राजनीति


शशांक कोइराला कांग्रेस सभापतिको दौडबाट बाहिरिएका हुन्?

शशांक कोइराला कांग्रेस सभापतिको दौडबाट बाहिरिएका हुन्?

फाइल तस्बिर


केशव सावद
मंसिर १, २०७८ बुधबार १३:१, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर समूह आसन्न महाधिवेशनबाट पार्टीको नेतृत्व लिन संघर्षरत छ। 

इतर समूहका नेताहरु मंसिर चौथो साता हुन लागेको १४ औँ महाधिवेशनमा एकमात्र उम्मेदवार बनाउन लागिपरेको छ। 

अहिले इतर समूहमा चार नेता सभापति पदको दौडमा देखिएका छन्। उनीहरु विभिन्न सार्वजनिक समारोहमा आफू बलियो भएको दाबी गर्दै आएका छन्। 

तर पनि आकांक्षीहरुबीच सहमतिमा साझा उम्मेदवार उठाउने कुरा पनि बताइरहेका छन्। 

इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी हुन्। 

यद्यपि, पछिल्लो समय नेता सिंहबाहेकका आकांक्षीहरु आफू मात्रै उम्मेदवार भए प्रधानमन्त्री शेरबहादुर देउवालाई नेतृत्वमा दोहोरिनबाट रोक्न सक्ने दाबीलाई मत्थर पार्दै आएका छन्। 

भिडियो

कात्तिक २६ गते बत्तीसपुतलीमा भएको यो समूहको भेलामा वरिष्ठ नेता पौडेलले आफ्नो दाबीबारे कडा अडान नरहेको अभिव्यक्ति दिएका थिए। 

भेलापछि महामन्त्री डा. कोइरालाले भनेका थिए, ‘उहाँ (रामचन्द्र पौडेल) ले हामी चारजना छौँ। चारजना एकै ठाउँमा बसेर कुरा गरौँ भन्नु भएको छ। उहाँले आफ्नो दाबीबारे त्यस्तो कडा अडान नरहेको बताउनुभयो।’

देउवालाई पराजित गर्न सक्ने आफू मात्रै भएको दाबी गर्दै महामन्त्री डा. कोइरालाले पनि पछिल्लो समय दाबीबारेको अडानलाई परिवर्तन गरेका छन्। उनले आफू पार्टी नेतृत्व आफ्नो समूहमा ल्याउने विषयमा बाधक नहुने अभिव्यक्ति दिन थालेका छन्। 

‘मैले भनिहाले म बाधक हुन्नँ। बरु म मिलाउने, जसले जित्न सक्छ, त्यो काम गर्न चाहन्छु,’ सोमबार सर्लाहीको हरिवनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने। 

भेलामा डा. कोइरालाले इतर समूहबाट केन्द्रीय सदस्य डा. कोइराला साझा उम्मेदवार हुन सक्नेसमेत संकेत गरे। 

‘चौथो, हो शेखर दाइ। उहाँ पनि लागिरहनुभा'छ, भिडिरहनुभा’छ, गरिरहनुभा’छ। मैले भनिहाले उहाँ र मैले मिलेर जानुपर्छ भन्ने तपाईंहरुको भावना हो, त्यो म भावनालाई कदर गर्छु, त्यसलाई म सम्मान गर्छु,’ उनले इतर समूहका आकांक्षीबारे कार्यकर्तालाई भने, ‘र शेखर दाइसँग कुरा हुन सक्या छैन। म काठमाडौं जानेबित्तिकै कुरा उहाँसँग राख्छु। उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्नुपर्यो । मलाई त गरिहाल्नुहुन्छ, उहाँले। नत्र मैले उहाँलाई कन्भिन्स गर्नुपर्छ।’ 

महामन्त्री डा. कोइरालाले कांग्रेसमा छुट्टै समूह बनाएर अगाडि बढेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो समूहमा ल्याउन सके प्रधानमन्त्री देउवा सभापतिमा पराजित हुनेसमेत दाबी गरे। 

‘रामचन्द्रजी त एकपटक लडिसक्नु भएको छ, दोस्रो हो, सिटौलाजी। सिटौलालाई हामीतर्फ तान्नुपर्यो। किन भने सिटौलाजीसँग धेरै मान्छेको आशा छ। उहाँलाई हामीसँग तानेर एउटै उम्मेदवार बनायौं भने शेरबहादुरजी हार्नुहुन्छ,’ डा. कोइरालाले भने। 

भिडियो

उनले इतर समूहका अर्का आकांक्षी सिंह काठमाडौंमै खुम्चिएर बसेकाले सभापतिका लागि उचित उम्मेदवार हुन नसक्ने समेत ठोकुवा गरे। 

‘तेस्रो कुरो के हो भने प्रकाशमान सिंह, प्रकाशमान सिंहलाई भन्दा मलाई नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै बस्नुभा’छ,’ कोइरालाले भने, ‘बाहिर टेक्नेबित्तिकै प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरुले। हुन त उहाँ महामन्त्री हुनुभयो। तर, मान्छेहरूसँगको उहाँको आत्मियता म देख्दिनँ।’

महामन्त्री डा. कोइरालाले १४ औँ महाधिवेशनपछि कांग्रेस अत्यन्त बलियो भएर जानेसमेत जिकिर गरे। ‘हरेक ठाउँमा उत्साह छ, कांग्रेसलाई कसरी बनाउने, कसरी कांग्रेस बन्ने भनेर ओइरिएर आएका छन्। दशौं हजारको संख्यामा मैले पार्टी प्रवेश गराएको छु,’उनले भने।

उनले आगामी निर्वाचनमा कांग्रेस विजयी हुने पनि जिकिर गरे। ‘मेरो बुवा बीपी कोइरालाले बनाएको पार्टी हो,’ उनले भने, ‘म पनि त चाहन्छु कि यो अगाडि जाओस्। त्यसैले आउँदो निर्वाचनमा कांग्रेस विजयी हुन्छ, हुन्छ, हुन्छ।’

महामन्त्री कोइरालाले कांग्रेसलाई हराउने कांग्रेस नै भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। ‘कांग्रेसलाई अब हराउने सक्ने कांग्रेस कार्यकर्ता नै हुन्। एउटाले टिकट पाउँछ सबै त्यसको विरोधमा लाग्छन्। त्यस्तो नगरिकन जसले टिकट पाउँछ उसलाई सघाउनुपर्छ,’ उनले भने।

कोइरालाले पार्टीको विधान प्रति पनि रोष प्रकट गरे। अहिलेको विधानअनुसार निर्वाचित हुने सभापतिले कामै गर्न नसक्ने उनको भनाइ थियो। कोइरालाले आफू सभापतिमा विजयी भए पहिलो काम विधान परिवर्तन हुनेसमेत बताए।

‘अहिलेको विधान विल्कुलै गलत छ। भोलि सभापति आइसकेपछि सबै निर्वाचित हुन्छ। सबैले आफ्नो आफ्नो डम्फु बजाउँछ। सभापति त बलियो सभापति हुनुपर्यो,’ कोइरालाले भने, ‘उसले नोमिनेट गर्ने अधिकार हुनुपर्यो। कोषाध्यक्षबाहेक हरेक पदमा चुनाव हुन्छ। मनोनित गर्ने ठाउँ नै छैन। त्यसलै म सभापति भयो भने पहिलो काम यो विधानलाई परिवर्तन गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .