राजनीति


कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेश सभापति बन्न भरत शाह र अमर पुन प्रतिस्पर्धामा

कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेश सभापति बन्न भरत शाह र अमर पुन प्रतिस्पर्धामा

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिका उम्मेदवार भरत शाह (बायाँ) र अमर पुन।


सुदीप भण्डारी
मंसिर १५, २०७८ बुधबार १०:१०, काठमाडौँ

नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सभापति पदका लागि भरतकुमार शाह र अमर पुनबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेसको प्रदेश अधिवेशन यही मंसिर १६ गते सुरु हुँदै छ। 

अधिवेशनमा संस्थापन अर्थात् देउवा पक्षबाट शाह र इतर पक्षबाट पुन उमेदवार बन्न लागेका हुन्। 

भरतकुमार शाह रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य तथा संसदको लेखा समिति सभापति हुन्। उनी सोही क्षेत्रबाट २०५६ र २०७० का चुनावमा पनि विजयी भएका थिए।

अमर पुन कांग्रेस रोल्पाको निवर्तमान जिल्ला सभापति हुन् । उनी यसअघि दोस्रो संविधान सभाका सदस्य पनि हुन्। 

शाह र पुन दुवै जना राज्यमन्त्री बनिसकेका नेता हुन्। 

पार्टीको संस्थापन पक्षबाट भरतकुमार शाहसँगै नवलपरासीका देवेन्द्रराज कँडेल पनि प्रदेश सभापतिका आकांक्षी थिए।

पछि कँडेल केन्द्रीय सदस्यमै गएर शाहलाई प्रदेश सभापति पद छाड्न सहमत भएका हुन्। मंगलबार भैरहवामा आयोजित कार्यक्रममा शाहले प्रदेश सभापतिमा आफू उमेदवार बन्ने घोषणा गरेका हुन्।

सल्यानमा जन्मेका शाह लामो समय दाङ बसे। दाङबाटै उनले विद्यार्थी राजनीति थाले। अध्ययन क्रममा नेपालगन्ज, काठमाडौँ रहेपछि रुपन्देही आएर मूलधारको सक्रिय राजनीति सुरु गरे। 

लामो समय पार्टीमा काम गरेको र पटकपटक सांसद भएकाले पनि आफूले प्रदेश सभापति पद जित्नेमा विश्वस्त रहेको शाहले बताए।

‘४० वर्षदेखि पार्टीमा सक्रिय छु। ३ पटक जितेको सांसद हो’, उनले नेपालखबरसँग भने, ‘मेरो छवि पनि राम्रो छ। प्रदेशको पूर्व पश्चिममा मेरो राम्रै नेटवर्क छ। सभापति जित्नेमा ढुक्क छु।’ 

पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा जिताउने आफ्नो मुख्य एजेन्डा रहेको शाहले बताए।

अम्मर पुनले केही महिनाअघिबाटै लुम्बिनी प्रदेश सभापति बन्ने तयारी तीव्र पारेका थिए। आफू कुनै पनि हालतमा प्रदेश सभापतिबाट पछि नहट्ने उनले सञ्चारमाध्यमलाई बताउने गरेका छन्। 

संस्थापन इतरमा पनि उनी शेखर कोइरालानिकट मानिन्छन्। जिल्ला अधिवेशनमा संस्थापन इतरको प्यानल पर्चाको माथिपट्टि प्रदेश सभापति भनेर उनको नाम पनि थियो। 

प्रदेशका धेरै जिल्लामा संस्थापन इतर पक्षले जितेकाले पनि पुनले प्रदेश सभापति जित्ने आशा गरेका छन्।

‘जिल्ला अधिवेशनबाट निर्वाचित प्रदेशका ९ जना सभापति मेरो समर्थनमा हुनुहुन्छ। त्यत्तिकै संख्यामा क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिहरु आउनुभएको छ। त्यसैले निर्वाचित हुनेमा म ढुक्क छु’, उनले भने, ‘म द्वन्द्वप्रभावित जिल्लाको हुँ। विगतमा पार्टीका १ सय २० भन्दा बढी अग्रज मारिएका छन्। सभापतिमा जितेँ भने रोल्पा, रुकुमसहित प्रदेशमा पार्टीको संगठन चुस्तदुरुस्त बनाउँछु।’ 

हालै सम्पन्न जिल्ला अधिवेशनको नतिजाअनुसार लुम्बिनी प्रदेशमा संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, रुकुम पूर्वमा संस्थापन इतर पक्षका सभापति विजयी भएका छन्।

रुपन्देही र बर्दियामा संस्थापन पक्षका सभापति भएका छन्। बाँकेको जिल्ला अधिवेनशन भने भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .