रौतहट बम विस्फोट घटनाका मुख्य अभियुक्त सांसद मोहम्मद अफताव आलमको बयान रौतहट जिल्ला अदालतमा जारी छ। आलमकाे बयान मंगलबार नसकिएकाले बुधबार बिहान १० बजे अदालतमा हाजिर गराउने गरी प्रहरीको जिम्मा लगाइएको छ। उनी लगायत १० जना विरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्याेग र बम बिस्फोटको मुद्दामा बयान लिइएकाे हाे।
सांसद आलममाथिको थुनछेक बहस बुधबार सुरु हुनेछ। अदालतका श्रेष्तेदार गुणराज पराजुलीले मंगलबार आलमको बयान नसकिएकाले बुधबार १० बजे हाजिर गराउने गरि प्रहरी हिरासतमा पठाएको जानकारी दिए। न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान लिखत् भएको थियो । अदालत प्रशासनका अनुसार आलमलाईउपलब्ध सबुत प्रमाणका आधारमा घटनाका बिषयमा प्रश्न सोधिएको थियो।
श्रेष्तेदार पराजुलीले बुधबार आलमको बयान समयमै सकिए थुनछेक बहस हुने नेपालखबरलाइ बताए।
२०६४ साल चैत्र २७ गते बुधबार रौतहटको राजपुर फरहदवामा भएको विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतको छोरा वर्ष पिन्टु भनिने त्रिलोक प्रताप सिंह तथा रुक्साना खातुनको छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरिएको थियो। सो घटनामा मोहम्मद अफताव आलमसहित मोहम्मद महताब आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साह, शेख फजलेह र सगिर आलमलाई मुख्य अभियुक्त कायम गरिएको छ।
सोमबार जिल्ला सरकारी वकिल कार्यालयले तीन अभियोगमा हदैसम्मको सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो।
Shares

प्रतिक्रिया