भारतको पश्चिम बंगाल राज्यअन्तर्गत भवानीपुर विधानसभा सिटका लागि सम्पन्न उपचुनावको नजिता आज (आइतबार) सार्वजनिक हुने सम्भावना छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले मतगणना भइरहेको छ।
तृणमूल कांग्रेसले मुख्यमन्त्री रहेकी आफ्नै नेता ममता बनर्जीले ठूलो अन्तरमा जित्ने दाबी गरेको छ।
गुलाब चक्रवातका कारण त्यहाँ मतदान घटेको थियो। जसका कारण तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी दुवै चिन्तामा परेका थिए।
तर अहिले टीएमसीले आफूले जित्ने दाबी गरेको हो।
टीएमसीका नेताहरूले मतगणना सुरु हुनुभन्दा केही घण्टाअघि ममता बनर्जी, यसअघि भवानीपुर विधानसभा चुनाव जितेका सोभनदेव चट्टोपाध्यायले भन्दा पनि बढी मतले विजयी हुने दाबी गरेका हुन्।
भवानीपुरमा गत सेप्टेम्बर ३० मा सम्पन्न उपचुनावमा ५७.०९ प्रतिशत मात्र मत खसेकाे हाे। यसअघि मार्च–अप्रिलमा भएको विधानसभा चुनावमा भने त्यहाँ ६१.७९ प्रतिशत मतदान भएको थियो। जसमा सोभनदेव चट्टोपाध्यायले २८ हजार ७१९ भोट ल्याएर जितेका चुनाव थिए।
विधानसभा चुनावमा तृणमूल कांग्रेसले २९४ सिटमध्ये २१३ स्थानमा जितेको थियो। तर ममता बनर्जीले नन्दीग्रामबाट आफ्नो सिटमा चुनाव हारेकी थिइन्।
तर पार्टीकाे बहुमतका आधारमा उनलाई उनलाई पश्चिम बंगाल राज्यको मुख्यमन्त्री बनाइएकाे हाे। त्यसकाे ६ महिनापछि विधानसभाको सदस्य हुनैपर्ने भएकाले बनर्जीले अहिले उपचुनाव लडेकी हुन्। यसका लागि शोभनदेव चट्टोपाध्यायले भवानीपुर सिट खाली गरिदिएका हुन्।
उनी मुख्यमन्त्रीमा रहिरहन अहिलेकाे चुनाव जित्नैपर्ने हुन्छ।
तर उनलाई भारतीय जनता पार्टीकी उम्मेदवार प्रियंका टिबरीवालले चुनौती दिइरहेकी छन्।
किनिक दुवै दलले आफ्ना उम्मेदवारले नै जित्ने दाबी गरिरहेका छन्।
Shares

प्रतिक्रिया