ad ad

राजनीति


'गुट व्यवस्थापन नगरे अर्कालाई हानेको क्षेप्यास्त्र एमालेमै बज्रिन्छ'

ओली उदार भएर सबैलाई मिलाउनुपर्नेमा जोड
'गुट व्यवस्थापन नगरे अर्कालाई हानेको क्षेप्यास्त्र एमालेमै बज्रिन्छ'

सागर न्यौपाने
असोज १९, २०७८ मंगलबार १५:२०, काठमाडौँ

नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले बुटवलमा हुने दशौँ महाधिवेशनमा पार्टीभित्रको गुट अन्त्य गराउनुपर्ने बताएका छन्।

असोज १५-१७ सम्म ललितपुरको गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाएपछि अबको ध्यान गुट अन्त्यतर्फ हुनुपर्ने उनले बताएका छन्। 

नेपालखबरसँग कुरा गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले गुटको व्यवस्थापन गर्न नसकेकैले एमाले विभाजन भएको समेत दाबी गरेका छन्। 

‘ओली आगामी महाधिवेशनको निर्विकल्प अध्यक्ष बनिसक्नुभएको छ,’ गुरुङले भने, ‘उहाँले थप ५ वर्ष पार्टी हाँक्न कस्तो संगठन बनाउनुहुन्छ? बहुपदको व्यवस्थापन कसरी गर्नुहुन्छ? पार्टी बलियो हुने आधार त्यसैले देखाउँछ।’

गुरुङले एमालेमा गुट व्यवस्थापन गर्नै नसक्दा विभाजित भएको पनि बताएका छन्। ‘संगठनमा गुटबन्दीको व्यवस्थापन गर्न नजान्ने भएकैले पार्टी चोइटिएको हो,’उनले अगाडि भने।  

नवौँ महाधिवेशनमा बनेको वैचारिक-सैद्धान्तिक गुटबन्दीलाई अन्त्य गर्ने नाममा फेरि अर्को गुट बनाउनु प्रत्युत्पादक हुने पनि उनले बताएका छन्। 

‘चुनावबाट पदाधिकारी चयन गर्दा त्यहाँ गुट बन्नु भएन, सबै पक्षलाई समेटेर पदाधिकारी ल्याउँदा गुटको मनोविज्ञान भत्काउँछ', गुरुङले भने, 'वैचारिक र संगठनात्मक रुपले एकतावद्ध भएको सन्देश पनि जान्छ। जसले पार्टीलाई गतिशीलता प्रदान गर्छ।’

यस विषयमा सचेत नहुने हो भने त्यसले एमालेलाई सिद्याउने पनि गुरुङले चेतावनी दिएका छन्। ‘यसबारे अध्यक्ष कमरेडले मूल्यांकन गर्नुभएकै होला, यदि त्यसमा ख्याल गरिएन भने अर्कालाई हान्न खोजेको क्षेप्यास्त्र आफैंतिर बज्रिन्छ,’ उनले थपे। 

अध्यक्षपछिको उत्तराधिकारीबारे चर्चा चलिरहेको बेला उनले अहिले त्यसको आवश्यकता नभएको स्पष्ट पारे। ‘पार्टीमा सबै एकसे एक छौं, अहिले भइरहेका नेताबाट पार्टी सुदृढ बन्छ', उनले भने, 'उत्तराधिकारी चयन गर्ने ठाउँमा हामी छैनौं।’

एमालेमा उत्तराधिकारी तोक्ने कुरा लोकतन्त्र, संघीयता र समावेशीताको हिसावले राम्रो नभएको उनले तर्क गरे। 'त्यसो हुँदा मुभमेन्टमा जान्छ, प्रतिस्पर्धाबाट आउने हो', गुरुङले थपे, 'पार्टीमा आएका संकटका बेला कसले साथ दियो भन्ने कुरामा नेतृत्वले ख्याल गर्नु आवश्यक छ।'

एमालेको मंसिर १०, ११ र १२ गते बुटवलमा हुने महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सबैभन्दा धेरै प्रतिस्पर्धा हुने देखिएको छ। उपाध्यक्ष बनाउँदा नेतृत्व हस्तान्तरणको वैधानिक बाटो बनाउनुपर्ने नत्र समस्या पर्ने उनले बताए।

‘वरिष्ठ उपाध्यक्ष बनाउँदा पार्टीको प्रतिवद्ध नेतालाई बनाउनुपर्छ, वरिष्ठ नेता कार्यवाहक अध्यक्ष पनि हो', गुरुङले भने, 'त्यस्ता व्यक्ति वैचारिक र सांगठनिक रुपमा सक्षम हुनुपर्छ। संघीयता, गणतन्त्रप्रति प्रतिवद्ध हुनु आवश्यक छ।’

चासो 
गुरुङले अहिले २०७५ जेठ ३ गते माओवादी केन्द्रसँग एकता गर्दाको अवस्था र जेठ २ अघि दुवैको अवस्थामा रहेको उनले बताए।

‘रामबहादुर थापा 'बादल' लगायत माओवादीबाट आएका साथीहरुको व्यवस्थापन गर्न नेतृत्वले उदारता देखाउनुपर्छ,’ गुरुङले भने, ‘पार्टीभित्र अन्तरसङ्घर्ष गरेका साथीहरुको भावनालाई पनि एकतावद्ध बनाउनुपर्ने दायित्व अध्यक्षको काँधमा छ। यसलाई सम्बोधन गरेर जानुपर्छ।’  

पदाधिकारीमा समावेशी अनुहार हुनुपर्ने, संघीयताको मर्म अनुसार पार्टीले काम अघि बढाउनुपर्ने सुझाव गुरुङले दिएका छन्। 

गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री रहिसकेका गुरुङले विगतमा पार्टीभित्र काम गरेका आधारमा जिम्मेवारी दिएर पार्टीलाई गतिशील बनाउनुपर्ने सुझाएका छन्। 

‘पार्टीमा अब उपाध्यक्ष, सचिवहरु प्रदेशका सेन्टिमेन्ट अनुसार चयन गरिनुपर्छ', उनले अन्तिममा भने, 'समावेशी उम्मेदवार बनाएर हामी सक्षम छौँ भन्ने सन्देश पनि दिन सक्नुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .