प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली गरेको दाबी गर्दै डडेल्धुरामा जारी धर्ना तत्कालका लागि स्थगित भएको छ।
हिन्दु धर्मावलम्बीहरूको महान चाड दशैँपछि फेरि सुरु गर्ने गरी सभापति देउवाको गृहजिल्लामा ११ दिनदेखि जारी धर्ना आइतबारबाट स्थगित भएको हो।
धर्नामा बसेका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षधर नेता–कार्यकर्ताहरुले केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरेको रोहबरमा दशैँबाट फेरि सुरु गर्ने गरी तत्कालका लागि धर्ना स्थगित गरेका हुन्।
‘नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, गुरुराज घिमिरे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको अनियमितताका विरुद्ध अनसनरत कांग्रेसका नेता एवं कार्यकर्तालाई डडेल्धुरा पुगेर गुनासो सुन्नुभएको छ,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, ‘विजयादशमी पछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी नेताहरूको रोहबरमा विगत ११ दिनदेखि जारी धर्ना स्थगित भएको छ।’
क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरूले रिले अनशन थालेका थिए।
हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा अधिवेशनको मिति तय गर्नुपर्नेलगायतका मागहरू अनशनरत कार्यकर्ताले राखेका थिए।
क्रियाशील सदस्यता विवाद कायमै रहेको र गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति मल्ल पक्षले विरोध गर्दै आइरहेको छ।
डडेल्धुरा कांग्रेसमा जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। जिल्ला कार्यसमितिले क्रियाशील सदस्यका लागि पाँच हजार आठ सय चार जनाको नामावली पठाएकोमा छानबिन समितिले चार सय ४४ जनाको नाम हटाइदिएको मल्ल पक्षको भनाइ छ।

Shares

प्रतिक्रिया