राजनीति


शपथ लिएपछि मुख्यमन्त्री राईले भने : मेरै पालामा प्रदेशको नाम जुराउँछु

शपथ लिएपछि मुख्यमन्त्री राईले भने : मेरै पालामा प्रदेशको नाम जुराउँछु

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १७:५, काठमाडौँ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी' बाट मंगलबार विराटनगरमा शपथ लिएका हुन्। 

उनले मुख्यमन्त्रीको शपथ लिएपछि प्रदेशको नाम आफ्नै पालामा जुराउने वाचा गरेका छन्। 

शपथग्रहणपछि पत्रकारसँग छोटो कुराकानी गर्दै उनले प्रदेशको नाम राख्ने कुरालाई विशेष प्राथमिकता दिने बताए। 

‘राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने, कामलाई प्राथमिकता दिन्छु,’ उनले पत्रकारसँग भने, ‘प्रदेशले अझै नाम पाउन सकेका छैन, हाम्रो पालामा नामको टुंगो गर्छौँ।'

मुख्यमन्त्री राईले प्रदेशको बजेट पनि बढाउने बताएका छन्। त्यसका लागि वैदेशिक अनुदान, केन्द्र सरकारको अनुदान र राजस्व स्रोतको दायरा बढाएर बजेटको आकार वृद्धि गर्न सकिने उल्लेख गरे। 

‘सीमित बजेट भए पनि प्राथमिकताको क्षेत्रमा विनियोजन गर्छौँ। भ्रष्टाचार, अनियमितता रोक्छौँ', उनले भने, 'शान्ति सुरक्षा र सुशासन कायम गर्ने कुरालाई प्राथमिकतामा दिन्छौँ।'

उनले प्रदेश सांसदहरुलाई पनि योजना छनोटमा संलग्न गराउने बताएका छन्। उनले सांसदहरुलाई अझै बलियो बनाएर थप जनउत्तरदायी बनाउन कुरामा जोड दिने पनि बताए। 

मुख्यमन्त्री राईले ३० दिनभित्रै विश्वासको मत लिने वाचा पनि गरेका छन्। उनले यही कात्तिक भित्रै सकेसम्म विश्वासको मत लिने बताएका छन्। 

राईले विश्वासको मत लिएर गठबन्धनको सहमतिमै मन्त्रिमण्डल विस्तार गर्ने बताएका छन्। 

'आवश्यकता अनुसार र गठबन्धनको सहमतिलाई ख्याल गरेर मन्त्रालयको संख्या बढाउनुपर्नेछ,' उनले भने, 'अनि मन्त्रिमण्डल विस्तार गर्छौं। गठबन्धनमा धेरै भएकाले साझा संयन्त्र बनाएर कामलाई तीव्र बनाउँछौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad