कारोबार


नयाँ बानेश्वरको आकासे पुल दसैँअघि नै सञ्चालनमा आउने

नयाँ बानेश्वरको आकासे पुल दसैँअघि नै सञ्चालनमा आउने

नेपालखबर
असोज १७, २०७८ आइतबार १५:४४, काठमाडौँ

सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। 

थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। 

उनले भने, ‘थोरै काम मात्रै बाँकी भएकाले दुईचार दिनमा नै सकिनेछ।’

उपत्यकामा अहिले भइरहेका आकासे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ। दसैँपहिले नै सो पुल सञ्चालनमा आउने डिभिजन प्रमुख नेपालीले बताए।

संरचनालाई लैंगिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको छ। बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने उनले बताए।

उनले भने, ‘अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुनेछ।’

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ। विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला भएको हो।

सुरुमा डिजाइनमा नै ढिला भएको र काम सुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको उउनले बताए। त्यसका लागि चाहिने सामग्रीको कारखाना सञ्चालन हुन सकेको थिएन।  विशेष सीप भएका थोरै जनशक्ति आवश्यक हुने भए पनि तिनैलाई सङ्क्रमण भएको उनले बताए। 

उनले भने, ‘यी सबै समस्याका बाबजुद अहिले सम्पन्न हुन लागेको छ।’

झन्डै एक दशकभन्दा लामो समयदेखि नयाँ बानेश्वरमा पुल निर्माण गर्नुपर्ने भन्दै आवाज उठिरहे पनि बन्न सकेको थिएन। हाल संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन।

विभागले जडीबुटीसँगै सो चोकमा समेत ‘फ्लाई ओभर’  आवश्यकता भएको बताउँदै आएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad