अजरबैजान भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग साइडलाइन वार्ता गरेका छन्।
शुक्रबार राति ओली र मदुरोबीच साइडलाइन वार्ता भएको हो।
मोदुरो असंलग्न आन्दोलन (नाम) का निवर्तमान अध्यक्षसमेत हुन्। असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन् ओली बिहीबार अजरबैजान गएका थिए।
भेटमा दुई नेताले द्विपक्षीय सम्बन्धबारे छलफल गरेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
अमेरिकाले भेनेजुएलामाथि आर्थिक नाकाबन्धी लगाउँदा नेकपाले विरोध जनाएको थियो।
सो प्रकरणमा नेकपाका अध्यक्ष प्रचण्डले अमेरिकी कदमको विरोध गर्दै वक्तव्य निकालेका थिए। अमेरिका भने नेकपाको वक्तव्यबाट रुष्ट बनेको थियो।
सोही घटनाको कारण पनि ओली र मदुरोबीचको भेटलाई महत्वका साथ हेरिएको छ।
नाम सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटवार्ता गरेका छन्।
यसैबीच अजरबैजानबाट स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली कतारको राजधानी दोहा आइपुगेका छन्।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्ववाज वाग्ले र नेपाली दूतावासका अन्य वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए।
यही कात्तिक ८ र ९ गते भएको सम्मेलन सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजार गएका हुन्। ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
यसअघि बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका यातायात, सञ्चार तथा उच्च प्रविधिमन्त्री रमीन गुलुजादे, उपविदेशमन्त्री रामिज हुसेनोभ र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीहरुले बिदाइ गरेका थिए।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी छन्।
प्रधानमन्त्री ओली आजै (आइतबार) काठमाडौँ पुग्ने कार्यक्रम छ।

प्रतिक्रिया