राजनीति


प्रदेश २ : भौतिक पूर्वाधार मन्त्रालयका दुई दर्जन योजनाको अनुसन्धान गर्दै अख्तियार

प्रदेश २ : भौतिक पूर्वाधार मन्त्रालयका दुई दर्जन योजनाको अनुसन्धान गर्दै अख्तियार

शैलेन्द्र महतो
पुस १, २०७८ बिहिबार १९:३९, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयका करिब दुई दर्जन योजनाको अनुसन्धान थालेको छ। भ्रष्टाचार भएको भनी परेको उजुरीका आधारमा अख्तियारले ति योजनाको अनुसन्धान थालेको हो। 

तत्कालिन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको पालामा भएको विकासे योजनाको अख्तियारले अनुसन्धान गरिरहेको छ भने केही योजनाका फाइलहरु झिकाउन समेत मन्त्रालयलाई पत्राचार गरेको छ। 

योजनामा भ्रष्टाचार भएको भन्ने उजुरीको आधारमा हालसम्म २० वटा योजनाको छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव मनिराम ज्ञावालीले बताए। सडक निर्माण सम्बन्धी २० वटा योजनाको स्थलगत नापजाँच गरिएको उनको भनाइ छ। 

‘धेरै उजुरी परेको छ। उजुरीकै आधारमा सो योजनाहरुको फिल्डमै प्राविधिकसहितको टोली पुगेर नापजाँच गर्नुपर्छ’ उनले नेपालखबरसँग भने, ‘एक हप्तामा मन्त्रालयले निर्माण गरेको २० वटा जति सडक हामीले नापी सकेका छौं, फाइल हेरिसकेका छौं।’

सो मन्त्रालयमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा थुप्रै उजुरीहरु समेत परेका छन्। सोनलले मन्त्री हुँदा प्रदेशको अस्थायी राजधानी जनकपुरबाट प्रदेशका जिल्लाका सदरमुकामहरुसम्म सञ्चालनका लागि खरिद गरको ५ वटा बस अझैसम्म सञ्चालन हुन सकेको छैन। मधेश भवन परिसरमा थन्किएका ती बस पत्रु बन्न लागेका छन्। बस खरिदमा पनि तत्कालिन मन्त्री सोनलले व्यापक अनियमितता गरेको अख्तियारमा उजुरी परेको छ। 

‘उजुरीको आधारमा छानबिनका लागि बस खरिद लगायतका कागजातहरु उपलब्ध गराउन केही दिनअघि मन्त्रालयमा पत्राचार गरेका छौं। अनुसन्धान भइरहेका कुराहरुको प्रतिवेदन तयार हुन्छ’ उनले भने। 

तत्कालिन मन्त्री सोनल हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का अध्यक्ष एवं संसदीय दलका नेता हुन्। उनी प्रदेश सरकार स्थापनाको समय तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट नेतृत्व गर्दै भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। 

महन्थ ठाकुरको पक्षमा लागेपछि उनलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए।  

यसअघि प्रदेश २ को मुख्यमन्त्री कार्यालयमै बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारले छापा मारेर फाइल नियन्त्रणमा लिएपछि सरकार कलंकित बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .