राजनीति


ओलीले गरे चीनको प्रशंसा, अमेरिका र बेलायतले विश्वमा तनाव बढाएको आरोप

ओलीले गरे चीनको प्रशंसा, अमेरिका र बेलायतले विश्वमा तनाव बढाएको आरोप

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १४:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनको प्रशंसा गरेका छन्। 

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेश गर्ने क्रममा ओलीले छिमेकी चीनले गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गरेका हुन्। 

'चीनले छोटो समयमा हाँसिल गरेको प्रगति अभूतपूर्व छ। चीनले ४० वर्षमै हाँसिल गरेको सफलता प्रेरणादायी छ', ओलीले भने, 'यस सफलताका लागि चिनियाँ नेतृत्व र चिनियाँ जनता बधाईका पात्र छन्।'

तर ‌ओलीले चीन र भारतको निरन्तरको द्वन्द्वका कारण दक्षिण एसियामै असर गरिरहेको पनि उनले बताएका छन्। 

'विवाद व्यवस्थापन गर्दै आए पनि भारत र चीनको तनाव अझै जारी छ। सीमामा देखिएको पटक पटकको तनावले दक्षिण एसियमा नै असर गरेको छ', ओलीले भने, 'अर्कातिर भारत र पाकिस्तानबीचको तनाव पनि कायमै छ। यसले यस क्षेत्रको भूराजनीतिमै असर गरिरहेको छ।'

उनले चीन र भारतबीचको सीमा समस्या र मतभिन्नता हटोस् भन्ने चाहेको पनि बताए। चीन र भारतको द्वन्द्व सकिएमा त्रिदेशीय सम्बन्ध बढाउन सकिने पनि बताए। उनले नेपाल नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताए। 

ओलीले सम्बोधनका क्रममा अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिले पनि क्षेत्रीय शान्तिलाई असर गर्न सक्ने बताएका छन्। 

'अमेरिकाले सारेको इन्डो प्यासिफिक यसैलाई लक्षित छ। पछिल्लो समय अस्ट्रेलिया, अमेरिका र बेलायतले गरेको सम्झौताले फेरि विश्व राजनीतिमा तनाव सुरु भएको छ', उनले भने।

ओलीले विश्वका कुनै पनि देशले गरेको हस्तक्षेप सफल नहुने उदाहरण अफगानिस्तानबाट पुष्टि भएको पनि बताए। 

'अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटेको छ। यसले जुनसुकै बहानामा गरिने हस्तक्षेप अस्वीकार्य छ भन्ने देखाएको छ', उनले भने, 'अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ। तर नेपाल अहस्तक्षेप, असंलग्न नीतिमा विश्वास गर्छ।' 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad