ad ad

राजनीति


नदोहोर्‍याउने वाचा गरेको कक्षा दोहोर्‍याउँदै ओली

नदोहोर्‍याउने वाचा गरेको कक्षा दोहोर्‍याउँदै ओली

सागर न्यौपाने
असोज १५, २०७८ शुक्रबार २२:१५, काठमाडौँ

‘म कुनैपनि कक्षा दोहोर्‍याएर पढ्दिनँ, मेरो दोहोर्‍याएर कक्षा पढ्ने बानी छैन।’

तत्कालीन नेकपामा असन्तुष्टि बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई थुम्थुम्याउन अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए। 

जब नेकपाभित्र समस्या बल्झिन्थ्यो, ओली महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बाचा दोहोर्याउँथे। ०७७ मंसिरमा सुवास नेम्वाङले प्रचण्डनिवास खुमलटारमै पुगेर चाँडो महाधिवेशन गर्ने र त्यसपछि ओलीले अध्यक्ष छाड्ने प्रस्ताव गरे। 

तर, एमालेमा यसपटक ओली कक्षा दोहोर्याउने भएका छन्। आगामी मंसिरमा महाधिवेशन तय भएको एमालेको अध्यक्ष आफैँ बन्नेगरी ओलीले तयारी गरेका छन्, त्यो पनि थप शक्तिका साथ।

०७१ असारमा भएको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले दसौँ महाधिवेशमा फेरि अध्यक्ष बन्नेगरी सबै शक्ति आफूमा केन्द्रित गरेको स्पष्ट संकेत शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा देखिन्छ।

गोदावरी सनराइज सम्मेलन केन्द्रमा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रतिवेदनले ओलीलाई थप शक्तिशाली बनाएको छ। 

नेताहरुका अनुसार अब उनी एमालेको निर्विकल्प अध्यक्ष हुन्। उनको प्रतिस्पर्धी कोही हुने छैन। 

एमालेका संस्थापक नेता माधव नेपाल र झलनाथ खनाल दसौँ महाधिवेशनमा आइपुग्दा भने छुटेका छन्। यसले पनि ओलीलाई शक्तिशाली बनाउन थप सहज पार्यो।

विधान महाधिवेशनमा व्यक्तिपूजाको हदमा गरिएको ओलीको प्रचारप्रसारले उनी नै सर्वेसर्वा हुन् भन्ने देखाउँछ। डिजिटल स्क्रिन, पोस्टरदेखि पानीका बोतलसम्म ओलीका तस्बिर छन् भने महाधिवेशनमा घन्किएको गीतमा पनि उनको नाम उल्लेख छ।

७० वर्षे उमेरहदको प्रावधानलाई ओलीले महाधिवेशन हुँदा ७० नकटे उम्मेदवार बन्न पाउने व्यवस्था गरे र आफ्नो लागि सजिलो पारे। आगामी फागुनमा मात्र आफू ७० वर्ष लाग्ने भन्दै उनले मंसिरमा नै महाधिवेशन गराउँदैछन्।

त्यसबाहेक एमालेको विधानमा रहेको उपमहासचिव र वरिष्ठ नेताको व्यवस्था हटाइएको छ।

स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित भएका राजनीतिक प्रतिवेदन, विधान संशोधन र संगठनात्मक प्रस्तावलाई विधान महाधिवेशनले पारित गर्नेछ।  

महाधिवेशनमा सहभागी हुन आएका केही नेताहरुले नेपालखबरसँग बताएअनुसार ओलीलाई महाधिवेशनबाट थप शक्तिशाली बन्न विधान महाधिवेशनले मार्ग खोलिदिनेछ।

‘हाम्रो पार्टीको नवौँ महाधिवेशनमा नेतृत्व एउटाको र विचार अर्काेको थियो,’ नाम बताउन नचाहेका ती नेताले भने, ‘अब नीति र नेतृत्व कमरेड केपी ओलीकै हुन्छ र त्यसले उहाँलाई थप शक्तिशाली बनाउँछ।’

प्रतिनिधिहरु ओलीको भाषण सुन्न आएको प्रतिक्रिया पनि दिन्थे। 

‘हामी अध्यक्षको भाषण सुन्न आएका हौँ, उहाँका विचार लिएर आफ्नो क्षेत्रमा खटिने छौँ,’ ती नेताले भने।

तामझाम हेर्दा महाधिवेशनमा उपस्थित ५ हजार जति नेता तथा कार्यकर्तालाई ओलीले दिन चाहेको सन्देश हो, ‘केपी ओली अब थप शक्तिशाली हुँदैछ, आगामी निर्वाचनमा सबै लागेर पार्टीलाई जिताएर पठाउनू।’

मंसिरमा तय भएको महाधिवेशनमा कसैले पनि नेतृत्वमा ओलीसँग लड्न आँट नगरुन भनेर ओलीले विधान महाधिवेशनमै त्यो संकेत गराउन खोजेको कतिपयको बुझाइ छ।

एमालेमा ओलीको एकलौटी हुने अर्को संकेत हो– अहिलेसम्म फरक दस्तावेज पेस भएको छैन। पेस भए पनि अरुका विचारलाई ठाउँ दिने पक्षमा उनी छैनन्।

नेकपा एमाले कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलले महाधिवेशनमा नेतृत्वको विषयमा सबैको ध्यान जाने भएकोले पहिला विधान महाधिवेशनबाट पार्टीको नीति र कार्यदिशा पारित गर्न लागिएको बताए।

‘पार्टीको नीति, विचार र कार्यदिशा प्रष्ट हुनुपर्छ अनि मात्र महाधिवेशनमा सही नेतृत्व आउँछ,’ कँडेलले नेपालखबरसँग भने। 

स्थायी कमिटी सदस्य लेखराज भट्टले अहिलेको नेतृत्वले ल्याएको विचारलाई अनुमोदन गर्न विधान महाधिवेशन गरिएको बताए। 

‘जसको विचार सही छ, उसैले नेतृत्व गर्नुपर्छ अनि मात्र पार्टी बन्छ भन्ने कुरा देखियो,’ भट्टले नेपालखबरसँग भने, ‘अध्यक्ष ओलीको विचार सही छ, उहाँ नै निर्विकल्प नेतृत्व हो।’

सरकारमा रहँदा पनि एकलौटी गरेका ओलीले पार्टीमा एकलौटी गर्न नपाउँदा नेकपा नै विभाजन हुने अवस्थामा पुर्याएको आरोप उनीमाथि लाग्ने गरेको छ। तर, असहमत नेताको किचकिचका कारण पार्टी फुटेको ओलीको भनाइ छ।

माधव नेपाल अलग भएपछि आफूलाई किचकिच गर्ने नेता कोही नभएको र अब सानदार तरिकाले पार्टी हाँक्ने ओलीले बताउँदै आएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .