ad ad

राजनीति


गठबन्धनमा एमसीसी सकस : के चाहन्छन् प्रचण्ड, नेपाल र यादव?

गठबन्धनमा एमसीसी सकस : के चाहन्छन् प्रचण्ड, नेपाल र यादव?

सागर न्यौपाने
असोज ३, २०७८ आइतबार २१:५३, काठमाडौँ

‘एमसीसीको नाममा गठबन्धन फुटाउने खेल भइरहेको छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असोज १ गते पार्टी कार्यालय उद्घाटन गर्दै भने, ‘एमसीसीलाई अस्त्र बनाई गठबन्धनविरुद्ध प्रयोग गरिएको छ, हामी सचेत रहनुपर्छ।’

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई तत्काल पारित गर्ने र संशोधन गर्ने विषयमा कुरा नमिलेपछि सत्ता गठबन्धन नै संकटमा छ।

गठबन्धनभित्र एमसीसीका विषयमा साझा धारणा नबन्दा खटपट भइरहेको अध्यक्ष नेपालको भनाइले पुष्टि गर्छ। 

चार वर्षअघि भएको सम्झौतालाई संसदमा पेस गरेर पारित गर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्।

तर, गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) संशोधन गर्नुपर्ने अडानमा कायम छन्।

सोही कारण प्रधानमन्त्री देउवाले कुनै पनि बेला एमालेको साथ लिनसक्ने अवस्था देखेर सशंकित छन् यी तीन दल।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले संशोधनबिना एमसीसी पास नगर्ने आफ्नो पार्टीको बटमलाइन रहेको बताए।

‘संशोधनबिना पास गर्नु हुँदैन भन्ने हाम्रो पार्टीको बटमलाइन हो,’ महराले नेपालखबरसँग भने, ‘कतिपय विषय पनि मिलेको छैन, परिमार्जन र संशोधन नगरी अगाडि बढाउन सक्दैनौँ।’

एमसीसीले नेपाल सरकारले पठाएको पत्रको जवाफमा यो सम्झौता परिमार्जन नहुने बताएको थियो। हालै नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले पनि संशोधन गर्न नसक्ने बताएकी थिइन्। 

त्यही भएर माओवादीले सत्ता गठबन्धनबीच साझा सहमति हुनुपर्ने बताइरहेको छ। 

‘अब एमसीसी पास गर्न पाँच दलबीच सहमति चाहिन्छ। सत्तारुढ दलमा सहमति नभई अहिले पास गर्नु हुँदैन, यथास्थितिमा पास गर्न सकिँदैन,’ महराले थपे।

माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनले भने एमसीसीका विषयमा गठबन्धनभित्र गम्भीर कुरा नभएको बताए।

अर्काे चुनावबाट निर्वाचित हुने सरकारले एमसीसी अघि बढाउँदा राम्रो हुने सुझाव दिइएको उनले बताए।

‘जनतामा तीव्र विरोध भएकोले एमसीसीलाई अहिले अघि बढाउनु हुँदैन भन्ने छ,’ पुनले नेपालखबरसँग भने, ‘राम्रो चाहिँ चुनावपछिको सरकारले अघि बढाउँदा हुन्छ भन्ने हो, त्यसो नभए परिमार्जन गरेर मात्र अघि बढाउन सक्दा राम्रो हुन्छ।’

पुनले पनि एमसीसीलाई गिजोलेर गठबन्धन भत्काउन प्रयास भइरहेको बताए। 

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालले कुनैपनि वैदेशिक सहयोग लिँदा राष्ट्रिय हित र दलहरुबीचको राष्ट्रिय सहमति खोज्नुपर्ने बताए।

‘वैदेशिक अनुदान र सहयोग नेपालले लिनैपर्छ तर, त्यो लिँदा राष्ट्रिय सहमतिलाई हेर्नुपर्छ,’ यादवले नेपालखबरसँग भने, ‘राजनीतिक शक्तिहरुबीच पनि सहमति खोज्नुपर्छ।’

अहिले गठबन्धनमा रहेका दलहरुबीच सहमति कायम गरेर जानुपर्ने उनले बताए। 

तर, एमसीसीका विषयमा के गर्ने भन्ने बारेमा जसपाले कुनै धारणा नबनाएको उनले प्रष्ट्याए।

‘हामी भोलि के गर्छौँ भन्ने कुरा एमसीसी संसदमा पेस भएपछि मात्र निर्णय गर्छौँ,  अहिले नै यही गर्छौँ भनेर बटमलाइन बनाएका छैनौँ,’ यादवले थपे।

जसपाकै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले परिमार्जनसहित पारित गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।

एमसीसीका विषयमा दलहरुले छुट्टाछुट्टै भन्दा सामूहिक निर्णय गरेर एउटै धारणा बनाउनुपर्ने सुझाव अध्यक्ष यादवको छ।

‘गठबनधनको बैठक बसेर एमसीसीको विषयमा साझा धारणा बनाउनुपर्छ, त्यसले राजनीतिक दलहरुबीच सहमति पनि बनाउँछ,’ यादवले भने।

उनका अनुसार दसैँअघि एमसीसी संसदमा पेस हुने सम्भावना कम छ।

अहिले एमसीसीलाई अगाडि बढाएर समस्या पार्नु नहुने भन्दै एकीकृत समाजवादी तत्काल एमसीसी पास नगर्ने पक्षमा देखिएको छ।

एमसीसीकी उपाध्यक्षले नेपालमा रहेका सबै दलका प्रमुखहरुसँग भेट गरेर फर्किएपछि प्रधानमन्त्री देउवाले भने पास गर्नैपर्ने दबाब महसुस गरिरहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .