राजनीति


गच्छदारले भनेः एक मधेश एक प्रदेश हुन सक्दैन

गच्छदारले भनेः एक मधेश एक प्रदेश हुन सक्दैन

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार १०:४६,

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन्।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांग्रेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए।

‘म भन्दा ठूलो पार्टी हो, पार्टीभन्दा ठूलो मधेश हो, मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन’, उनले भने। आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको बताए। उपसभापति गच्छदारले भने, ‘यस पार्टीमा रहेर महँगी र भ्रष्टाचार लगायतका कुरा नियन्त्रण गर्नमा रचनात्मक भूमिका निर्वाह गर्दैछु।’ गत चुनावमा नेपाली कांग्रेसले हार बेहोरेकोमा आगामी चुनावमा विजय हासिल गर्न लागिपरेको उनले जानकारी दिए।

गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उनीहरुको योगदानलाई बिर्सनु नहुने बताए। देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो। गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे।

ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले देशमा मनाइने चाडपर्वले सबै मानिसको कामना पूरा गरोस् भन्ने शुभकामना व्यक्त गरे। नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सबै नगरवासीको साथमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सो नगरपालिकाका उपप्रमुख मुना अधिकारीले नेपाली कांग्रेसको जागरण अभियानले मुलुकमा ऊर्जा भरेको दावी गरिन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad