राजनीति


धरान एमालेमा ओली-नेपाल गुट कायमै, बने समानान्तर कमिटी

धरान एमालेमा ओली-नेपाल गुट कायमै, बने समानान्तर कमिटी

कृष्ण बहाब
कात्तिक ११, २०७८ बिहिबार २१:५४, काठमाडौँ

नेकपा (एमाले)को कात्तिक ९ गतेदेखि देशभर एकैसाथ पालिका अधिवेशन सुरु भयो। अधिवेशनका क्रममा एमालेले कयौं ठाउँमा सर्वसम्मत नेतृत्व चयन गरेकाे छ तर कतिपय ठाउँमा विवादकाबीच समानान्तर कमिटीहरु गठन भएका छन्।

केही वडामै समानान्तर कमिटी बनेकाे सुनसरीमा विवादका कारण दुई ठाउँमा अधिवेशन भएका छन्। अहिले कतिपय ठाउँमा अधिवेशन जारी छ भने कयाैं पालिकामा सुरु हुनसमेत सकेको छैन।

बराहक्षेत्र नगरपालिका र  धरान उपमहानगरमा अधिवेशन सकियो। इटहरी र इनरुवामा भने अधिवेशन खुल्ला सत्र सकिएर स्थगित भएको छ।

धरानमा अधिवेशन सकिएपनि विवादित बनेको छ। दुई ठाउँमा अधिवेशन भएर दुई वटा कमिटी बनेका छन्।

जेठ २ मा फर्किने/नफर्किने विषयमा एमाले सुनसरीमा ठूलो विवाद चल्दै आएको छ। तत्कालीन माधव नेपाल ‘लाइन’ का भिम आचार्य समर्थकले जेठ २ अघिको कमिटीलाई वैधानिक दिनुपर्ने माग गर्दै आएका छन्। जिल्लास्तरमा चल्दै आएको सो विवाद भिम आचार्यको पकड रहेको धरानमा भने छताछुल्ल भएको छ।

गत कात्तिक ६ गते देशैभर एकैसाथ वडा अधिवेशन हुँदासमेत धरानको ६ वटा वडामा समानान्तर कमिटी बनेका थिए। आ–आफ्नै कमिटी वैधानिक हो भन्ने होडबाजीमा उपमहानगर नगर कमिटी दुई वटा बनेका हुन्।

खासमा अहिले सुनसरीमा साबिककै माधव नेपाल र केपी ओली गुटको धङधङी देखिन्छ। तत्कालीन माधव गुटको नेता अहिले भिम आचार्य  हुन् भने तत्कालीन ओली समुहको नेतृत्व माधव समूहबाटै लाइन परिवर्तन गरेका रेवतीरमण भण्डारीले गरेका छन्।

२०७४ अघिको एमालेमा माधव नेपाल समूहमै रहेका दुवै नेता अहिले आचार्य अहिले प्राविधिक रुपमा ओली समूहमा छन् भने भण्डारी राजनीतिक रुपमा ओली लाइनमा छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएपछि आचार्यसँग असन्तुष्ट रहेका भण्डारी ओली समूहमा लागेका थिए। त्यसलगत्तै भएको प्रदेश १ एमाले संसदीय दलको निर्वाचनमा आचार्यलाई हराउन भण्डारीको महत्त्वपूर्ण भूमिका देखियो।

एमाले भित्र केन्द्रीयस्तरमा माधव नेपाल टिम नभए पनि माधव टिमको झझल्को भने जिल्लास्तरमा स्वार्थ बाझिएपछि देखिएको हो।

नेकपा विभाजन भएर एमाले पुरानै अवस्थामा फर्किएपछि केन्द्रीय अध्यक्ष ओलीले भण्डारीलाई सुनसरी अध्यक्ष चयन गरे। २०७५ जेठ २ अघि अध्यक्ष रहेका आचार्य समूहका रमेश बस्नेतले आफू अध्यक्ष भएको दाबी गर्दै आएका छन्। जेठ २ मा पार्टीलाई फर्काउने सहमति कार्यान्वयन हुनुपर्ने आचार्य समूहका बस्नेतको माग छ।

तथापि सुनसरीमा भण्डारी नेतृत्वको कमिटीले अधिवेशन चलाइरहेको छ। उता आचार्य समूहले पनि धरानका ६ वटा वडामा छुट्टै कमिटी बिस्तार गरेको छ।

आचार्य समूहबाट धरान उपमहानगर कमिटीको अध्यक्षमा नारायण सुवेदी सर्वसम्मत चयन भएका छन्। सुवेदीको नेतृत्वमा मंगलबार नै सर्वसम्मत नेतृत्व चयन भएको हो। उता संस्थापन पक्षका भण्डारी समूहको अध्यक्षमा हर्कजंग एभेङ चयन भएका छन्। धरान पछि इनरुवाको एउटा वडामा पनि समानान्तर कमिटी गठन भएको छ।

इटहरी उपमहानगरपालिमा पनि भण्डारीसँग असन्तुष्ट समूह र आचार्य समूह एक भएका छन्। बिहीवार बिहानदेखि नै इटहरीको दुर्गा पार्टी प्यालेसमा बैठक बसेर आचार्य समूहले भण्डारी विरुद्ध मोर्चाबन्दी गरेका थिए। 

आचार्य निकट मानिएका मेयर द्वारीकलाल चौधरी, रामप्रसाद चौलागाई, डम्बर सुवेदी, भीम प्रसाद सुवेदी, रमेश बस्नेत, धर्म निरौला लगायत नेताहरूको भेलाले निर्वाचनमा जाने योजना बनाएका थिए।

ओली समूहबाट अध्यक्षका दाबेदार याम कुमार सुब्बाको पक्षमा आचार्य समूहले सहमति जनाएन। र, उम्मेदवारी पनि दिएन।

त्यसपछि इटहरीमा अध्यक्षमा सुब्बा र उपाध्यक्षमा दुखीलाल चौधरी चयन भएका छन्। जेठ २ कार्यान्वयन गर्ने माग राख्दै आएको समूहबाट उम्मेदवारी नपरेपछि सुब्बा र चौधरी चयन भएका हुन्।

मंगलबार उद्घाटन भएको अधिवेशनमा दुई दिनपछि अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको हो।

बाँकी पदाधिकारीमा शुक्रवार निर्वाचन हुनेछ। बिहीबार मनोनयन दर्ता गराएका मध्येबाट १ सचिव २ सहसचिव सहित ८५ सदस्यको लागि निर्वाचन हुने भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .