ad ad

राजनीति


प्रदेश २ मा कांग्रेस र माओवादीका मन्त्रीले मनाए संविधान दिवस, जसपा र लोसपा विरोधमा

प्रदेश २ मा कांग्रेस र माओवादीका मन्त्रीले मनाए संविधान दिवस, जसपा र लोसपा विरोधमा

शैलेन्द्र महतो
असोज ३, २०७८ आइतबार १९:५१, जनकपुरधाम

संविधान दिवसमा प्रदेश २ सरकारमा मन्त्रीहरु विभाजित भएका छन्। देशभर साताैँ संविधान दिवस मनाइरहँदा प्रदेश २ मा कतिपय मन्त्रीले  संविधान दिवस मनाए भने केही मन्त्रीहरु विराेधमा उत्रिए।

जसपा नेतृत्वको प्रदेश २ सरकार भने संविधान दिवसमा मौन बसेको छ। संविधान दिवसको अवसरमा कुनै समर्थन वा विरोधको कार्यक्रम नरहेको मुख्यमन्त्री लालबाबु राउतले बताए।

संविधाननत: सरकारमा आफूहरु रहेको, तर संविधानमा रहेका त्रुटिहरु नसच्चिएकाले विरोध वा समर्थनमा कुनै कार्यक्रम नरहेको उनले बताए।  त्यसभित्र रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रदेशमा सत्ताको नेतृत्व गरिरहेकाे जसपाका मन्त्रीहरु विभिन्न जिल्लामा संविधानमा त्रुटी औँल्याउनमा ब्यस्त रहँदा सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरुले भने संविधान दिवस मनाएका छन्। 

सत्ता साझेदार दल कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जनकपुरस्थित नोचा पोखरीमा सरसफाई कार्यक्रम गरी संविधान दिवस मनाएका छन्। कांग्रेस नगर समितिद्वारा संविधान दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा मन्त्री यादव आफू सहभागी भएको बताएका हुन्।

उनले सरकारको तर्फबाट नभइ पार्टी र व्यक्तिगत हिसाबले संविधान दिवस मनाएको नेपालखबरलाई बताए। 

यता नेकपा (माओवादी केन्द्र)बाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका भरत प्रसाद साह भने मधेश भवन परिसरमै कर्मचारीहरुले आयोजना गरको सरसफाई कार्यक्रममा सहभागी भएर संविधान दिवस मनाएका छन्। उनले आफू सरसफाई कार्यक्रममा सहभागी भएर संविधान दिवस मनाएको नेपालखबरलाई बताए।

मधेश केन्द्रित दल विरोधमा
यता, सरकारमा सहभागी मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने संविधान दिवसको विरोधमा उत्रिएका छन्।

संविधानमा थुप्रै त्रुटिहरु रहेकाले जसपा समर्थन तथा विरोधमा कुनै कार्यक्रम नगरी जिल्लाहरुमा भेला गरी त्यो त्रुटिहरुको विषयमा छलफल तथा विमर्श गरिएको प्रदेश २ जसपाका अध्यक्ष समेत रहेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले जानकारी दिए। 

लोसपाले भने आजको दिनलाई कालो दिवसको रुपमा मनाइरहेको छ। दिउँसो जिल्ला सदरकमुकामहरुबाट संविधानको विरोधमा कालो झण्डासहितको विरोध जुलुस प्रदर्शन तथा साँझ बत्ती निभाएर ब्ल्याकआउट  गरिएको लोसपा प्रदेश सांसद प्रमेश्वर साहले बताए।

तराइ मधेशमा चलिरहेको आन्दोलनको बाबजुद दोश्रो संविधान सभाबाट २०७२ साल असोज ३ संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो। सोहीअसन्तुष्टिका कारण संविधान दिवसको दिन मधेश केन्द्रित दल र यस क्षेत्रका अधिकांश जनता कालो दिवसको रुपमा मनाउने गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .