ad ad

अन्तर्वार्ता


दस नेताको गुट निरन्तर अगाडि बढ्नुपर्छ भन्ने छैन : रघुजी पन्त (अन्तर्वार्ता)

एमालेमा असन्तुष्टि बढेपछि एकीकृत समाजवादीतिर जाने अवसर दिनु हुँदैन
दस नेताको गुट निरन्तर अगाडि बढ्नुपर्छ भन्ने छैन : रघुजी पन्त (अन्तर्वार्ता)

नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त। तस्बिर : विक्रम राई/नेपालखबर


सागर न्यौपाने
मंसिर १, २०७८ बुधबार १५:२४, काठमाडौँ

विभाजनपछि असोजमा पहिलो पटक विधान महाधिवेशन गरेको नेकपा एमाले अहिले दसौँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। माधव नेपाल र झलनाथ खनालसहितका नेताहरु बाहिरिएपछिको अवस्थामा एमालेले दसौँ महाधिवेशन गर्न लागेको हो। 

विभाजनको अवस्थामा पनि एमालेले यसलाई एकता महाधिवेशन भनिरहेको छ। अर्कातिर तत्कालीन नेकपा खारेज भएको अवस्थामा एमालेले आफूमा त्यसको निरन्तरता रहेको दाबी गरिरहेको छ। माओवादी नेताहरु रामबहादुर थापा 'बादल'सहित एमालेमै रहेकाले उसले यो दाबी गरेको हो। केपी शर्मा ओलीसँगको अन्तरसंघर्षका क्रममा माधवकुमार नेपाललाई साथ दिएका '१० भाइ' अर्थात १० जना स्थायी कमिटी सदस्य पनि अहिले एमालेमै छन्। 

एमालेले महाधिवेशन गरिरहँदा नेता नेपालले गरेको पार्टी विभाजनमा साथ नदिएर एमालेमै फर्किएका १० जना नेताहरुको भूमिकाबारे यतिबेला अनेक प्रश्न उठिरहेका छन्। उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यसहित १० नेताहरु महाधिवेशन केन्द्रित रणनीतिमा जुटिसकेका छन्। लामो समयदेखि माधव नेपालनिकट रहेर एमालेमै बसेका एकजना नेता रघुजी पन्त पनि उपाध्यक्षमा उठ्ने तयारीमा छन्। 

एमाले स्थायी कमिटी सदस्य पन्तसहितका १० नेताहरु असार २७ गते भएको दस बुँदे सहमति पूरा कार्यान्वयन नभएको भन्दै असन्तुष्ट छन्। उपाध्यक्ष भीम रावलले त एमालेको महाधिवेशनसम्बन्धी गतिविधिमाथि वैधानिक प्रश्न नै उठाइरहेका छन्। रावलले अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिने तयारी गरिरहँदा कस्तो होला त महाधिवेशनको समीकरण? १० जनाभित्रै अधिकांश पदाधिकारीका आकांक्षी छन्। दस बुँदेका आधारमा एमालेमै बसेका उनीहरुले कसरी जोगाउलान् आफ्नो अस्तित्व? कसरी स्थापित गर्लान् आफ्नो भूमिका? यस्तो अवस्थामा दसौँ महाधिवेशनले एमालेलाई कुन दिशातिर लैजाला? यही सन्दर्भमा नेता पन्तसँग नेपालखबरले गरेको कुराकानी :

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा पार्टीको नीति, कार्यदिशा र पार्टीको कार्यक्रमबारे खासै बहस भएको सुनिँदैन। कस्तो महाधिवेशन गर्दै हुनुहुन्छ?
यो महाधिवेशन एकदमै हतारमा हुँदैछ। हाम्रो महाधिवेशनमा जसरी गाउँ तहसम्म छलफल हुनुपर्ने हो, त्यो यसपालि भएन। किनभने विशिष्ट अवस्थामा हामीले महाधिवेशन गर्दैछौँ। खासगरी पार्टीको वैधानिकताको विषयले हाम्रो महाधिवेशन छिटो गर्नुपर्ने चापमा पर्यौँ।

छिटो गर्नुपर्ने भएपछि हामीले विचार, नीति, कार्यक्रम र कार्यदिशामा राम्ररी छलफल नै गर्न पाएनौँ। मैले त महाधिवेशन सुरु भएको पहिलो स्थायी कमिटीको बैठकदेखि नै यसबारे कुरा उठाएको छु। नेकपा एमालेले पाँचौँ महाधिवेशनदेखि उठाएको जनताको बहुदलीय जनवाद कार्यक्रमका कतिपय कुरा अहिले पुराना भए र त्यसमा अपडेट आवश्यक छ। त्यसमा प्रस्तुत तथ्यांक ०४६/४७/४८ ताकाका छन्। त्यसमा गरिएका राजनीतिक विश्लेषण अहिले मिल्दैन। यस्तै कतिपय ओरिएन्टेसन पनि पुराना भए। 

भिडिओ

पाँचौँ महाधिवेशनयता २९ वर्ष बितिसकेको छ। नवौँमा आइपुग्दा हामीले ६२/०६३ को जनआन्दोलनलाई पुँजीवादी र राजनीतिक क्रान्ति भन्नेमा सहमत भयौँ। अब पुँजीवादी जनवादी क्रान्ति पूरा भयो। त्यसपछिको कार्यभार भनेको जनआन्दोलनका आर्थिक, सामाजिक लक्ष्यहरुलाई पूरा गर्दै समाजवादतिर जानुपर्ने दायित्व हामीसँग छ। यो दृष्टिकोणबाट अब हामीले कार्यक्रम परिमार्जन गर्दै समयसापेक्ष बनाएर अपडेट गर्न जरुरी छ। 

हाम्रो विधान महाधिवेशन असोजमा भयो, त्यहाँ हामीले राजनीतिक प्रतिवेदन पारित गर्यौँ। तर, नीति, कार्यक्रम र कार्यदिशामाथि छलफल नै भएन, समय पनि थिएन। मैले त अध्यक्षलाई भनेको थिएँ कार्यक्रमको ड्राफ्ट गर्न दिनुस्। बरु भ्याइँदैन भने मंसिरमा गरौँ भन्दा होइन अहिले त्यतातिर नलागौँ भन्नुभयो। ल ठीक छ त्यसो भए भनियो, अहिले पनि भ्याउने स्थिति बनेन।

तर, यही कुरा मैले स्थायी कमिटीको बैठकमा पटक पटक उठाएपछि कमिटीकै केही साथीहरुले अनौपचारिक रुपमा तपाईंले उठाएको कुरा सही छ, पार्टीका, नीति र कार्यक्रमलाई अपडेट गर्नुपर्छ, छलफल हुनुपर्छ भन्नुभयो।

यसको अर्थ महाधिवेशनमा लैजाने नयाँ कार्यक्रम नै छैन त?
कार्यक्रम अहिलेसम्म बनेको छैन तर, महाधिवेशनमा ल्याएर राष्ट्रिय परिषद्को बैठक राखेर अगाडि सार्न सकिन्छ। केन्द्रीय कमिटीको बैठकमा पनि एउटा ड्राफ्ट पारित गरेर जाने अनि आउने महाधिवेशनले पारित गर्न सकिन्छ।

तर, पहिले कार्यक्रम त बनाउनु पर्यो नि! पार्टीका सिंगो कार्यकर्तालाई आह्वान कस्तो कार्यक्रम अगाडि बढाउने भनेर देशव्यापी बहस चलाइदिए भयो। त्यही बहस सुनेर केन्द्रीय कमिटीले ड्राफ्ट तयार पारेर पेस गर्दा हुन्छ। 

एमालेमा सैद्धान्तिक बहस, छलफल हुन छाडेको हो?
सैद्धान्तिक रुपमा हाम्रो पार्टीमा छलफल नभएको साँचो हो। नेकपा हुँदै झलनाथ खनाल कमरेडले जबजको उपादेयता सकिएको बताउनुभएको थियो। हाम्रै घनश्याम भुसालजीले पनि जबजको 'च्याप्टर क्लोज' भएको भन्नुभएकै हो। उहाँले त लेख नै लेख्नुभएको छ।

तर, मलाई के लाग्छ भने जबजको च्याप्टर क्लोज भएको होइन, त्यसलाई अपडेट गरेर, सैद्धान्तिक रुपले थप परिमार्जन गरेर थप व्याख्या गर्नुपर्नेछ। किनभने हामी तत्कालै समाजवादमा जान सक्दैनौँ। त्यहाँ जानसक्ने हाम्रो अवस्था नै छैन। त्यसैले समाजवाद हाम्रो लक्ष्य हो। तर, जबजले अगाडि सारेका राजनीतिक लक्ष्य पुराना भए। अब हामीले गर्ने भनेको समाजवाद उन्मुख कार्यक्रमहरु लिएर जाने हो। राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग धन्दालाई विकसित गर्ने लक्ष्य र कार्यक्रम हामीलाई चाहियो। 

अहिलेको चरण भनेको राष्ट्रिय पुँजीको विकासको चरण हो। समाजवादको मोडल पनि रुस, क्युबा, चीन वा भियतनामले अपनाएको जस्तो जस्ताको त्यस्तै हुन सक्दैन। तिनले गरेका कतिपय प्रयोग हाम्रा लागि उदाहरणीय हुन सक्छन्। त्यसलाई रचनात्मक रुपमा बुझ्न, सिक्न सक्छौँ। तर, हामीले आफ्नो कार्यक्रम आफैँ बनाउनुपर्छ। उत्तर कोरियाको मोडेल के काम? त्यसले कसैलाई आकर्षण गर्दैन, भेनजुएलाको मोडल पनि हामीलाई काम छैन, त्यहाँको र यहाँको वातावरणदेखि धेरै कुरामा फरक छ।

नेपालको समाजवाद कस्तो हुनुपर्छ? यसका सामाजिक, आर्थिक मूल्य र मान्यता के हुन्छ अब यतातिर बहस हुनुपर्छ। त्यसैले हाम्रो एमालेको कार्यक्रम परिमार्जन गर्न अत्यन्त जरुरी भइसक्यो। 

एमालेको यो महाधिवेशन प्राविधिकजस्तो भएको हो?
हो। यसपालिको त त्यस्तै भयो। हामीले थुप्रै विषयमा छलफल गर्यौँ। पाँचौँदेखिको जुन अभ्यास थियो, त्यसलाई निषेध गर्नु भएन भनेर मैले नै बैठकमा उठाएँ।

दुईचार दिन भए पनि साथीहरुलाई पढ्न दिन महाधिवेशनको समय केही पर सारिएको हो। कम्तीमा गाउँगाउँ प्रतिवेदन पुगेर प्रतिनिधिले पढेर र आउन पाऊन्। तर, केही साथीहरुले प्रतिवेदन नै नपाएको गुनासो गर्नुभएको छ। कतिपय साथीहरुले भन्नुभयो– जिल्लामा पढ्न भ्याइएन कमरेड, यहाँ आएर (विधान महाधिवेशन) सुनियो त्यसकै आधारमा छलफल गरियो र सुझाव दिइयो। 

अलि समय दिएर छलफल गर्ने हाम्रो पहिलाको जुन परिपाटी थियो, त्यो यसपालि भएन। तैपनि हाम्रा अगाडि जे समस्या छन्, जे चुनौती छन्, तिनीहरूमाथि छलफलबिना समाधानमा पुग्न सकिँदैन। महाधिवेशन सकिएपछि पनि पार्टीका कतिपय विचार, नीति, ओरिएन्टेसनबारे छलफल गर्न जरुरी छ। खासगरी एमालेमै रहेका र बाहिर गएका केही नेताहरुले जबजबारे दिनुभएको धारणा लगायतका कन्फ्युजन हल गर्नुपर्छ।

विधान महाधिवेशनदेखि प्रतिनिधि छनोटसम्मको अवस्था हेर्दा अध्यक्ष ओली यी कुरामा गम्भीर हुनुहुन्छ त?
त्यही भएर त मैले अध्यक्षलाई भेटेर भनेँ, कार्यक्रममा व्यापक परिमार्जन जरुरी छ, ठीक छ महाधिवेशनमा भ्याइएन तर पछि त गर्नैपर्छ। मेरा विचार म राख्छु, पार्टीले फोरम देओस्।

पाँचौँ महाधिवेशनदेखि नै तपाईं कुनै न कुनै रुपमा पार्टीको कार्यक्रम र विचार निर्माण गर्ने समितिमा हुनुहुन्थ्यो। तर, दसौँ महाधिवेशनमा आइपुग्दा भूमिकाविहीन हुनुभयो होइन?
तपाईंले भनेजस्तै पाँचौँ महाधिवेशनदेखि मलगायत केही साथीहरु पार्टीको नीति, कार्यक्रम र विचार निर्माणमा लागेका थियौँ। 

पाँचौँमा मदन भण्डारीले मूलतः प्रतिवेदन लेख्नुभयो तर, मसँग पनि राय लिनुभयो। त्यसबेला मदन कमरेडलाई मैले दिएको सुझावको कपी मसँग अहिले पनि सुरक्षित छ।

उहाँ त्यो बेला नक्सालमा बस्नुहुन्थ्यो, भेटेर मैले मेरा सुझाव दिएको थिएँ। अहिले राष्ट्रपति हुनुहुन्छ विद्यादेवी भण्डारी, उहाँलाई पनि थाहा छ, उहाँकै अगाडि पनि छलफल भएका थिए। 

तर, छैठौँदेखि त म टिममै सामेल भएँ। सातौँमा हामीले तीन दिन बसेर मोटामोटी प्रतिवेदन तयार गरेका थियौँ, सोमप्रसाद पाण्डेको घरमा। त्यहाँ माधवकुमार नेपाल, ईश्वर पोखरेल, युवराज ज्ञवाली, म, विष्णु पौडेल र भीम रावलको टिम थियो। 

हामीले मोटामोटी ड्राफ्ट तयार गर्यौँ। त्यसपछि परिमार्जन गर्ने, लेख्ने, कम्पायल गर्ने, एडिट गर्ने सबै काम उहाँहरुले मलाई दिनुभयो र मैले त्यो काम सम्पन्न गरेर माधव नेपाललाई बुझाएँ। त्यसपछि उहाँले विभिन्न स्थायी कमिटीका सदस्यहरुको राय लिएर त्यसलाई थप परिमार्जन गर्ने, कम्पायल गर्ने काम पनि मलाई दिनुभयो।

आठौँमा बीचमा उहाँ (माधव नेपाल)ले राजीनामा गर्नुभयो। अनि झलनाथजी महासचिव हुनुभयो। उहाँले महासचिवको रुपमा आठौँको प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यो काममा पनि मैले उहाँलाई सहयोग गरेँ। उहाँकै घरमा बसेर धेरै सच्याउने, थप्ने कामहरु गरियो। त्यो बेलामा कम्प्युटरमा सबै सघाउने उहाँको पीए रामबाबुजी हुनुहुन्थ्यो। उहाँलाई यसबारे सबै थाहा छ। 

नवौँमा एउटा टिमै बन्यो। नयाँ बहस आयो– नेपाली समाजको प्रमुख अन्तर्विरोध सामन्तवादसँग छ कि छैन भन्ने प्रश्न उठ्यो। सामन्तवादसँग प्रमुख अन्तर्विरोध छैन भन्ने मेरो निष्कर्ष थियो। मेरो कुरा भीम रावलले पनि मान्नुभयो। हामी दुई जनाले के भन्यौँ भने सामन्तवादसँग अहिले प्रधान अन्तर्विरोध छैन। तर नेपालको पुँजीवादको विकासको अवस्था चाहिँ कस्तो छ त? के नेपाल युरोप, अमेरिकाजस्तो विकसित पुँजीवादी देश हो त? त्यो त होइन, त्यसैले नेपालको पुँजीवादको विकास कहाँ छ त भन्दा त्यो अहिले प्रारम्भिक चरणमै छ। त्यसैले यो कुरा ‘आइडेन्टिफाइ’ गरौँ है! त्यसैले यो शब्द प्रारम्भिक अवस्थामा छ भन्ने शब्द नवौँको प्रतिवेदन हेर्नुभयो भने हामीले चयन गरेको शब्द हो। त्यसलाई झलनाथ खनालले पनि मान्नुभयो। 

त्यसबेला १२/१५ जनाको मस्यौदा समितिको राय लियौँ र ड्राफ्ट गर्न बस्यौँ। त्यो प्रतिवेदनमा फाइनल गर्ने बेलामा हामी पाँच जना बस्यौँ। म, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, घनश्याम भुसाल र विजय पौडेल हामी पाँच जना झलनाथ खनालको घरमा छलफल गर्यौँ। अन्तिममा यो मिलाएर थप्नुस् तपाईंले भनेर उहाँहरु मलाई एडिट गर्ने जिम्मा दिएर जानुभयो। राति ११ बजे मैले बुझाएको समय र मिति पनि लेखेर राखेको कपी मसँग छ। 

तर, हामीले सहयोगी भूमिका मात्रै खेलेको हो। लिड गर्ने काम छैटौँ, सातौँमा माधव नेपाल र आठौँ, नवौँमा झलनाथ खनालले गर्नुभयो। 

दसौँ महाधिवेशनमा भने नेकपा विभाजनपछि पार्टीको द्वन्द्वमा हामी एकपक्षीय जस्तो गरेर देखा पर्यौँ। त्यो प्रतिवेदन को को साथीहरुले तयार गर्नुभयो, त्यो मलाई थाहा छैन। तर त्यो त अध्यक्षको प्रतिवेदन हो– राजनीतिक प्रतिवेदन। त्यसमा हामीले स्थायी कमिटीको बैठकमा त्यसका एकएक शब्दमा छलफल गर्यौँ। त्यसमा अनेक परिमार्जन भए। तर, अझै पनि त्यसमाथि छलफल गर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ।

त्यसमा के परिवर्तन गर्न चाहनुहुन्छ त तपाईं?
हामीले जनताको बहुदलीय जनवादलाई समाजवादको दिशातर्फ कसरी लैजान्छौँ, कुन तरिकाले लैजान्छौँ, समाजवाद निर्माणमा अब जनताको बहुदलीय जनवादको भूमिका के हो, यी विषयहरु प्रतिवेदनमा परेका छैनन्। मेरो मान्यता के छ भने समाजवादको कार्यक्रममा जाँदा पनि हामीले बहुदलीयता छाड्दैनौँ भने जबज कि छाड्नु पर्यो?

जस्तो, चिनियाँ कम्युनिस्ट पार्टीले माओ त्सेतुङको विचारधाराभन्दा धेरै कुरा भन्छ नि। तर पनि यो एउटा कालखण्डको भनेर माओ त्सेतुङको विचारधारालाई अस्वीकार गर्दैन। त्यस्तै, पुष्पलालको एउटा नीति अहिले प्रासङ्गिक छैन। तर, उनको अर्को नीति भोलि प्रासङ्गिक बन्न सक्छ। ०४६ सालको जनआन्दोलनमा पुष्पलालको संयुक्त जनआन्दोलनको नीति नै मुख्य नीति भयो। त्यो आधारमा कांग्रेस, कम्युनिस्ट र अरु लोकतान्त्रिक शक्तिहरु मिलेर आन्दोलन सफल भयो। नेतृत्वदायी व्यक्ति मूलतः गणेशमानजी हुनुभयो, वामपन्थीहरुसहित। तर विचार कसको? पुष्पलालको भयो। 

०६२/६३ मा फेरि त्यो नीति कार्यान्वयन भयो। संयुक्त जनआन्दोलनको मान्यतामा आधारित भएर फेरि माओवादी, कांग्रेस, एमाले, मधेसका दलहरु सबै मिलेर लोकतन्त्र ल्याइयो, नयाँ संविधान बनाइयो। पुष्पलालले सारेको संयुक्त जनआन्दोलनको नीतिले नेपालका दुईवटा महत्वपूर्ण राजनीतिक परिवर्तनहरुलाई नेतृत्व गर्यो। 

त्यसैले समाजवादमा जान जबजको भूमिका, औचित्य के हुन्छ, यस्ता कुराहरुलाई व्याख्या, परिभाषा र संश्लेषण गर्नुपर्ने आवश्यकता छ। जुन हामीले गर्न बाँकी छ। 

नेकपा गठन, पूर्व माओवादी नेताहरुको प्रवेश र माधव नेपालसँगको फुटपछिको महाधिवेशनबारे दुइटा कुरा सुनिएका छन्। कसैले यसलाई एकता महाधिवेशन भन्दैछन्,  कसैले एमालेकै निरन्तरता भन्दैछन्। तपाईं के भन्नुहुन्छ?
यो नेकपा एमालेको दसौँ महाधिवेशन हो। हामी एमालेबाहिर कहिले पनि छैनौँ। तर एकता प्रक्रियामा माओवादी तर्फबाट आउनुभएका केही नेता कमरेडहरु हामीसँग हुनुहुन्छ। कार्यकर्ता साथीहरु हुनुहुन्छ। नेकपा एमाले विभिन्न धाराहरुलाई एकीकृत गर्दै अगाडि बढेको पार्टी हो। यो नेपाल कम्युनिस्ट पार्टीको मूलप्रवाह हो। यो एकता प्रक्रिया भोलि पनि चल्छ। 

नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरणको नेतृत्व कसले गर्छ? प्रचण्डजीले गर्नुहुन्छ कि, प्रचण्डजीको नेकपा माओवादीले गर्छ कि, फुटेर नयाँ पार्टी बनाउनुभएको माधव नेपाल, झलनाथले नेतृत्व गर्नुभएको नेकपा एकीकृत समाजवादी पार्टीले गर्छ वा नेकपा एमालेले गर्छ? त्यो नेकपा एमालेले गर्नुपर्छ किनभने एकीकरण र एकताको प्रक्रिया र त्यसको स्पिरिटलाई अगाडि बढाउने शक्ति नेकपा एमाले हो। 

त्यसअर्थमा नेकपा एमालेको नेतृत्व फराकिलो हुने गर्छ। किनभने माधवजीको भर्खर पार्टी बनेको छ। त्यसले एकताको नेतृत्व गर्न सक्दैन। प्रचण्डजीले एकताको नेतृत्व गर्नै सक्नुहुन्न भन्ने देखियो। किनभने उहाँको पार्टी पटकपटक फुटेर अहिले एउटा उहाँको नेतृत्वमा, अर्को मोहन वैद्य र सीपी गजुरेलको, अर्को नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा छ। अरु साना–साना थुप्रै समूह छन् फुटेर बनेका। त्यसैले उहाँले त सबैभन्दा पहिला त पूर्वमाओवादीहरुलाई एकीकरण गरेर देखाउँदा हुन्छ। उहाँले त्यो पनि गर्नुभएको छैन। 

त्यसैले नेपालको वामपन्थी आन्दोलनलाई एकीकरण गर्ने त्यसलाई एकीकृत गर्ने कार्यको नेतृत्व गर्ने शक्ति नेकपा एमाले नै हो। त्यसैले नेकपा एमालेको मुख्य नेतृत्वले यो वामपन्थी आन्दोलनलाई एकीकरण गर्ने, त्यसलाई नेतृत्व गर्ने लक्ष्यलाई ध्यानमा राखेर फराकिलो छाती बनाउनैपर्छ। दूरदर्शी हुनैपर्छ। त्यसको विकल्प छैन। 

पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्छ भन्ने तपाईंहरु १० नेतालाई जुन व्यवहार गरियो, त्यसका आधारमा अहिलेको नेतृत्वले फराकिलो छाती बनाउला?
अब अहिले हामी सबै परीक्षामा छौँ। हामीले पार्टी विभाजनमा जान अस्वीकार गर्यौँ। माधव कमरेडलाई नि मैले बारम्बार हात नै जोडेर रिक्वेस्ट गरेको, विभाजनमा नजाऔँ भनेर। र, धेरै कुरा उहाँसँग मिल्दामिल्दै पनि म विभाजनको कुरामा उहाँसँग सहमत हुन सकिनँ। 

मेरो स्पष्ट भनाइ के छ भने अहिले पनि सबैले देखिसकेका छन्– हामी पेलाइमै छौँ। तर, यो पेलाइलाई हामीले किन सहिरहेका छौँ भने हाम्रो एउटा फराकिलो उदेश्य छ। यो देश र जनताको लागि हो। यो कम्युनिस्ट आन्दोलन विभाजित नहोस् भनेर हो। हामीले बुद्धि पुर्याएनौँ भने नेपालको वामपन्थी आन्दोलन निरन्तर विभाजनमा जानसक्छ है। मान्छेहरु राजनीतिक बँधुवा भएर बस्न सक्दैनन्। मान्छे राजनीतिमा आनन्दले उल्लसित भएर काम गर्न चाहन्छ। त्यो मौका हामीले दिनुपर्छ। पार्टीभित्र एउटा गम्भीरतापूर्वक हामीले विचारविमर्श र छलफल लोकतान्त्रिक ढंगले गर्नुपर्छ। 

हामी नेपालका वामपन्थीहरु वामपन्थी मात्रै होइनौँ। हामी नेपालको लोकतान्त्रिक आन्दोलनका पनि अगुवा हौँ र त्यो अगुवा पनि नेकपा एमाले हो। नेपालमा बहुदलीयतालाई स्थापित गर्ने भूमिका मैले खेलेँ भनेर प्रचण्डले भन्न सक्नुहुन्छ? सक्नुहुन्न नि! तर हामी सक्छौँ। छाती ठोकेर भन्छौँ। पुष्पलालले सुरु गर्नुभएको थियो। पुष्पलाल त कति उदार हुनुहुन्थ्यो भने कांग्रेसले हिम्मत गरेन ०१७ सालमा संसद् विघटनविरुद्ध बोल्न। त्यो बेला पुष्पलालको पार्टीमा जम्मा चार जना सांसद थिए। दुई तिहाइ बहुमत कांग्रेसको थियो। तर, राजाले बलजफ्ति अवैधानिक ढंगले संसद् विघटन गरेको हुनाले त्यही संसद् पुनस्थापना हुनुपर्छ भनेर पुष्पलालले भन्नुभयो। त्यसरी पुष्पलालले सुरु गर्नुभएको संसदीय परम्पराको महत्व र प्रतिबद्धतालाई मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत एउटा उचाइमा पुर्याउनुभयो। 

अहिले चयन भएका महाधिवेशन प्रतिनिधि हेर्दा तपाईंहरुको योगदानको कदर गर्ने संख्या आएको देख्नुहुन्छ? 
छैन। कतिपय ठाउँहरुमा जसरी चयन गरिएको छ, सर्वसम्मतिको नाममा जे लादिएको छ, साथीहरुले असन्तुष्टि जनाउनुभएको छ। त्यो ठीक भएको छैन। म स्थान विशेषमा जान चाहन्नँ तर, देशका केही स्थानमा जसरी प्रतिनिधि चयनमा जे जस्ता गतिविधि भएका समाचार सार्वजनिक भए, त्यो राम्रो भएन।

सर्वसम्मत त हाम्रो पार्टीको पहिलेदेखिकै परम्परा हो तर सर्वसम्मत साँचो अर्थमा हुनुपर्छ। खुसीराजीका साथ हुनुपर्छ। उम्मेदवारहरूले छान्ने गरी सर्वसम्मत हुनुपर्छ। बलजफ्ति लादिएको सर्वसम्मति टिकाउ हुँदैन।

पाँचौँ छैटौँ, सातौँ, आठौँ महाधिवेशनमा प्रतिनिधि चयनमा प्रश्न उठेन। नवौँमा हामीले जसरी गर्यौँ, त्यसरी गराएको भएपनि बिग्रने थिएन। मैले त त्यसैगरी हुन्छ भन्ने बुझेको थिएँ। 

निर्वाचनमा प्यानलै उठाएर जाने हामीले जे अभ्यास गर्यौँ, त्यही त होइन पार्टीलाई विभाजनमा लैजाने कारण होइन भन्ने प्रश्न पनि उठेको छ। अहिलेको विभाजित अवस्थामा पार्टीको महाधिवेशन सर्वसम्मत होस् भन्ने चाहना र प्रयत्न राम्रो हो। तर, अब कति समेटिन्छ? तल जसरी असन्तुष्टि चुलियो, त्यसैगरी दसौँ राष्ट्रिय महाधिवेशन भयो भने त त्यसले झन् असन्तुष्टि बढाउँछ। कतिपय साथीहरुलाई त विकल्प भएको छ– ‘यता असन्तुष्टि बढेपछि एकीकृत समाजवादीतिर जाने।’ त्यस्तो अवसर हामीले दिनु हुँदैन। 

मैले त अध्यक्षलाई भेटेरै भनेँ– हामी दस जना मात्र होइन, हामीसँग थुप्रै केन्द्रीय कमिटीका साथीहरु, तलका कार्यकर्ता पार्टी विभाजन जाँदैनौं भनेर बस्नुभएको छ। त्यसैले पार्टी विभाजनमा नगएका केन्द्रीय सदस्य र केन्द्रीय सदस्य हुन योग्य सबै साथीहरुलाई समेट्नुपर्छ। त्यो समेट्ने कामको अगुवाई अध्यक्षले गर्नुपर्छ। त्यही भएर मैले अध्यक्षलाई भनेको, साँचो अर्थमा गुटबन्दी अन्त्य गर्ने हो भने मान्छेको योग्यता, क्षमता अनुसार पार्टीमा जिम्मेवारी पाउने अवस्था त हुनुपर्यो। त्यो अवस्था तलैसम्म अनुभूत हुनुपर्यो।

त्यो भयो भने पार्टी बलियो हुन्छ अगाडि बढ्छ। पार्टीका निर्णायक नेताका हैसियतमा अध्यक्षले, पार्टी महासचिवले, अरु प्रमुख पदाधिकारी साथीहरुले त्यसका लागि पहल गर्नुपर्यो।

अहिले तपाईंहरुमाथि निषेधको राजनीति भयो भन्न खोज्नुभएको हो?
निषेधको राजनीति भएको छ। सुदूरपश्चिम, लुम्बिनी र देशका अरु पनि स्थानमा हामीमाथि निषेधको राजनीति भयो। सुदूरपश्चिममा त विवादै छ, अन्य केही स्थानमा पनि विवाद छ। नेकपा एमालेमा त्यस्तो नहुनुपर्थ्यो यो कुरा कसरी समाधान गर्ने, हाम्रो पनि दायित्व र भूमिका त होला तर बढी अध्यक्षको छ। राम्रैसँग समाधान होस् भनेर हामी उहाँलाई सहयोग गर्न तयार छौँ। हाम्रो सहयोग लिने/नलिने अध्यक्षको इच्छामा भर पर्छ।

अहिलेकै आधारमा एमालेको १५ जनाको पदाधिकारी कस्तो हुने देख्नुहुन्छ?
मैले यसबारेमा अध्यक्षलाई भनेको छु, पदाधिकारी टिम बढाउनुस्। त्यहाँभित्र दस नेताहरु पनि समेटिनुपर्यो। म पदाधिकारी हुन अयोग्य छैन। म उपाध्यक्ष उठ्छु होला। तपाईं अध्यक्ष भएको हुनाले तपाईंलाई जानकारी दिएको हुँ, मेरो उपाध्यक्षमा उठ्ने इच्छा छ। त्यस्तै कतिपय साथीहरुले पनि पदाधिकारीमै उठ्ने इच्छा व्यक्त गर्नुभएको छ।

अब यी सबैलाई कसरी संयोजन गर्ने? विधानमा पनि हाम्रो स्थिरता भएन। उपाध्यक्षको संख्या कहिले बढ्छ, कहिले उपमहासचिव घट्छ। तर, सबैलाई समेट्ने चाहना हो भने आउने महाधिवेशनबाट पनि संख्या घटबढ गर्न सकिन्छ। अहिलेको अवस्थामा त्यो अत्यन्त आवश्यक छ।

हामीले ध्यान नदिएकै कारणले आइसकेका साथीहरु पनि जानुभयो अर्काे पार्टीमा। अध्यक्षले छलफल गरेरै दस बुँदे सहमतिको स्वामित्व लिन्छु, लागू गर्छु भन्नुभएकै हो, केन्द्रीय कमिटीले ‘ओन’ गरेको भन्नुभयो, अपानि जारी गर्नुभयो। त्यही भएर मैले सकेसम्म कार्यान्वयन गर्नुस् भनेको छु।

तपाईंले दस नेताको कुरा निकाल्नुभयो। तर, दस जनामै विभाजन देखियो नि!
नेपालीमा एउटा उखान छ– कुण्ड कुण्ड पानी मुण्ड-मुण्ड बुद्धि। एउटै आमाबाबुले जन्माएको सन्तान त उस्तै उस्तै हुँदैनन्, उनीहरुको फरक विचार हुन्छ। हामी सबैको स्वभाव, विचार, कार्यशैली उस्तै छैन। हिजो पार्टीको अन्तरविरोधमा, पार्टीको अन्तरसंघर्षमा हामी पार्टी एकताको पक्षमा उभियौँ। तर, त्यो दस जनाको गुट निरन्तर अगाडि बढ्नुपर्छ भन्ने पनि छैन।

मलाई यो दस भाइ भन्ने शब्द पनि त्यति उपयुक्त लाग्दैन। विभाजनमा जान नचाहेर एमालेमै बस्छौँ भन्ने हामी दस मात्र होइन, हजारौँ छन्। हामी दसजना नबसेको भएपनि अन्य साथीहरु बस्थे। यो पार्टी त हामी सबैको साझा हो। तर, दस जनामध्ये केही साथीहरुको इच्छा, चाहना फरक होला। यी सबैको इच्छा चाहनालाई अध्यक्षले सुन्नुपर्छ। मैले सबैले सुन्ने गरी स्थायी कमिटीको बैठकमा भनेँ– तपाईंले सबै स्थायी कमिटीका सदस्यलाई एक्लै भेट्नुस्। यिनीहरूको क्षमता, इतिहास, ल्याकत, सम्पादन गरेको कार्यशैली, जिम्मेवारी, सैद्धान्तिक, वैचारिक योग्यता, सांगठनिक क्षमताको आधारमा उनीहरुको कुरा सुन्नुस्। आकांक्षा सुन्नुस्। जायज हो भने पुरा गर्नुस्, नाजायज हो भने भन्नुपर्यो।

म उपाध्यक्षमा आकांक्षी छु र डिजर्भ गर्छु भनेँ। म नेकपा माले बन्नुअघि कोअर्डिनेसन केन्द्रदेखिको पार्टी सदस्य हुँ। छैटौँ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छु।  दिएको जिम्मेवारीमा रघु पन्त चुक्यो भनेर कसैले भन्ने ठाउँ राखेको छैन। म डिजर्भ गर्छु भनेर उपाध्यक्षको आकांक्षा राखेँ। डिजर्भ गरेर आकांक्षा राख्ने छन् भने पदाधिकारी संख्यालाई तलमाथि गरेर भएपनि सबैलाई समेट्नु राम्रो हुन्छ। 

पार्टीमा जेठ २ को अवस्था लागू गर्ने सन्दर्भमा कसैलाई काखा, कसैलाई पाखा गरियो। त्यही कारण दस नेता फुटे भनिन्छ। तपाईंहरुलाई फुटाएर कसले राज गर्दैछ एमालेमा? 
म अनुमानको भरमा केही भन्न सक्दिनँ।

मैले अध्यक्षलाई भनेको के हो भने तपाईं पार्टीको नेता हो। माधव कमरेड विभाजनमा गइसकेपछि हामी तपाईंलाई नै नेता मानेर एकताबद्ध पार्न यही पार्टीमा बसेका हौँ। त्यसैले भूमिका तपाईंको हो, तपाईं न्याय गर्नुहुन्छ कि गर्नुहुन्न, यो तपाईँमाथि भर पर्छ। त्यसरी आएका सबै साथीहरुलाई कसैलाई पनि पक्षपात गर्नुभएन। उनीहरुको ल्याकत, योग्यता, क्षमता, इतिहास र भूमिका अनुसारको दायित्व उनीहरुले पाउनुपर्यो। पार्टीलाई बलियो बनाउन हामी नयाँनयाँ मानिसलाई प्रवेश गराउँदै हिँड्ने, अनि यही पार्टीमा वर्षाैँ जिन्दगी बिताएका नेतालाई अपहेलित गरेर, घोचपेच गरेर बाहिर जान बाध्य पार्यौँ भने हामीले पार्टी कसरी बलियो बनाउन सक्छौँ? 

म प्रष्ट भन्छु, टीका लगाएर मान्छे भित्र्याउँदैमा यो पार्टी बलियो हुँदैन। पहिला पार्टी बनाउने मानिसलाई एकताबद्ध गर्नुपर्छ। अनि हामीभन्दा बाहिर पनि वामपन्थी आन्दोलनमा लागेर योगदान गरेका साथीहरु हुनुहुन्छ। रामबहादुर थापा बादल, उहाँको आफ्नो इतिहास छ, त्यसलाई हामीले कदर गर्नुपर्छ। त्यस्तै योगदान भएका अरु साथीहरुलाई पनि हामीले उचित स्थान दिनुपर्छ। माओवादी आन्दोलनबाट आउनुभएका अन्य साथीहरुलाई पनि समेटेर जानुपर्छ। त्यसो गर्दा मन परेको र नपरेको देखिनुभएन, न्याय देखिनुपर्यो।  देखिएन भने के हुन्छ? सर्वाेच्च अदालतबाट दिएको न्याय त चित्त नबुझ्दा प्रधानन्यायाधीश यति विवादमा परेका छन् भने हामी त राजनीति गर्ने व्यक्ति हौँ, जुनसुकै बेलामा विवादमा पर्छौँ। हामीमाथि प्रश्न उठ्छ।

त्यस्तो प्रश्न उठ्न थाल्यो, साथीहरु चित्त दुखाएर बस्नुपर्ने भयो भने विकल्प खोज्छन्। त्यसो गर्दा पार्टीलाई घाटा हुन्छ नि। पार्टीको पुँजी भनेको कार्यकर्ता हो, यिनलाई जोगाउने काम पार्टी नेतृत्वको हो। कार्यकर्ताको परिचालन राम्रो भए मात्र शासन गर्ने स्थानमा पुग्न सकिन्छ। ती कार्यकर्ताको चित्त दुखाएर, लाखापाखा राखेर पार्टी बन्दैन। त्यसैले नेकपा एमालेका अगाडि धेरै चुनौती र सम्भावनाहरू छन्।

अन्त्यमा, नयाँ पार्टी गठन गर्नुभएका माधवकुमार नेपालसँग कतिको भेटघाट हुन्छ? 
माधव नेपाल, झलनाथ खनाल कमरेडहरूप्रति मेरो सम्मान छ। माधव कमरेडले मलाई आफूपछिको नेता बन्नु, महासचिव बन्नु, नेतृत्व गर्नू। सम्हाल्नुस्, अगाडि बढ्नुस्, तपाईंको लागि जे गर्न पनि म तयार छु भन्नुभएको थियो। त्यसैले मैले उहाँसँग गुनासो गर्ने ठाउँ छैन। बरु उहाँले मसँग गुनासो गर्ने ठाउँ होला व्यक्तिगत रुपमा। म त्यो कुरा स्वीकार्छु।

तर, मैले बृहत् हितलाई हेरेँ। नेकपा एमाले कमजोर भयो भने कम्युनिस्ट आन्दोलनमात्र कमजोर हुँदैन, नेपालको लोकतान्त्रिक आन्दोलन पनि कमजोर हुन्छ भनेर एमालेमै बसेको हुँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .