ad ad

राजनीति


ओलीले कार्यवाहक अध्यक्ष बनाइदिन्छु भनेकाले माधव नेपालको साथ छाडेको होइन : भीम रावल

ओलीले कार्यवाहक अध्यक्ष बनाइदिन्छु भनेकाले माधव नेपालको साथ छाडेको होइन : भीम रावल

नेपालखबर
कात्तिक १२, २०७८ शुक्रबार ६:३९, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कार्यवाहक अध्यक्ष पद दिने सहमति गरेपछि माधवकुमार नेपालको साथ छाडेको भन्ने हल्ला गलत भएको बताएका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तत्कालीन एमालेको माधव नेपाल पक्षसहितका सांसदले सर्वाेच्च अदालतमा हालेको रिट निवेदन फिर्ता गराउने सर्तमा ओलीले आफूलाई एमालेको कार्यवाहक अध्यक्ष बनाउने सहमति गरेको भन्ने खबर सार्वजनिक भएपछि उपाध्यक्ष रावलले खण्डन गरेका हुन्।  ​

पूर्वगृहमन्त्रीसमेत रहेका रावलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हालैको पार्टी विवादमा अदालतको रिटमा साथीहरूको सही फिर्ता गराउने र अध्यक्ष ओलीले मलाई का.वा. अध्यक्ष बनाउने सहमति भएको भन्ने कुरा झुटो हो।’

यस्तै रावलले विं सं. २०६६ मा गृहमन्त्री बन्न पाउने निश्चित भएपछि मात्रै केन्द्रीय सदस्य पदको शपथ खाएको भन्ने कुरा पनि असत्य भएको दाबी गरेका छन्। 

एमालेमा लामो समय माधव नेपालनिकट रहेर अन्तिम अवस्थामा रावल ओली पक्षमै सामेल भएका हुन्। ओलीको कडा विरोध गर्दै संसद् पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदनमा हस्ताक्षर गर्ने नेपाल पक्षका १४ सांसदमध्ये रावल पनि एक हुन्।

तर सर्वाेच्च अदालतको फैसलाबाट प्रधानमन्त्री नियुक्त देउवाले विश्वासको मत लिने बेला उनलाई मत दिन नसकिने भन्दै नेता नेपालसँग विवाद गरेर रावलले सांसद पदबाटै राजीनामासमेत दिएका थिए। तर पछि मूलतः ओलीकै आग्रहमा राजीनामा फिर्ता गरेका थिए। 

यस्तै उनले भर्खरै एमालेमा सहमति जुटाउन गठित कार्यदलको संयोजक पदबाट पनि राजीनामा दिएका छन्। अध्यक्ष ओलीले ‘माधव नेपाल आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो, अब के १० बुँदे, १० बुँदे’ भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि रावल रिसाएका हुन्।

यो पनि : ​आइसोलेसनबाट ओलीलाई भुसालको चिठी : एमालेको डीएनएमा विकृति आयो भने... (पत्रसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .