राजनीति


ओलीले १० बुँदेलाई केही होइन भनेपछि तेस्रो धार रुष्ट, स्थायी कमिटीमा कुरा उठाउने

ओलीले १० बुँदेलाई केही होइन भनेपछि तेस्रो धार रुष्ट, स्थायी कमिटीमा कुरा उठाउने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १३:९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २७ गते भएको १० बुँदे सहमतिको औचित्य नभएको बताएपछि पार्टीको तेस्रो धारका नेताहरु रुष्ट भएका छन्। 

पार्टी विभाजनविरुद्ध उभिएर एमालेमै बसेका नेताहरुले ओलीले १० बुँदे सहमतिको अर्थ नरहेको तहमा बुधबार टिप्पणी गरेपछि बैठकमा कुरा उठाउने तयारी गरेका हुन्। 

बुधबार पार्टीको बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा उनले माधवकुमार नेपाल आउँछन् कि, पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे सहमति गरिएको तर अब त्यसको औचित्य नभएको बताएका थिए। 

ओलीको उक्त भनाइलाई लिएर माधव नेपाललाई छाडेर एमालेमै बसेका घनश्याम भुसाल र भीम रावलले आपत्ति प्रकट गरिसकेका छन्। 

एमाले उपाध्यक्ष रावलले १० बुँदे सहमतिलाई केही होइन भनेर ओलीले दिएको अभिव्यक्तिप्रति बुधबारै आपत्ति जनाइससकेका छन्। 

'१० बुँदे सहमति 'एकतारे' होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११तारे विगुल हो', उनले भने, 'यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।'

त्यस्तै एमाले उपमहासचिव घनश्या भुसालले पनि ओलीको उक्त भनाइलाई लिएर आपत्ति जनाएका छन्। 

उनले बुधबारै ओलीको भनाइमा टिप्पणी गर्दै भद्दा भौतिकवाद शीर्षकमा संस्कृतको तीन लाइनसहित टिप्पणी गरेका छन्। 

'यावत् जीवेत् सुखम् जीवेत्। ऋणं कृत्वा घृतं पिबेत्। भस्मिभूतस्य देहस्य पुनरागमनं कुतः', अर्थात्-जहिलेसम्म बाँचिन्छ, सुखैसँग बाचौँ, ऋण गरेर भए पनि घिउ नै पिएर बसौँ, खरानी भएपछि शरीर सकिन्छ, पुनर्जन्मका कुरा व्यर्थ हुन्। 

ओलीले १० बुँदेलाई लिएर अब त्यसमा धेरै छलफलको आवश्यकता नरहेको बताएका थिए। ‘अब १०बुँदे १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ गरिरहन आवश्यक छैन’, ओलीले भनेका थिए, ‘माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो अब केको १० बुँदे।’

यसलाई लिएर बिहीबार बस्ने स्थायी कमिटी बैठकमा कुरा उठाउन लागिएको उपमहासचिव भुसालले बताए। '१० बुँदेमा अध्यक्षको टिप्पणीबारे हामी छलफलमा छौँ', उनले नेपालखबरसँग भने, 'त्यसबारे आवश्यक छलफलपछि बैठकमा कुरा उठाउन सक्छौँ।'

तत्कालीन एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच मतभेद चर्किंदा सहमतिका लागि दुवै समूहका नेता सम्मिलित कार्यदल बनाइएको थियो। 

त्यसले एकताका लागि असार २७ गते १० बुँदे सहमति जुटाएको थियो। तर अन्ततः त्यसका सबै बुँदाप्रति आफ्नो सहमति नरहेको भन्दै माधव नेपालले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए।

ओलीले नेपाल नयाँ पार्टीमा गइसकेकाले अब एमालेमा त्यो दसबुँदे सहमतिको कुनै अर्थ नरहेको बताएका थिए। उनले सारंगी बजाएजस्तो हात बनाउँदै अब दसबुँदेको गीत गाइरहनु आवश्यक नभएको बताएका थिए। 

अन्तिम समयमा भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत दोस्रो पुस्ताका १० नेता त्यही दसबुँदे कार्यान्वयनको अपेक्षामा माधव नेपालको साथ छाड्दै ओली पक्षमै समाहित भएका थिए।

अहिले पनि भीम रावलले १० बुँदे कार्यान्वयनबारे कुरा उठाइरहेका छन्। दसबुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ कै संरचनामा फर्काउने भनिए पनि रामबहादुर थापा बादललगायत माओवादी केन्द्रबाट आएका नेताहरूलाई उही पदमा राख्नेलगायत पछिल्लो निर्णयलाई नै ओलीले कायम राखेका छन्। 

‘अब के दसबुँदे दसबुँदे, हाम्रो पार्टी हामीले बनाएको पार्टी। एक ठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढ्ने सिद्धियो’, ओलीले भनेका थिए, ‘साथीहरुले अलि अलि बाटो बिराउनुभयो होला। फर्केर आउने काम गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad