राजनीति


पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी सरकारको माग

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी सरकारको माग

वाशुदेव मिश्र
मंसिर १, २०७८ बुधबार १४:३९, काठमाडौँ

गण्डकी प्रदेश सरकारले पोखरालाई देशलाई पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारसँग अनुरोध गर्ने भएको छ।

गण्डकी सरकारको कात्तिक २९ गतेको बैठकले पर्यटकीय राजधानीको मापदण्ड बनाउन प्रदेशको उद्योग पर्यटन मन्त्रालयलाई जिम्मा समेत दिएको छ। बोलीचालीमा पोखरालाई पर्यटकीय राजधानी भनिँदै आएपनि घोषणा भने हुन सकेको छैन।

‘यो हाम्रो प्रदेशको राजधानी हो, घोषणा (राजधानी) गरेरमात्रै हुने हो कि पूर्वाधार के चाहिन्छ, के गर्नुपर्छ, अधिकार र सिमा के हुन् भन्ने सबै विषय लिएर लान्छौँ’,बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले भने,  ‘पहिला के भयो भन्ने हैन,अहिले प्रदेश सरकारले नै राजधानी घोषणाको पहल गरेको हो।’

सरकारले पर्यटनको पुनरुत्थान तथा आर्थिक उत्थान गर्न दातृ निकायसँग सहकार्य गर्न सहमति दिन केन्द्र सरकारसँग आग्रहसमेत गरेको मन्त्री खड्काले जानकारी गराए। उनका अनुसार पर्यटन प्रवद्र्धनमा साझेदारी  अन्तर्राष्ट्रिय संस्थाले रुचि देखाए पनि संघ सरकारको स्वीकृति नहुँदा काम रोकिएको छ। 

डोवाटेलाई छिट्टै मन्त्रालय 
गण्डकी प्रदेशमा १२ जना मन्त्री छन्। तर, तीमध्ये असोज २६ गते मन्त्री बनाइएका डोवाटे विश्वकर्माको हातमा कुनै मन्त्रालय छैन। विना विभागीयमन्त्रीको सपथ लिएका उनले त्यसयता मुख्यमन्त्री कार्यालयमा जाने–आउने बाहेक केही काम पाएका छैनन्।

गएको साउन ८ गते मन्त्रिपरिषद् बिस्तार हुँदा अन्तिम समयमा नाम काटिएका डोवाटेमाथि न्याय गर्न मन्त्री बनाइए पनि भूमिका नदिँदा सरकारमाथि प्रश्न उठिरहेको छ।

स​रकारका प्रवक्ता खड्काले डोवाटेलाई भूमिका दिने काम मुख्यमन्त्रीको अधिकार भएको बताउँदै छिट्टै बेग्लै मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बताए। कुन मन्त्रालयको जिम्मेवारी दिने तयारी हो भन्नेबारे भने उनले खुलाएनन्।

‘दोस्रो पटक मन्त्रिपरिषद् बैठकमा केही असहज भयो, सिंगो गठबन्धनलाई समस्यामा पा¥यो दलित व्यक्तिमाथि अन्याय भयो भनेपछि उहाँ (डोवाटे) लाई मन्त्री बनाइएको हो’,उनले भने, ‘१२ औं मन्त्रीको सूत्रधार पुष्पकमल दाहाल प्रचण्ड नै हो। एउटा व्यक्तिमाथि अन्याय हुनु हुँदैन भन्ने भएपछि उहाँ मन्त्री बन्नु भएको हो।’ 

मन्त्री खड्काले संघीयता भार भयो भन्नेलाई काम गरेर उत्तर दिनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .