब कांग्रेस पनि काँचुली फेर्न बाध्य भयो, राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरे। राजाले आफ्नो प्रतिबद्धता फेरेपछि हामीलाई पनि हाम्रो प्रतिबद्धता फेर्ने अधिकार छ।’
पार्टींको ११औं महाधिवेशन उद्घाटनमा कोइरालाले खुब ताली पाए। गगनहरूको नारा पार्टीले अनुमोदन गर्यो। २०६२ भदौ १५ कांग्रेस महाधिवेशनले विधानबाट ‘संवैधानिक राजतन्त्र’ हटाउने निर्णय गर्यो।
पार्टीले आफ्नो एजेन्डा स्वीकार्दा पनि गगनले नेपाल विद्यार्थी संघको सभापति बन्ने अवसर भने पाएनन्।
बरु उनले चितवन अधिवेशनमा प्रदीप पौडेललाई सघाउने निर्णय गरे। गणतन्त्रपछि उनी पार्टीको मूलधारको राजनीतिमा होमिए। काठमाडौं क्षेत्र नम्बर ४ को सभापति बने। २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी त्यस बेला सबैभन्दा बढी भाषण गर्न बोलाइने नेतामा दरिए। त्यो ‘क्रेज’ दोस्रो संविधान सभा तथा २०७४ को चुनावसम्म पनि घट्न दिएनन्।
उनी पोखरा आउजाउ गरिरहन्छन्। देशभरजस्तै पोखरामा उनका शुभेच्छुक धेरै छन्। त्यसो त नेपाल विद्यार्थी संघकै अगुवाइमा उनीविरुद्ध पोखरामा कालो झन्डा देखाउने कामसमेत भएको छ। नेविसंघका गलत प्रवृत्तिको विरोध गर्दा उनलाई २ वर्षअघि पोखरामा कालो झन्डा देखाइएको थियो।
अहिले उनै गगन सर्वाधिक मतसहित नेपाली कांग्रेसको शक्तिशाली पद महामन्त्री बनेका छन्। खसेको ४ हजार ६८२ मतमध्ये थापाले ३ हजार २३ मत ल्याए। उनलाई विश्वप्रकाशले १ हजार ९८४ मतले पच्छ्याए र दोस्रो महामन्त्री बने। दुवै नेता १४औं महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवाइतर समूहका हुन्।
नेपाली कांग्रेसमा महामन्त्री हुनुको अर्थ
२०४६ सालको राजनीतिक परिवर्तन हुँदा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसका महामन्त्री थिए भने सन्तनेता कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति। परशुनारायण चौधरी पनि महामन्त्री थिए, तर पार्टीको सबै शक्ति महामन्त्री गिरिजाप्रसाद कोइरालाकै वरपर थियो। महामन्त्रीकै रूपमा उनले जुन शक्ति आर्जन गरे, त्यसैका बलमा ४ पटकसम्म प्रधानमन्त्री बने।
अहिले उपसभापति बनेका पूर्णबहादुर खड्का पनि महामन्त्रीबाटै शक्तिमा उदाएका हुन्। पोखराका युवा नेता योगराज भन्छन् ,‘कांग्रेसमा महामन्त्रीको अधिकार र भूमिका दुवै बढी छ, महामन्त्री हुनु भनेको दिनदिनै परीक्षा दिएर आफूलाई अब्बल साबित गर्ने अवसर प्राप्त गर्नु हो। गगन दाइलाई त्यो अवसर मिलेको छ।’
Shares
प्रतिक्रिया