राजनीति


पेलाइमा पौडेल : पकड क्षेत्र गण्डकीमै साझा उम्मेदवार छान्न सकेनन्

शशंकासहित पोखरामै बसेर निकास खोज्दै
पेलाइमा पौडेल : पकड क्षेत्र गण्डकीमै साझा उम्मेदवार छान्न सकेनन्

फाइल फोटो


वाशुदेव मिश्र
मंसिर १६, २०७८ बिहिबार ७:३, पोखरा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले मंगलबार पोखरामा दलबलका साथ गण्डकी प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरे। 

उनको घोषणा सभामा गण्डकीका बहालवाला मन्त्री कुमार खड्का र विन्दुकुमार थापा, कास्की कांग्रेस सभापति किशोरदत्त बराल, पूर्वसभामुख तारानाथ रानाभाटदेखि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसम्म उपस्थित थिए। 

हिजोका दिनमा कांग्रेस प्रजातान्त्रिक धानेका खेमराज पौडेल र अहिले संस्थापनतिर लागेका नयाँ-पुराना कार्यकर्ताको उपस्थितिले पर्वतका अर्जुन जोशी उत्साहित बने। 

उनीअघि नै यहाँ संस्थापन इतर समूहका देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल, कास्कीकै पुराना नेता शुक्रराज शर्माले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका थिए।  
नवलपुरका महेन्द्रध्वज जिसी र कास्कीका यज्ञबहादु थापा पनि उम्मेदवार बन्ने दौडमा थिए। 

तर,उनीहरुको उम्मेदवारी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला खेमाबाट सभापति बन्न चाहने बाँकीलाई रोक्नु थियो। 

मंसिर १९ गते हुने प्रदेश चुनावमा करिब ११ सय मतदाता छन्। व्यक्तिको अनुहार हेर्दा तीमध्ये अधिकांश अझै पनि संस्थापन इतरहमै छन्। 

तर, कांग्रेस संस्थापन इतर समूहमा एउटाले अर्कालाई अस्वीकार गर्ने रोग छ। उउटै उम्मेदवार नहुने हो भने, यसपटक अर्जुन जोशीले बाजी मार्ने सम्भावना छ।

प्रभाव बढाउँदै देउवा
अर्कोतर्फ, गण्डकीमा पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवाले प्रभाव बढाउँदै लगेका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालासँग बिच्किएका धेरै नेता-कार्यकर्ता अहिले देउवा खेमामा खुलिसकेका छन्। केही खुट्टा उचालेर बसेका छन्। 

त्यसैले वरिष्ठ नेता र कोइराला दुवै अहिले समस्यामा छन्। आफ्नो गृह क्षेत्रमा पकड गुमाउँदाको चर्को मूल्य चुकाउनुपर्नेमाा दुवै सचेत छन्। 

तर, उनीहरुलाई साझा उम्मेदवार र प्यानल बनाउन साह्रै कठिन छ। केन्द्रमा दुवैले सभापति ताकेर विवादमा अल्झिँदा कार्यकर्तालाई आश्वासन दिन नसक्नु उनीहरुको समस्या हो। 

त्यो समस्या महाधिवेशन नजिकिँदै गर्दा झन् पेचिलो बनेको छ। गण्डकीमै आफ्नो खेमाबाट ५ जनाले सभापति दावी गरेपछि वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला पोखरा आउन बाध्य भएका छन्। 

दुवै नेता बुधबार पोखरा आएका छन्। रामचन्द्र र शशांक एउटै होटलमा अड्डा जमाएर बसेका छन्।

नेताहरु जीवन परियार, दिलबहादुर घर्तीलगायत अन्यत्रै बसेर सहमति जुटाउने जमर्कोमा छन्।

सहमतिमा उम्मेदवार नउठाए आफ्नो पकड क्षेत्र गुम्ने देखिएपछि तातेका नेताहरुले बुधबार दिनभर सहमतिको साझा उम्मेदवार तयार पार्न सकेनन्।

कास्की कांग्रेस क्षेत्र नम्बर २ ख का सभापति दिनेश आचार्यका अनुसार बुधबार दिनभर उम्मेदवारी हत्याउन लागेका नेताहरुले आफू जितका लागि काबिल भएको दलिल पेश गरे। 

उनीहरुले साझा उम्मेदवार बनाएर चुनावमा जानुपर्नेमा सहमति पनि जनाए। तर, बुधबार सहमति जुटाउन असफल भए। 

 स्रोतका अनुसार कास्कीबाटै ४ जनाले दाबी गरेपछि नवलपुरका जिसीले पछि हट्ने संकेत गरेका छन्। 

कास्कीका पुराना नेता शुक्रराज शर्मालाई संस्थापन इतर समूहले विश्वास गर्न छाडेको छ।  

कास्कीको चुनावमा सभापति देउवापक्षसँग चुनावी तालमेल गरेकाले उनले विश्वास गुमाएका हुन्। तनहुँका रघुनाथ बलिया उम्मेदवार होइनन्। 

खास गरी उनको उम्मेदवारी रामचन्द्रलाई सघाउँदा पनि अवसर नदिएका अघि सारिएको हो।

रामचन्द्र–शशांक समूहबाट अन्तिम प्रतिस्पर्धीका रुपमा कास्कीका पूर्वमन्त्री यज्ञबहादुर थापा र युवा नेता देवराज चालिसे छन्।

स्रोतका अनुसार अहिले ती दुईमध्ये एकजनालाई गण्डकी प्रदेश सभापतिका लागि छान्ने कसरत भइरहेको छ।

‘बुधबार अबेरसम्म एउटा उम्मेदवार बनाउने भन्ने थियो’, कांग्रेस स्रोतले भन्यो,‘दुवैले अर्कालाई छाड्न तयार भएनन्।’ 

देवराजले बोलेर र यज्ञबहादुर थापा नबोलेरै उम्मेदवार बन्ने दाउमा छन्। 

‘यज्ञ बोल्दैनन्। नबोल्नु नै उनको राम्रो पक्ष हो। देवराज बोलेर हिँड्छन्’, एक नेताले भने,‘ चुप्प लागेर बसेको बस्यै, नेतासँग टाँसिएको टाँस्सियै यज्ञ र बोलेर नै दावेदारी पेश गरेका देवराज दुवै अर्कोलाई स्वीकार्ने मुडमा छैनन्।’ 

त्यसैले रामचन्द्र–शशांकको पोखरा बसाइ परिणाममुखी हुने सम्भावना कम रहेको उनले बताए। 

संस्थापन इतर पक्ष उम्मेदवार छान्न बैठक गरिरहँदा अर्जुन जोशीले भने भोट माग्न थालिसकेका छन्। 

उनको सचिवालयले मतदाताहरूलाई ४ पटकसम्म एसएमसमार्फत भोट मागिसकेको छ। उनी आफैँले पनि टेलिफोन र भेटघाट तीव्र बनाएका छन्। 

गण्डकी सभापतिमा पुराना नेता उम्मेदवार बनिरहँदा मतदाता भर्खरै कांग्रेस प्रवेश गरेकाहरु छन्। 

ती मतदाता विभिन्न खाले प्रभावमा पर्नसक्ने, जसले भेट्यो, उसैलाई भोट हाल्ने मानसिकतामा रहेकाले पनि परिणाम कसको पक्षमा जाला टुंगो छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .