साहित्यकार प्रकाशकृष्ण ‘बाक्सिला’ ले ‘जिन्दगीको गीत’ गीति संग्रह सार्वजनिक गरेका छन्। गीतसँगै भिडिओ पनि सार्वजनिक गरिएको छ।
करिब साढे २ दशकदेखि हङकङलाई कर्मथलो बनाइरहेका बाक्सिलाको यो पहिलो गीति संग्रह हो। गत शुक्रबार काठमाडौंमा एक समारोहकाबीच गीति संग्रह लोकार्पण गरिएको हो।
उक्त संगालोमा ‘रातभरि जून रुँदा, हरपल तिमीसँगै बितोस्, त्यही रात एकचोटि, रावा खोला ताप खोलाको फेदी दोभान, मेरो संसार भत्काएर र रम्दै होलिन् माया मनकी’ बोलका ६ वटा गीत छन्।
तीमध्ये दुई गीतमा सन्तोष दुमीको तथा अन्यमा कुवेर राई, शान्तिराम राई, विपिन घिमिरे र देवेश राईले संगीत भरेका छन्।
पाँचवटा गीतमा कमल दुमी राईको एकल स्वर छ भने एउटा गीतमा उनलाई टीका प्रसाईंले साथ दिएकी छन्। कमल गीतकारका भाइ हुन्। उनी पनि लामो समयदेखि हङकङमै बसोबासरत छन्। उनी गीतकार ‘नन्द दुमी राई’ नामबाट पनि परिचित छन्।
सबै गीतका भिडिओसमेत बनिसकेका छन्। जुन सन्तोष दुमी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
बाक्सिलाको यो गीति संग्रह पहिलो भए पनि उनले सानैबाट गीत लेख्न थालेका हुन्। उनले लेखका बालगीत नेपाल टेलिभिजन र रेडियो नेपालमा समेत रेकर्डिङ भएका थिए। युवा अवस्थामा उनले प्रगतिशील गीत लेख्ने/गाउने गर्थे। उनले तीन वर्ष शास्त्रीय संगीत पनि सिकेका छन्।
हङकङ आएपश्चात् भने उनको गीत लेखन बन्द भएको हो। तर यसपटक भाइ नेपाल गएको मौकामा हप्ता/दस दिनमै उक्त गीतहरू रचना गरेको उनले नेपालखबरलाई बताए। गीतहरू प्रेमिल र रोमान्टिक छन्।
‘प्रगतिशीलबाट प्रेमिल गीततर्फ छलाङ मार्नुभएछ, गीतहरू निकै रोमान्टिक रहेछन्, आफ्नै भोगाइ प्रकट गर्नुभएको त होइन?’
जवाफमा उनले भने, ‘बिलकुल होइन, तर त्यसो भन्दैमा कसैसँग प्रेम गरिएन/परिएन भन्ने त होइन, हरेक मान्छेले प्रेमको अनुभव गरेका हुन्छन्, यति हो कतिले गोप्य राख्छन्। तर पनि विगतमा भोगेका तीतामिठा प्रेमका कुरा वर्तमानले विस्थापन गरेर धूमिल बनाइँदिदोरहेछ, त्यस्ता कुरा कोट्याएर पनि खासै केही हुन्न, त्यसैले मेरा गीतमा आफ्नै भोगाइ समेटिएका होइनन्, ती सबै फ्यान्टासी (काल्पनिक) हुन्।’
सस्तो लोकप्रियता कमाउन आफूले गीत बनाउने नगरेको उनको दाबी छ।
तर अचेल केवल चर्चाका लागि भाषा, व्याकरण, विन्यास आदि केही ज्ञान नभएकाहरूले जस्तो पायो त्यस्तै गीत रचना गर्ने चलन चलेको उनको टिप्पणी छ।
उनी भन्छन्, ‘स्तरीय गीत लेख्नु कठिन काम हो। गीत लेखनमा नियम, शब्द चयन, व्याकरण आदिको राम्रो ज्ञान हुन जरुरी छ।’
अब चाँडै दोस्रो गीति संग्रह पनि निकाल्ने तयारी भइरहेको जानकारी पनि उनले दिए।
भिडिओ-
प्रतिक्रिया