राजनीति


१० वर्षे युद्धमा सधैं जोगिए, बलात्कार आरोपमा जेल गए

१० वर्षे युद्धमा सधैं जोगिए, बलात्कार आरोपमा जेल गए

दीपक खरेल
कात्तिक १९, २०७६ मंगलबार १२:१५,

संसद् सचिवालयमा काम गर्ने कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबारको रात सदरखोर डिल्लीबजारमा बिताए। 

सदरखोरभित्रको ‘भीआईपी ब्लक’ बनेको ‘क सेल’ मा उनी पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीसँगै छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुर्दशनराज पाण्डेले पछि ठहरे बमोजिम हुने गरी महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाए। महरा कालो ज्याकेट र सेतो सर्टमा तालु मुसार्दै सरकारी पाहुना हुन डिल्लीबजार कारागार पुगे।

रोल्पामा भएको शैक्षिक आन्दोलनमा पटक–पटक थुनामा परेका महराले यसअघि कहिल्यै जेल बस्नु परेको थिएन।

१० वर्षे सशस्त्र द्वन्द्वमा पनि महरा कहिल्यै पक्राउ परेनन्। दाङको हापुरे र बर्दियाको ठाकुरद्वारामा भएका वार्तामा उनी माओवादी वार्ता टोलीका संयोजक थिए। पटकपटक वार्ता टोलीमा रहेका उनी माओवादीको सार्वजनिक अनुहार थिए। त्यसअघि लामो समय शैक्षिक आन्दोलनमा बिताएका महरा पार्टीका अधिकांश कार्यकर्ताका लागि ‘सर’ थिए।

जसले उनीहरुलाई औपचारिक शिक्षासँगै राजनीतिक चेतना पनि दिए। ती मध्येकै एक थिइन्, रोशनी शाही। महराकै घरमा चारवर्ष बसेकी रोशनीले बलात्कार प्रयासको अभियोग लगाएपछि महराको ‘भद्र’ नेताको छवि चकनाचुर बनेको छ। यो यथार्थलाई अझै पनि उनका कतिपय पुराना सहयात्रीले स्वीकार्न सकेका छैनन्।

२०४४ देखि निरन्तर महरानिकट रहेका पुराना पत्रकार नरेन्द्रजंग पिटर (दुलाल) महराविरुद्व विषकन्याको प्रयोग गर्ने इतिहास दोहोरिएको टिप्पणी गर्छन्।

सरकार र विद्रोहीबीच भएका दुवै चरणका वार्तामा महरासँगै थिए पिटर। महरा अन्तर्मुखी स्वभावको भएकाले तीनदशक लामो संगतमा पनि कहिल्यै उनीसँग बसेर मदिरा पिउने अवसर नजुरेको पिटरको भनाइ छ।

‘उहाँसँग कहिल्यै मदिरा पिइएन र रसिक कुराकानी पनि भएन,’ पिटरले नेपालखबरसँग भने ‘उहाँको स्वभाव नै त्यस्तो थिएन।’

रोशनीले महराविरुद्ध लगाएको आरोप थियो– श्रीमान् नभएका बेला महरा मेरो डेरामा आए। मदिरा बोकेर आएका महराले मलाई बलात्कार प्रयास गरे।

dillibazar

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार महरा करिब सात बजे सुविधानगरस्थित रोशनीको डेरामा पुगे। रोशनीले आठ बजेर ४५ मिनेटमा प्रहरी कन्ट्रोलमा टिपाइन्– मलाई सभामुख महराले जबर्जस्ती गर्न खोजे, कुटपिट गरे। महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोली नौ बजेर १० मिनेटमा घटनास्थल पुग्यो। डिएसपी रेग्मीले घटनास्थलको भिडियो बनाए। अनि रोशनीलाई स्वास्थ्य परीक्षणका लागि आफूसँगै हिँड्न अनुरोध गरे। रोशनी जान मानिनन्। उनले श्रीमान बाहिर भएकाले फर्केपछि सल्लाह गरेर जान्छु भनिन्। प्रहरी टोली फर्कियो। यो २०७६ असोज १२ को रातिको घटना थियो।

रोशनीले प्रहरी फर्किएपछि साढे ११ बजे नेपाली कांग्रेसकी सांसद उमा रेग्मीलाई फोन गरेर हारगुहार मागिन्। उनले उमासँग पनि प्रहरीलाई दिएकै विवरण टिपाइन्।

डिएसपी रेग्मी अर्को दिन (२०७६ असोज १३) बिहान घटनास्थल पुगेर रीतपूर्वक मुचुल्का लिए। मुचुल्कामा आधा सकिएको रक्सीको बोतल, आधा भएको रक्सीको गिलास, काँक्रो–मुला र बदामलाई दसी प्रमाण बनाइयो। यस्तै एकथान भाँच्चिएको चश्मा र जुत्ताको तलुवासमेत प्रहरीले घटनास्थलबाट बरामद गर्‍यो।

घटनाको दिन महराको सुरक्षार्थ खटिएका जमदार काजीराम रानामगरले रोशनीको घरमा गएको र डेढ घण्टा त्यहाँ बसेर फर्किएको बयान सरकारी वकिलको रोहबरमा गरेका छन्। उनीसँगै प्रहरी हवल्दार विष्णुबहादुर थापा र चालक सशस्त्र प्रहरी हवल्दार श्यामहरि आचार्य साढे ६ बजे निस्किएको र घटना भएको घरबाहिर बसेर फर्किएको बयान लिखत गरेका छन्।

तर, महराले बयानमा आफू रोशनीको घर बाहिरसम्म गएको तर भित्र नपसेको बयान दिएका छन्। आफूले मदिरा लिएर नगएको र नपिएको दाबी उनले सरकारी वकिल र अदालतसामु गरे। ‘विशेष समारोहमा रेड वाइन लिने गर्छु, चिकित्सकको सल्लाह अनुसार मैले ह्विस्की पिउन छाडेको १२ वर्ष भयो,’ उनको जिकिर छ।

प्रहरीले अदालतमा रोशनीको डेराबाट बरामद भाँच्चिएको चश्माको पावर र महराको चश्माको पावर एउटै भएको कागज प्रमाणका रुपमा पेस गरेको छ। जुत्ताको तलुवाको आधिकारिकता भने प्रहरीले खुलाउन सकेन।

महराले रोशनीको कोठमा नपसेको दाबी गरिरहँदा प्रहरीले भने उनी ८ बजेर ३२ मिनेट ४५ सेकेण्डमा सो स्थानबाट बाहिरिएको क्लोज सर्किट क्यामराको भिडियो अदालतमा पेस गरेको छ। उनी एक घण्टा २५ मिनेट त्यहाँ बसेको प्रहरीको भनाइ छ। त्यसबाहेक महराले रोशनीले ‘फर्गेट एस्टरडे, आइ एम सरी’ लेखेको एसएमएस समेत अदालतमा पेस गरेको थियो। प्रहरीले अदालतमा पेस गरेको रोशनीको स्वास्थ्य परीक्षण रिर्पोटमा उनीमाथि नीलाडाम हुनेगरी कुटपिट भएको उल्लेख छ।

महराको मुद्दाको मिसिल कमजोर बनाइएको आरोप पनि लागेको छ। सरकारी वकिल कार्यालयले महरालाई करणी उद्योगमा पाँच र थप साढे दुई गरी साढे सात वर्ष सजाय मागदाबी सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा लिएर गएको थियो। सरकारी वकिल कार्यालयले प्रहरीले जुटाएका प्रमाणको परीक्षण गर्न चाहेन। प्रहरीले पनि महराको पोलिग्राफ टेस्ट र अदालतको आदेश अनुसार डीएनए रिपोर्ट समेत जुटाउन सकेन। महराले बोक्ने मोबाइल उनकी श्रीमतीले आवेगमा फोडेको र हराएको उनकै बयान अदालतमा मिसिलका रुपमा पेस गरियो।

अदालतको प्रक्रियाले महराको अपराधलाई आंशिक रुपमा ग्रहण गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनका लागि एक तहमाथिको उच्च र आवश्यक परेमा सर्वोच्च अदालतको ढोका त खुला छँदैछ। तर, अदालतले उन्मुक्ति नै दियो भने पनि महराका लागि उही पुरानै ‘एम सर’ बन्न असम्भवप्रायः छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .