राजनीति


पतञ्जली योगपीठले स्वीकार गर्‍यो : टीभी दर्ता भइसकेको छैन

पतञ्जली योगपीठले स्वीकार गर्‍यो : टीभी दर्ता भइसकेको छैन

नेपालखबर
मंसिर ५, २०७८ आइतबार १६:५०, काठमाडौँ

पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टीभी र आस्था नेपाल टीभी च्यानल नेपालमा दर्ता नभएको स्वीकार गरेको छ।

आइतबार विज्ञप्ति मार्फत पतञ्जली नेपालले दुई टीभी सञ्चालनका लागि अनुमति लिने प्रक्रियामा रहेको तर दर्ता भइनसकेको स्वीकार गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दर्ता नै नभएको अवस्थामा आस्था नेपाल टीभी च्यानल उद्घाटन गरेको खुलेपछि त्यसलाई ढाकछोप गर्ने प्रयास स्वरुप पतञ्जली योगपीठले आइतबार टीभी उद्घाटन नभएको विज्ञप्तीमा दाबी गरेको हो। 

आइतबार नै सरकारले पतञ्जली योगपीठको कार्यालय मण्डिखाटारमा छानबिन टोली पठाएर टीभी प्रसारणमा आए नआएको अध्ययन गरेको छ। 

योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर टेलिभिजन हालसम्म दर्ता प्रक्रियामै रहेको दाबी गरेका हुन्। उनले टीभी कम्पनी रजिस्ट्रारको कार्यालयमा प्रमाणीकरण गरेर अन्य प्रक्रिया अघि बढेको दाबी गरेका छन्। 

‘हाल टीभी प्रसारण गरिएको छैन, केवल प्राविधिक तयारीका क्रममा रहेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा श्रद्धेय विश्वविख्यात योगऋषि स्वामी रामदेव जी महाराज र श्रद्धेय आयुर्वेद शिरोमणि आचार्य वालकृष्ण जी महाराजको समुपस्थितिको महत्वपूर्ण अवसरमा शुभसाइतका लागि टीभी भवनको उद्घाटन गरिएको हो,’ पतञ्जलीले भनेको छ। 

शुक्रबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डसहित कयौँ नेताको लावा लस्करसहित नेपालमा अनुमति नलिएका पतञ्जली र आस्था नेपाल नामक टेलिभिजन च्यानलको उद्घाटन गरेका थिए।

वाल्मीकिले संचालक समितिको बैठकबाट टीभी संचालनसम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रमाणीकरण लिइएको जिकिर गरेका छन्।

पतञ्जलीले सरकारको नीति, नियम र कानुनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भएपछि मात्रै टीभी संचालन हुने जनाएको छ।

उसले आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको जनाउँदै हतारमा केही मिडियाले स्पष्ट नबुझी भ्रामक समाचार प्रकाशन गरेको पनि जिकिर गरेको छ।

याे पनि : पतञ्जलीका दुवै टीभी गैरकानुनी, इजाजतै नलिएका च्यानल प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .