महाधिवेशन प्रतिनिधि चयनमा मनोमानी गरेको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघका बहुमत सदस्यले असन्तुष्टि जनाएका छन् ।
चितवनमा बिहीबारदेखि सुरु हुने दसौँ राष्ट्रिय महाधिवेशनको लागि युवा संघबाट ५ जनाको नाम पठाइएको थियो।
सोमबार बेलुका पठाइएपछि संघका उपाध्यक्ष रोशन बस्नेत लगायत पदाधिकारी र केन्द्रीय सदस्यले असन्तुष्टि जनाउँदै लिखित पत्र बुझाउन लागेका हुन्।
उपाध्यक्ष बस्नेतका अनुसार युवा संघको अहिलेसम्म औपचारिक बैठक नै बसेको छैन।
बैठक नै नबसी नाम बुझाएपछि त्यसलाई रोक्न माग गर्दै संगठन विभाग प्रमुख विष्णु पौडेल लगायतका स्थायी कमिटीका नेताहरुलाई मौखिक जानकारी गराएको उनले बताए।
अब त्यो सम्बोधन नभए लिखित पत्र बुझाउन लागिएको बस्नेतले जानकारी दिए ।
‘अहिलेसम्म युवा संघको बैठक नै बसेको मलाई थाहा छैन,’ उपाध्यक्ष बस्नेतले नेपालखबरसँग भने, ‘हाम्रो संगठनमा ३ जना अध्यक्ष भइसके, कुनै बैठक बसेको मेरो जानकारीमा छैन। प्रतिनिधि चयन पनि के आधारमा गरियो थाहा छैन। रेष्टुरेन्टमा बसेर गरिएको निर्णय हो कि?’
महाधिवेशन प्रतिनिधि चयनमा पार्टीको विधान उल्लंघन गरिएको भन्दै यसबारे पार्टीले हस्तक्षेप गर्न सुझाव दिइएको उनले बताए ।
‘पार्टीको विधान छ, निर्वाचन कार्यविधि छ तर, त्यसको विपरीत संगठनको अध्यक्षले एक्लै कसरी प्रतिनिधि छान्नुभयो? यसबारे पार्टीको धारणा मागेका छौँ, बैठकको माइन्युट नगरी कसरी प्रतिनिधि चयन गरियो त्यो मागेका छौँ,’ उपाध्यक्ष बस्नेतले थपे।
आफूहरु सहमतिकै आधारमा सर्वसम्मत प्रतिनिधि चयन गर्न तयार रहे पनि अध्यक्षले एकलौटी गरेपछि बाध्य भएर पार्टी गुहारेको उनले गुनासो गरे।
‘निर्णय प्रक्रियाप्रति हाम्रो गम्भीर आपत्ति हो, पार्टीको विधान कुल्चेर टीके प्रथाबाट गरिने हुण्डेमुण्डे प्रवृत्तिको विरोध हो,’ बस्नेतले भने, ‘यो गल्ती सच्याउन मौखिक जानकारी नेतृत्वलाई दिएका छौँ, अब औपचारिक रुपमा पार्टीलाई पत्र बुझाउँछौँ।’
गलत बाटोबाट गरिएको यो निर्णय प्रक्रिया सच्याउनैपर्ने अडान उनीहरुले राखेका छन्।
Shares

प्रतिक्रिया