ad ad

राजनीति


ओली र प्रचण्ड यसकारण चाहन्छन् कांग्रेस सभापतिमा देउवाकै निरन्तरता

ओली र प्रचण्ड यसकारण चाहन्छन् कांग्रेस सभापतिमा देउवाकै निरन्तरता

सीताराम बराल
मंसिर २४, २०७८ शुक्रबार २१:९, काठमाडौँ

चौधौँ महाधिवेशनबाट पार्टी सभापति कसलाई बनाउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र रस्साकस्सी जारी छ। महाधिवेशन प्रतिनिधि बनेर काठमाडौँ आइपुगेका कार्यकर्ता कसलाई सभापति बनाउने भन्ने विषयमा विभाजित छन्। 

रामचन्द्र पौडेलेदेखि विमलेन्द्र निधि, प्रकाशमान सिँहदेखि डा शेखर कोइरालासम्मले दावेदारी पेश गरिरहेका छन्। महाधिवेशनको आरम्भ दिन २४ मंसिर (२०७८) साँझसम्मको स्थिति अनुसार सबैभन्दा बलिया दावेदार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा नै देखिएका छन्। 

नयाँ अनुहारलाई सभापति बनाउने कि देउवालाई नै सभापतिमा दोहोर्याउने– यो कांग्रेसको चौधौँ महाधिवेशनका प्रतिनिधिहरुको रोजाईको विषय हो। 

कांग्रेसभित्रको आन्तरिक मामिला भएपनि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति को बन्ला भन्ने विषयमा सत्ता साझेदार दल माओवादी केन्द्रदेखि प्रमुख प्रतिपक्षी एमालेसम्मलाई निकै चासो छ। 

त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका प्रमुख रामकृष्ण तिवारीका भनाईमा, नेपाली कांग्रेसको आगामी सभापति को भन्ने विषयले राष्ट्रिय राजनीतिमा असर गर्ने भएकाले एमाले र माओवादी केन्द्र लगायतका दलले चासो राख्नु स्वभाविक हो। 

‘अहिलेको सत्ता गठबन्धन देउवाको नेतृत्वमा बनेको हो, आगामी आम निर्वाचन पनि कांग्रेसले अब बन्ने सभापतिकै नेतृत्वमा लड्ने हो’, तिवारी भन्छन्, ‘त्यसैले, देउवा सभापतिमा दोहोरिन्छन् वा दोहोरिन्नन् भन्ने विषयमा पक्कैपनि एमाले र माओवादी केन्द्र जस्ता ठूला दलले चासो राख्नु स्वभाविकपनि हो।’  

एमालेः कमजोर प्रतिस्पर्धीको खोजी
राष्ट्रिय राजनीतिमा अन्य थुप्रै दलहरुको अस्तित्व रहेपनि देशव्यापी रुपमा प्रभावकारी संगठन तीन ठूला दलहरु एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको छ। यी तीनमध्ये पनि एमाले र नेपाली कांग्रेस बढी प्रभावशाली छन्। त्यसैले, आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा एमाले र नेपाली कांग्रेसबीच हुने अनुमान गर्न सकिन्छ।   

माओवादी केन्द्रसँगको गठबन्धनका कारण २०७४ को आम निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो। तर, अहिले नेकपामात्र विभाजित भएको छैन, एमालेसमेत विभाजित हुन पुगेको छ। यो स्थितिमा यसअघिका निर्वाचनमा जस्तो आगामी निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा गर्न एमालेलाई सहज छैन।

आमनिर्वाचनमा देशव्यापी प्रभाव र संगठनको मात्र होइन, नेतृत्वको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। विभाजनका बाबजुद एमालेको सवल पक्ष के छ भने, एमालेसँग वाकपटुता भएका अध्यक्ष केपी शर्मा ओली छन्। तर, आफैँले नेतृत्व गरेको झण्डै दुई तिहाई बहुमतको सरकारको पतन, नेकपा र एमालेको विभाजनका कारण अहिलेसम्म ओली प्रतिरक्षात्मक स्थितिमा छन्।

तैपनि अर्को वर्ष हुने आमनिर्वाचनमा ओली यो स्थिति उल्ट्याउन चाहन्छन्। एमाले विभाजनका कारण कांग्रेसको हात माथि परिसकेको स्थिति छ। त्यसैले, महाधिवेशनबाट कमजोर, नकरात्मक दृष्टिले परीक्षण भइसकेको र गतिलो टिमपनि नभएको नेतृत्व आइदिओस् भन्ने अपेक्षा एमाले बृत्तको देखिन्छ।

सरकार र पार्टीको नेतृत्व गर्दा देखिएको कमजोर प्रदर्शन, बालुवाटारको कोटरीमा बालकृष्ण खाड, प्रकाशशरण महतजस्ता आकर्षणविहीन नेताहरुको हालिमुहालीका कारण कांग्रेसको नेतृत्वमा देउवा नै दोहोरिदिए आगामी निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा गर्न सहज हुने एमाले नेताहरुले ठानिरहेका छन्। 

‘आगामी निर्वाचनका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमाले नै हुन्, निर्वाचनसम्म देउवा सरकार नै कायम रहने हो भने कांग्रेससँग प्रतिस्पर्धा गर्न एमालेलाई सहज हुन्छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘देउवा नेतृत्वको सरकारको कार्यशैली, निर्णयहीनता आदिका कारण कांग्रेसको आलोचना र उसँग प्रतिस्पर्धा गर्न एमालेलाई सहज हुन्छ।’

एमाले पंक्तिको बुझाई के छ भने, पौडेल, निधि, सिँह, कोइरालाले पार्टीका नीति र कार्यक्रमसहित जनताबीच केही न केही नयाँ तरिकाले जान सक्छन्, परीक्षण भइसकेका देउवाका लागि त्यो सम्भव छैन। पाँच पटक प्रधानमन्त्री र एक पटक सभापति बनेका देउवाको कार्यकालमा यस्तो कुनै उल्लेख्य काम भएका छैनन्, जसलाई आधार बनाएर कांग्रेसले निर्वाचनमा जनतासँग मत माग्न सकोस्। निर्वाचनका बेला कामयावी हुने आकर्षक–आक्रामक कला र क्षमतापनि देउवासँग छैन।   

अरु त अरु, देउवाको नेतृत्वमा चुनावमा जाँदा कांग्रेसले सफलता हासिल गर्छ भन्ने विश्वास उनकै मन्त्री मण्डलका सदस्यहरुलाई समेत छैन। जस्तो, शुक्रबार (२४ मंसिर) बिहान पत्रकारहरुसँगको कुराकानीमा रक्षामन्त्री डा मीनेन्द्र रिजालले भनेका छन्, ‘अहिलेकै नेतृत्व लिएर नेपाली कांग्रेस चुनाव (आम निर्वाचन) मा जाँदा जनताले कांग्रेसलाई पत्याउँदैनन् र पार्टीको पक्षमा बहुमत आउँदैन कि भन्ने चिन्ता छ।’ 

‘एजेण्डामात्र होइन, निर्वाचनका बेला जनताले नयाँ अनुहारपनि खोज्ने गर्छन्, प्रतिस्पर्धामा जुन पार्टीले नयाँ अनुहारलाई जनताको बीचमा प्रस्तुत गर्छ, जनता त्यतैतिर आकर्षित हुने स्थिति छ’, तिवारी भन्छन्, ‘यो स्थितिमा देउवाको तुलनामा अर्को नयाँ नेताको नेतृत्वमा चुनावमा जाँदा कांग्रेसलाई अझ सहज हुने स्थिति देखिन्छ।’  

माओवादी केन्द्रः चुनावसम्मै गठबन्धन जोगाउने चिन्ता 
पार्टी विभाजनका बाबजुद आगामी निर्वाचनमा सकेसम्म एमालेलाई नै ठूलो दल बनाउने, त्यो सम्भव नभएको स्थितिमा सत्ताको साँचो आफूसँग रहन सक्ने गरी दोस्रो ठूलो दल बनेर निर्वाचनपछि गठबन्धनमार्फत् पुनः आफैँ प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष ओलीको दाउ हो। 

प्रचण्डको दाउ चाहिँ आगामी निर्वाचनमार्फत् प्रत्यक्षतर्फ एमाले भन्दा ठूलो दल बन्ने हो। 

यसका लागि माओवादी केन्द्रले एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेससँग आगामी निर्वाचनमा गठबन्धन गर्नुपर्ने हुन्छ। तेस्रो ठूलो दलले मुख्य दलसँग गठबन्धन गर्दा कति लाभ हुन्छ भन्ने कुरा प्रचण्डले २०७४ को आम निर्वाचनबाट देखिसकेका छन्। जस्तोः २०७४ को निर्वाचनमा समानुपातिकतर्फको मतका आधारमा कांग्रेस दोस्रो ठूलो दल बनेपनि प्रतिनिधि सभा, प्रदेश–१, बागमति, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा कांग्रेस भन्दा माओवादी केन्द्र ठूलो दलको रुपमा स्थापित भएको थियो। 

प्रचण्ड आगामी निर्वाचनमा पनि माओवादी केन्द्रको यो हैसियत जोगाउन चाहन्छन्। त्यो हैसियत जोगाउने अस्त्र भनेको गठबन्धन नै हो। देउवा आगामी निर्वाचनमा गठबन्धनका लागि तयार हुनेछन् भन्ने प्रचण्डको विश्वास कायमै देखिन्छ।  

२०७४ को निर्वाचनमा आश्चर्यजनक ढंगले एमाले–माओवादी केन्द्रबीच गठबन्धन हुँदा कांग्रेसको हविगत कस्तो हुन पुगेको थियो, देउवाले पनि त्यो तीतो विगत बिर्सेका छैनन्। कांग्रेसको पराजय त्यही वामगठबन्धनका कारण भएको थियो। तर, यो कुरा बुझ्दाबुझ्दै पार्टीभित्रका विपक्षीहरुले नैतिकताको प्रश्न उठाएर पार्टी सभापतिबाट कसरी राजीनामा माग गरेका थिए, त्यो पनि उनले भुलेका छैनन्।  

जानकार स्रोतका भनाईमा, २०७४ मा झैँ एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुन दिएर फेरि पराजयको नियति बेहोर्नुपर्ने हो कि भन्ने भय देउवामा देखिन्छ। अघिल्लो महिना गृहजिल्ला रुपन्देही पुगेका गृहमन्त्री बालकृष्ण खाडले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताउनुको कारण यही हो।

२०७४ मा झैँ, आश्चर्यजनक ढंगले एमाले–माओवादी केन्द्रबीच गठबन्धन हुन नदिनपनि माओवादी केन्द्र र एकिकृत समाजवादीसँग आगामी निर्वाचनमा गठबन्धन गर्नुपर्ने बाध्यता देउवासामु छ। 

तर, सिँह, निधि र कोइराला जस्ता नेताहरुले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताइरहेका छन्। सभापतिका प्रतिस्पर्धी–दावेदारहरुको ‘कसैसँग गठबन्धन नगरी कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने’ अभिव्यक्तिका कारण देउवा दबाबमा छन्। ‘वर्तमान सत्तारुढ गठबन्धन २० माघमा हुने राष्ट्रिय सभा निर्वाचनसम्मका लागिमात्र हो’ भन्ने देउवाको यसै हप्ताको स्पष्टिकरण सभापतिका प्रतिस्पर्धी नेताहरुको ‘कांग्रेसले आगामी आम निर्वाचनमा एक्लै प्रतिस्प्र्धा गर्नुपर्छ’ भन्ने दबाबको प्रतिफल हो। 

वर्तमान सत्ता गठबन्धनलाई चुनावसम्मै कायम राख्नका लागि प्रचण्डले कांग्रेस सभापतिमा देउवाकै निरन्तरता चाहनु स्वभाविक हो। जानकार स्रोतका भनाईमा, गठबन्धनका पक्षधर रहेकाले पौडेल सभापति निर्वाचित हुँदापनि प्रचण्ड खुसी नै हुनेछन्। तर, गठबन्धन विना कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अभिव्यक्ति दिइरहेका निधि, सिंह वा कोइराला सभापति निर्वाचित भएको अवस्थामा प्रचण्डमा असहजता थपिन सक्छ। 

‘देउवा र पौडेलको मनसाय वर्तमान गठबन्धनलाई चुनावसम्मै कायम राख्नुपर्ने देखिन्छ। तर, अन्य दावेदारहरुले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने अभिव्यक्ति सार्वजनिक गरिरहेका छन्’, राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘यस्तो स्थितिमा कांग्रेसको नेतृत्व देउवा र पौडेलबाहिर पुग्यो भने गठबन्धन धरमराउन सक्छ। त्यसैले, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापतिमा देउवाकै निरन्तरता चाहेका छन् भने त्यो अस्वभाविक होइन।’ 

वर्तमान गठबन्धन कायम राख्ने प्रचण्डको चिन्ता (२४ मंसिर) मा भएको कांग्रेसको चौधौँ महाधिवेशन उद्घाटन समारोहमा पनि स्पष्टसँगै देखियो, जहाँ उनले वर्तमान गठबन्धनको उपलब्धिको चर्चा गर्दै कांग्रेस लगायतका दललाई एक्लै नहिँड्न आग्रह गरे। र, ओलीप्रति लक्ष्यित गर्दै एक्लै हिँड्दा कसरी ओरालो यात्रा सुरु हुने रहेछ भनेर चेतावनीपनि दिन भ्याए। यसबाट पनि उनी ‘गठबन्धनका पक्षधर’ देउवाकै पक्षमा छन् भन्ने अनुमान गर्न सकिन्छ। 

आगामी निर्वाचनका मुख्य राजनीतिक प्रतिस्पर्धी कांग्रेस र एमाले भएपनि आपसी आरोप–प्रत्यारोप हेर्दा अहिलेपनि मुख्य प्रतिद्वन्द्विता एमाले र माओवादी केन्द्रबीच हो जस्तो देखिन्छ। तर, रोचक कुरा चाहिँ के छ भने, एमाले र माओवादी केन्द्र अध्यक्ष क्रमशः ओली र प्रचण्ड दुबैजना कांग्रेस सभापतिमा देउवाकै निरन्तरता चाहिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .