पाँच दलीय सत्ता गठबन्धनले मन्त्रालय भागबण्डाबारे निर्णय गर्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।
गठबन्धनको आइतबार बिहान र साँझ दुईपटक बैठक बसे पनि मन्त्रालय भागबण्डामा सहमति जुटिसकेको छैन।
दलहरुबीच सहमति नजुटेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक कार्यक्रममा आज या भोलिसम्म क्याबिनेट विस्तार भइसक्ने बताएका छन्।
आइतवार बसेको बैठकमा मन्त्रालय भागबण्डाका विषयमा सहमति जुटाउने प्रयास भएको थियो। तर उक्त प्रयास असफल भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले नेपालखबरलाई जानकारी दिए।
जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भागबण्डामा कांग्रेस र माओवादी लचक हुनुपर्ने बताउँदै आएका छन्।
बैठकमा त्यस प्रस्तावबारे छलफल भए पनि सहमति जुट्न नसकेको नेता पाण्डेले जानकारी दिए।
सहमति नभएपछि आइतबार दुईपटक बसे पनि गठबन्धनको बैठक स्थगित भएको थियो। सोमबार शीर्ष नेताहरुको बैठक बसेर मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने तयारी छ।
‘हिजो (आइतबार) सहमति गराउने गरी २ पटक बैठक बसेका थियौँ’, गठबन्धनमा सहभागी जसपाका नेता महिन्द्रराय यादवले नेपालखबरसँग भने, ‘सहमति जुट्न सकेको छैन। तर, हामी सर्वसम्मत रुपमा निर्णय गर्छौँ।’
यता पाण्डेले भने गठबन्धनमा जसपा र एकीकृत समाजवादीलाई सम्मानजनक मन्त्रालय नदिने हो भने दुवै पार्टी सत्ताबाहिर बसेर संविधान र लोकतन्त्रको रक्षामा भूमिका खेल्ने बताए।
‘संविधान र लोकतन्त्र रक्षा गर्न हाम्रो साथ सधैँ रहन्छ’, गठबन्धनमा जसपा नेताको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘तर, हामी सरकारमा सहभागी भने हुँदैनौँ, तलै बसेर समर्थन गर्छौँ।गठबन्धनलाई बलियो बनाउँछौँ।’
जसपाको यस्तो अभिव्यक्तिपछि बैठकमा सहभागी कांग्रेस नेताले मिलाएर अघि बढ्नुपर्ने भन्दै सहमतिका लागि तयार रहेको बताएका थिए ।
‘तपाईँहरू बाहिर बस्ने भन्ने कुरै छैन, मन्त्रालय भागबण्डाको विषयको निर्णय गर्ने जिम्मा शीर्ष नेताहरुलाई दिऊँ, यो गठबन्धनलाई बलियो बनाएर जानुपर्छ’, कांग्रेसका तर्फबाट गठबन्धनमा रहेका कानुनमन्त्री ज्ञानेन्द्र कार्की र मिनेन्द्र रिजालले भने।
शीर्ष नेताहरुको बैठक राखेर मन्त्रालयलाई पूर्णता दिनेबारे छलफल गर्ने गठबन्धनको तयारी छ। तर, बैठक बस्नेबारे कुनै निर्णय नभएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए।
‘माधवजी उपचारबाट घर आउनुभएको छ’, महराले भने, ‘अब शीर्ष नेताहरुको बैठक बस्न सक्छ तर अहिलेसम्म समय तय भएको छैन।’
कांग्रेस र माओवादीले संसदमा रहेको सिट संख्याका आधारमा मन्त्रालय भागबण्डा गर्नुपर्ने प्रस्ताव गरेका छन्।
तर, विषम परिस्थितिमा सरकार बनाउन र संविधान र लोकतन्त्र बचाउन जसपा र एकीकृत समाजवादीले खेलेको भूमिकालाई संख्यामा तुलना गरे त्यसले समानता नहुने पाण्डेले बताए।
गठबन्धन बैठकमा दुई पार्टीले यही कुरालाई बढी जोड दिएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया