राजनीति


देउवालाई एमालेको जवाफ : माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा हामी आउँदैनौं

देउवालाई एमालेको जवाफ : माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा हामी आउँदैनौं

नेपालखबर
असोज १४, २०७८ बिहिबार ९:५०, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहीबार बस्न लागेको सर्वदलीय बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। 

आफूले अवैधानिक भनेको माधव नेपालसहित १४ जना सांसद तथा उनीहरूको पार्टी नेकपा एकीकृत समाजवादी सहभागी हुने भएकाले त्यस बैठकमा एमाले सहभागी नहुने एमाले स्रोतले जानकारी दियो।  

‘माधव नेपालसहित १४ जना सांसद अनधिकृत हुन्, तिनले गठन गरेकाे नेकपा एकीकृत समाजवादी अवैधानिक हो, अदालतमा मुद्दा परेको छ, त्यस्ता सांसद तथा पार्टी सहभागी हुने सर्वदलीय बैठकमा हामी आउँदैनौं भनेर प्रधानमन्त्रीलाई जवाफ दिइसकेका छौं,’ एमालेको उच्च स्रोतले नेपालखबरसँग भन्यो। 

प्रधानमन्त्री देउवाको आह्वानमा अहिले १० बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै छ। बैठकमा सहभागिताका लागि संसदमा प्रतिनिधित्व गरिरहेका सबै दललाई बाेलाइएकाे छ। 

गत वैशाखमा आफ्नै पार्टीका अध्यक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदा मत नदिएको भन्दै एमालेले माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। र, त्यसअनुसार उनीहरूलाई सांसद पदबाट बर्खास्त गर्न पठाइएको पत्रअनुसार सभामुख अग्नि सापकोटाले कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले रुष्ट छ। यसैको विरोधमा उसले निरन्तर संसद् अवरुद्ध गरिरहेको छ।

यही गतिरोध हटाउने विषयमा प्रधानमन्त्री देउवाले आज सर्वदलीय बैठक आयोजना गरेका हुन्। 

तर तिनै सांसदले गठन गरेको ‘अवैधानिक’ पार्टी नेकपा एकीकृत समाजवादीसमेत त्यसमा सहभागी हुने भएकाले आफू आउन नसक्ने भनेर एमालेले जानकारी गराइसकेको एमाले उच्च स्रोतले बताएको हो।  

आफूले हटाइसकेका १४ सांसदलाई बर्खास्त नगरेको भनेर सभामुख सापकोटा तथा तिनै सांसदको हस्ताक्षरलाई मान्यता दिएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको भनेर निर्वाचन आयोगविरुद्ध एमालेले सर्वाेच्च अदालतमा मुद्दा हालेको छ। अदालतले यसमा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दाको अन्तिम किनारा लाग्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad