राजनीति


'ओलीमाथि 'बम' हानेपछि बालुवाटारको कैदबाट मुक्ति मिल्यो'

'ओलीमाथि 'बम' हानेपछि बालुवाटारको कैदबाट मुक्ति मिल्यो'

नेपालखबर
असोज १६, २०७८ शनिबार १५:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधाानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूले दस्तावेजको बम नै हानेको बताएका छन्। 

नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलामा शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा कायम रहेको अवस्थामा ओलीसँग आफूले ठूलो सहासले विद्रोह गरेको बताए। 

'मैले केपी ओलीको विचार के हो? शैली के हो? रणनीति के हो? उसको भ्रष्टाचार कति छ? भनेर आक्रमण गरेकै हो', उनले भने, 'मैले पेश गरेको त्यो त्यो डकुमेन्ट 'बमबार्ड द बुर्जुवा हेडक्‍वार्टर' नै  थियो।'

उनले ओलीविरुद्ध दस्तावेजको बम हानेपछि आफूलाई बालुवाटारको कैदबाट मुक्ति मिलेको पनि बताएका छन्। 

'ओलीविरुद्ध पेश गरेको त्यो दस्तावेज बम नै हो। तीन वर्षभित्र कता कता बालुवाटारभित्र कैदी भएको जस्तो थियो', उनले अगाडि भने, 'बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुका बालुवाटार, मत वाक्क भइसकेको थिएँ। जति पेले पनि तेल त आउने होइन।' 

उनले एउटा प्रधानमन्त्री र आफ्नै पार्टीको अध्यक्षविरुद्धको विद्रोह गम्भीर नै रहेको बताए। 'एउटा प्रधानमन्त्री र आफ्नो पार्टीको अध्यक्षविरुद्ध विद्रोह र आक्रमण अलिक गम्भीर नै थियो', उनले भने, 'मेरो जोखिम मोल्ने आँटले जे पनि हुन सक्थ्यो। तर मैले देशलाई दुर्घटनाबाट पर्न जोगाएँ।'

प्रचण्डले २०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि आफूलाई बालुवाटारबाट मुक्ति मिलेको बताए। 'ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि मलाई आनन्द आयो', उनले भने, 'म बालुवाटारको कैदबाट मुक्त भएँ, ठूलो राहत पाए जस्तो भयो।'

एकताका कुरा 

प्रचण्डले पूर्व माओवादी शक्तिबीच एकता अघि बढाइएको पनि बताएका छन्। उनले नेत्रविक्रम चन्द 'विप्लव', मोहन वैद्य 'किरण' र डा. बाबुराम भट्टराईसहितका शक्तिसँग एकताका लागि कुरा भइरहेको बताएका छन्। 

'अहिले हामी सबै ज्ञानी भएका छौँ। बाबुरामजी पनि ज्ञानी हुनुभयो, विप्लवजीमा ज्ञान फिरेको छ। म पनि ज्ञानी भएँ', दाहालले एकताबारे अगाडि भने, ‘जनता र हाम्रा कार्यकर्ता ठीक ठाउँमा छन्, उनीहरु बिग्रिएका छैनन्। हामीले अब आत्मसमीक्षा गर्दै जनतामा पुग्न जरुरी छ। ज्ञान फिरेकाले कम्युनिष्टहरु फेरि एक हुने अवस्था बन्दैछ।'

उनले सम्बोधनका क्रममा ओलीको आलोचना गरिरहे। प्रचण्डले नेकपा बनेपछि ओलीले छलछाम र धोकाको राजनीति गरेको पनि आरोप लगाएका छन्। 

'एमालेसँगको एकतापछि म मनमा जे छ, त्यही बोल्ने भावुक मान्छे भएँ। तर ओलीले छलछाम, धोकाको राजनीति गरिरहे', उनले भने, 'त्यहीकारण कम्युनिष्ट आन्दोलन र मुलुक संकटमा परेको हो। ओलीकै कारण पार्टीमा विद्रोह गर्नु परेको हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad