कारोबार


अब उद्योगहरुले छेलोखेलो बिजुली पाउने

अब उद्योगहरुले छेलोखेलो बिजुली पाउने

नेपालखबर
असोज १७, २०७८ आइतबार १४:५९, काठमाडौँ

माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ। 

प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ। तोकिएको लक्ष्यअनुसार काम भएको खण्डमा चालू आवमा नै थप एक हजार ३०० मेगावाट बढी बिजुली उपलब्ध हुन्छ। 

त्यसो हुँदा प्रणालीमा तीन हजार ३०० मेगावाट बराबरको बिजुली प्रवाह हुन्छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हाल रातको समयमा झण्डै ४०० मेगावाट बिजुली जगेडामा रहेको छ। 

यसो भन्नुको अर्थ खेर गइरहेको छ। यस्तै दिनको समयमा पनि झण्डै २५० मेगावाटसम्म बिजुली जगेडामा रहेको छ। प्राधिकरणले बढी भएको बिजुली भारत निकासीको प्रयास पनि नगरेको होइन। तर, नेपालमा आउन दिने, भारतमा निकासी हुन नसकेको अवस्थामा प्राधिकरणले देशभित्रै बिजुलीको खपत बढाउन लागेको हो। 

जानकारका अनुसार एक युनिट बिजुली लगानी गर्दा झण्डै रु ९० देखि रु १०० बराबरको आर्थिक उपार्जन हुन जान्छ। यस आधारमा बिजुलीलाई कच्चापदार्थको रुपमा समेत लिइन्छ। 

उद्योगी व्यवसायीका अनुसार बिजुलीको सहज उपलब्धताले अर्थतन्त्रमा बहुआयमिक प्रभाव पर्दछ। प्राधिकरणले अव १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगी तथा व्यवसायीले मागेअनुसारको बिजुली उपलब्ध गराउने भएको छ। त्यसका लागि के कति मात्रामा बिजुली चाहिएको हो भनेर आवेदन दिन समेत भनिएको छ। 

वर्षाको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर भइसकेको छ। आगामी डेढवर्षभित्र हिउँदमा समेत आत्मनिर्भर हुने अवस्थामा पुगेको छ। प्राधिरकणले हाल वर्षाको समयमा देशमा विद्युत्को मागभन्दा उत्पादन बढी भई खेर जाने अवस्था सिर्जना भएको भन्दै उद्योगीलाई थप बिजुली उपलब्ध गराउन सकिने उल्लेख गरेको छ। 

प्राधिकरणले २२० केभी र ४०० केभी क्षमताका प्रसारण लाइन निर्माण गरिरहेकाले १३२ केभीलाई पनि वितरण लाइनमा विस्तार गर्न चाहेको हो। यही असोज १४ गते विद्युत् विकास विभागले आयोजना गरेको विद्युत् महसुलसम्बन्धी सार्वजनिक सुनुवाइका क्रममा समेत कार्यकारी निर्देशक घिसिङले अब १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उद्योगीलाई गुणस्तरीय बिजुली उपलब्ध गराइने जानकारी दिएका थिए। 

बिजुलीको सहज उपलब्धता बढ्दै गई आत्मनिर्भर बनेको अवस्थालाई ध्यानमा राखेर देशभित्रै बिजुलीको खति बढाउन कार्ययोजनाका साथ अगाडि बढेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। त्यस्तै देशका विभिन्न औद्योगिक सहरमा माग अनुसारको थप बिजुली उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन तथा सवस्टेशनको विस्तारलाई व्यापक रुपले अगाडि बढाइएको छ। सबै प्रकारका ग्राहकलाई क्षमता वृद्धि वा थप बिजुली माग भएमा सरल र सहज हिसाबले शीघ्र उपलब्ध गराउनेगरी व्यवस्था मिलाइएको छ। 

आयोगको सुनुवाइका क्रममा व्यवसायी एवं एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले विदेश निर्यात गर्नुभन्दा देशभित्रै थप बिजुली उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो। उहाँले प्राधिकरणले थप बिजुली उपलब्ध गराए आफूहरु लिन तयार रहेको बताउनुभएको थियो। सोही आग्रहका आधारमा प्राधिकरणले ठूला औद्योगिक ग्राहकलाई थप बिजुली दिन लागेको हो। प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनको आसपासमा विद्युत् माग गरेमा तत्काल उपलब्ध गराइने उल्लेख गरेको छ। 

सकेसम्म प्राधिकरणको प्रसारण तथा वितरण लाइन एवं सवस्टेशन भएको स्थानबाट नजिक उद्योग स्थापना गरी आवश्यक विद्युत माग गर्न भनिएको छ। प्रसारण लाइन एवं सवस्टेशनबाट टाढा भएमा कहिलेसम्ममा के कति मात्रामा बिजुली चाहिने हो यर्थाथ विवरण खुलाई तत्काल माग गर्न समेत प्राधिकरणले आग्रह गरेको छ। प्राविधिक दृष्टिकोणबाट सम्भव भएका स्थानबाट तत्काल र प्राविधिक दृष्टिकोणबाट तत्काल सम्भव नभएका स्थानमा प्राधिकरण थप लाइन तथा सवस्टेशन विस्तार गर्न पनि तयार रहेको जनाएको छ।
 
त्यस्ता स्थानमा छिटो भन्दा छिटो बिजुली आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उद्योगीका अनुसार थप ५०० देखि ८०० मेगावाटसम्मको थप बिजुली माग रहेको छ। त्यसमा सबैभन्दा बढी सिमेन्ट र छड उद्योगले थप माग गरेको अवस्था छ। प्रसारण लाइन निर्माण नभएका काराण चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगले बिजुली पाउन सकेको छैन। सो उद्योगले मात्रै ८० मेगावाट माग गरेको अवस्था छ। 

यस्तै, अन्य सिमेन्ट उद्योगले पनि क्षमता वृद्धिका लागि बिजुली माग गरेका छन्। बाह्य बजार खोज्दै हिँड्नुभन्दा देशभित्रै बिजुलीको बजार खोज्न प्राधिकरण लागिपरेको छ। कार्यकारी निर्देशक घिसिङले माग अनुसारको बिजुली उपलब्ध गराउनका लागि आफूहरु तयार रहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad