राजनीति


एमालेमा केपी ओलीकै लागि यसरी गरियो ७० वर्षे उमेर हदको व्याख्या

बीचमै ७० पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने
एमालेमा केपी ओलीकै लागि यसरी गरियो ७० वर्षे उमेर हदको व्याख्या

नेपालखबर
असोज १७, २०७८ आइतबार १५:२, काठमाडौँ

नेकपा एमालेले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई दशौँ महाधिवेशनबाट निर्वाचित हुने बाटो खोल्दै ७० वर्षे उमेर हदको व्याख्या गरेको छ।

आगामी मंसिरमा हुन लागेको १० औँ महाधिवेशनबाट फेरि अध्यक्षमा दोहोरिन तम्तयार ओलीकै लागि एमालेले ७० वर्षे उमेर हदको व्याख्या गरेको हो।

ओली आगामी फागुनमा ७० वर्ष पूरा हुँदैछन्। यस्तोमा शुक्रबारदेखि जारी पहिलो विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले ओलीलाई सहज हुने गरी विधान संशोधन प्रस्ताव गरेका हुन्। 

१० वटा समूहको सुझावको जवाफ दिने क्रममा ७० वर्षको उमेर हदको व्याख्या गर्दै संगठन विभाग प्रमुखसमेत रहेका पौडेलले कुनै नेता ७० वर्ष पूरा नहुँदै पार्टी कमिटीमा निर्वाचित भएर कार्यकालबीचमै ७० वर्ष पूरा भए पनि त्यस कार्यकालभर काम गर्न पाउने व्यवस्था गरिएको बताए। 

'कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नभइसकेको अवस्थामा उम्मेदवार हुन पाइन्छ', उनले भने, '७० वर्ष भन्नाले छोएको होइन, पूरा नहुन्जेलसम्म उम्मेदवार हुन पाउने भनिएको हो। यदि कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने पनि उसले कार्य गर्न पाउनेछ।'

विधानको यो नयाँ व्याख्यापछि मंसिरमा हुन लागेको दशौँ महाधिवेशनबाट ओलीलाई अध्यक्षमा दोहोरिन सजिलो भएको छ। अब उनले मंसिरमा अध्यक्ष भएर फागुनमा ७० वर्ष पूरा गरेपनि पूरा कार्यकाल काम गर्न पाउनेछन्।

'प्रतिनिधिले जिताउँछन् या हराउँछन्? उनीहरुको हातमा रह्यो', उनले भने, 'विधानले दई पटक मात्रै उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको छ। यसमा इफ वा बट हुने सम्भावना छैन।'

यो व्याख्यापछि अध्यक्ष ओलीले अब एमालेमा एक कार्यकाल नेतृत्व गर्नेछन्। एमालेमा चुनौती दिने अन्य नेता नभएकाले अब उनी दशौँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने बाटोमा छन्। 

यो महाधिवेशनबाट विधान संशोधन नभएको भए मंसिरमा अध्यक्ष निर्वाचित भए पनि फागुनमा ७० वर्ष पुगेपछि उनले नेतृत्वमा रहिरहन संकट पर्ने थियो। उनले नवौँ महाधिवेशनमा कक्षा नदोहार्‍याउने बताएका थिए। तर माधव नेपाल र झलनाथ खनालसहित आफूलाई टक्कर दिने नेताहरु एमालेबाट बाहिरिएसँगै उनी थप एक कार्यकालका लागि अग्रसर भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad