राजनीति


प्रतिनिधि सभाको बैठक सर्ने

लगातार १०औँ पटक एमालेद्वारा बैठक अवरुद्ध
प्रतिनिधि सभाको बैठक सर्ने

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार १४:७, काठमाडौँ

कात्तिक ९ गतेको लागि डाकिएको प्रतिनिधि सभाको बैठक सर्ने भएको छ।

नेकपा एमालेको आग्रहमा बैठक सार्न तयारी भएको हो।

दसैँको लागि स्थगित गरेर कात्तिक ९ गते दिउँसो १ बजे डाकिएको बैठक कम्तीमा २ दिन सार्ने प्रयास भइरहेको हो।

नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ।

नेकपा एमालेका सांसद खगराज अधिकारी लगायतका नेताहरुले आइतबार संसद सचिवालयमा बैठक सार्न आग्रह गरेको पत्र दर्ता गराएका छन्।

अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार ९ गते एमालेको पालिका अधिवेशन छ।

‘कात्तिक ९ गते एमालेको पालिका अधिवेशन छ, यो हाम्रो लागि महत्वपूर्ण दिन हो’ अधिकारीले भने, ‘त्यही भएर त्यो दिनको बैठक सार्न हामीले संसद सचिवालय लगायत सबैतिर जानकारी गराएका छौँ।’

उनका अनुसार राष्ट्रिय पार्टीको राष्ट्रिय कार्यक्रमको दिन कुनैपनि महत्वपूर्ण बैठक राखिदैँन यो संसदीय मान्यता पनि हो।

यही जानकारी हुँदा हुँदै बैठक त्यही दिन राखिएको भन्दै एमालेले संसद सचिवालय, कांग्रेस, माओवादी केन्द्र लगायतलाई बैठक सार्न आग्रह गरेको अधिकारीले बताए।

यसैबीच निरन्तर संसद अवरुद्ध गर्दै आएको एमालेलाई बैठक सारेर सहमतिमा ल्याउने प्रयास पनि हुने स्रोतले जनाएको छ।

‘बैठक केहीदिन सारेर एमालेसँग सहमतिको प्रयास पनि हुनसक्छ,’ स्रोतले भन्यो।

नेपाली कांग्रेस संसदीय दलको सचेतक पुष्पा भुसालले

बैठक २ दिन पछि अर्थात ११ गते बस्ने गरी सार्न सकिने जानकारी दिइन।

‘एमालेको त्यस दिन पालिका अधिवेशन रहेछ, भुसालले नेपालखबरसँग भनिन, दुईदिन बैठक सर्छ होला, त्यो भन्दा बढी सार्न नपर्ला।’

दोस्रो पटक संसद विघटन भएर असार २९ गते पुनस्र्थापना भएपछि साउन ३ गते पहिलो बैठक बसेको थियो। त्यसपछि साउन ८, १२, १५,१९, २६, २ र २९ र ३२ गते गरी ९ पटक बैठक बसेको थियो।

एमालेले १० पटक अवरुद्ध पार्‍यो बैठक
त्यसपछि भदौमा २३, २७ र २९ गते बैठक बसेको थियो। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्न सरकारले भदौ १ गते राजनीतिक दल विभाजन सम्बनिध अध्यादेश ल्याएको थियो। सोही आधारमा एमालेमा माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी  र जसपामा महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए। यी दुई पार्टीलाई निर्वाचन आयोगले भदौ ९ गते मान्यता दिएको थियो।

त्यसपछि बसेको प्रतिनिधि सभाको बैठक एमालेले निरन्तर अवरुद्ध गर्दै आएको हो।

असोज महिनामा ४, ७, ११, १४, १९, २२ र २५ गते गरी ७ पटक प्रतिनिधि सभाको बैठक बसेको थियो।

अहिलेसम्म एमालेले १० वटा बैठक अवरुद्ध पारिसकेको छ। एमालेको अवरोधकै कारण सरकारले महत्वपूर्ण विधेयक होहल्लाबीच संसदमा टेबल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad