राजनीति


एमालेमा असन्तुष्ट इटहरीका मेयरले माधव नेपाललाई घरमै स्वागत गरे

एमालेमा असन्तुष्ट इटहरीका मेयरले माधव नेपाललाई घरमै स्वागत गरे

द्वारिकलालको घरमा खाना खाँदै माधव नेपालसहितका नेता


कृष्ण बहाब
कात्तिक २६, २०७८ शुक्रबार १२:१६, इटहरी

दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर असन्तुष्टि जनाएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी माधव नेपालसँग नजिकिएका छन्। 

नेकपा एकीकृत समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै स्वागत गरेका छन्। 

आफ्नो इटहरीस्थित घरमा चौधरीले खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन्। 

दुई दिनअघि मात्रै उनले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा माइक खोसेका थिए। चौधरीले एमालेमा ठाउँ नपाएको भन्दै माधव नेपाललाई घरमा डाकेर मासु भात खुवाएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी चौधरी केही दिनअघि इनरुवामा भएको एमालेको बैठकमा माइक खोस्नै पुगेका थिए।

त्यसअघि आफ्नो अध्यक्षतामा बैठक बस्ने चौधरीले बताएका थिए। तर एमालेको रेवती भण्डारी र रमेश बस्नेत पक्षले नेतृत्व गरेको समूहको बैठक खेमराज पोखरेलको अध्यक्षतामा बसेको थियो। 

एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने गरी चौधरीले बिहीबार मात्रै समाजवादीका प्रदेश १ अध्यक्ष एवम् उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खाना खाएको फोटो भिडियो फेसबुकमा हालेका थिए। 

त्यसपछि चौधरीले शुक्रबार माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर मेजमानी गरेका हुन्। चौधरी समाजवादीतिर जाने विवरणसहितका सन्देश अहिले सामाजिक सञ्जालमा लेखिएको छ। 

समाजवादीको इटहरी नगर कमिटीको फेसबुक वालमा चौधरी र इटहरी उपमहानगरपालिका-४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने उल्लेख गरिएको छ। 

माधव नेपाललाई घर बोलाएको अघिल्लो दिन अर्थात हिजो नेकपा एसका प्रदेश १ अध्यक्ष तथा उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसँग खानपान र भेटघाट गरेका थिए। ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .