नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले दुई पटकसम्म भएको प्रतिनिधिसभा विघटन गल्ती भएकाले त्यसलाई पार्टी नेतृत्वले स्वीकारेर जानुपर्ने बताएकी छन्।
ललितपुरको गोदावरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनको समूहगत छलफल सकिएपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले दुई पटक नै गलत भनिसकेकाले अब त्यसलाई नेतृत्वले स्वीकार्नु राम्रो हुने तर्क गरिन्।
'अब हामीले हजार तर्क गरेर प्रतिनिधिसभा विघटन ठीक भने पनि सर्वोच्च अदालतले दुई दुई पटक दिएको फैसला छ। इतिहासमा बाक्लो पाना लिएर छोप्दा पनि प्रतिनिधिसभा विघटनको गल्ती छोपिँदैन', उनले भनिन्, 'नेतृत्वले त्यो कुरालाई स्वीकारेर जानुपर्छ।'
उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको कु को समयमा माधव नेपाल प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा गएको कुरालाई गल्तीका रुपमा स्वीकारेको स्मरण गरिन्।
'शाही कु को समयमा प्रतिगमन आधा सच्चिएको कुरामा माधव नेपालले गल्ती स्वीकारेका थिए,' उनले भनिन्, 'अब एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिनिधिसभा विघटनमा गल्ती स्वीकार्नुपर्छ। गल्ती स्वीकारेर अघि बढ्दा एउटा राजनीतिक सन्देश पनि जान्छ।'
उनले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले पनि प्रतिनिधिसभा विघटनबारे कुरा उठाएको बताएकी छन्।
'विधान महाधिवेशनका प्रतिनिधिहरुले पनि प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा कुरा राख्नु भएको छ। बाहिर देखिए जस्तो मौन हुनुहुन्न', उनले भनिन्, 'एउटा समूहमा ७ सय जनादेखि ९ सयजनाको टोली छ। त्यहाँको छलफलमा प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा उठेको छ। तर कतिपय टोली नेताले सबैको भावना समेटेर निष्कर्ष नसुनाउँदा आवाज नआएको हो।'
उनले असार २७ मा भएको १० बुँदे सहमति अघिसम्म एमाले कोमामा रहेको पनि बताइन्।
'१० बुँदे सहमति अघिसम्म एमाले कोमामा थियो। अब अघि बढेको छ। अब सबै जनालाई एमालेको मूलधारमा लिएर जानेछ', उनले भनिन्, 'हामीलाई विभाजनले केही क्षति भएको छ। तर हामीले एकताका सन्दर्भमा सँगै हिँड्न खोजेका छौँ। अब विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन टुंगो गरेपछि त्यसको आधारमा नेतृत्व गर्न सजिलो हुनेछ।'
उनले यो विधान महाधिवेशनले माथिदेखि तलसम्म संगठनलाई मजबुत बनाउने पनि बताइन्। 'माथिदेखि तलसम्म संगठन कस्तो बनाउने भन्ने कुरा पनि यसले तय गर्छ। तीनवटै प्रतिवेदनमाथि समूहहरूले छलफल गरिसकेका छन्', उनले थपिन्, 'हामी पार्टी विभाजनपछिको परिस्थितिमा छौँ। त्यहीकारण यति ठूलो सहभागितामा हतार हतारले विधान महाधिवेशन गर्नुपरेको हो। अब हामी एकताको सन्देशसहित अघि बढ्छौँ।'
Shares

प्रतिक्रिया