ad ad

राजनीति


एमालेमा कतिञ्जेल चल्छ जेठ २ र १० बुँदेको रटान?

एमालेमा कतिञ्जेल चल्छ जेठ २ र १० बुँदेको रटान?

सागर न्यौपाने
असोज १, २०७८ शुक्रबार २१:५१, काठमाडौँ

‘अन्तरपार्टी निर्देशनको अक्षरसः पालना गरौँ, त्यसमा कुनै जालझेल र षड्यन्त्र नगरौँ,’ अध्यक्ष केपी ओलीकै अगाडि बागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बिहीबार भनिन्, ‘०७५ जेठ २ मा जे भनेको छ, जो आउँछ उसैलाई नेतृत्व मानेर अगाडि बढौँ।’

उनले त्यतिबेला यो अभिव्यक्ति दिएकी थिइन्, जतिबेला ओली खेमाका नेताहरुले एमालेलाई २०७५ जेठ २ अर्थात् माओवादी केन्द्रसँग एकता हुनुअघिको अवस्थामा फर्काउने निर्णय कार्यान्वयन नहुने बताइरहेका थिए। 

पार्टीलाई जेठ २ मा फर्काउने र त्यसका लागि असार २७ मा भएको १० बुँदे सहमतिको अक्षरसः पालना गर्ने सर्तमा नेपाल पक्षका १० नेताहरु एमालेका फर्केका थिए।

तर, अहिले जेठ २ कार्यान्वयनमा छ कि छैन, स्वयम् सहमतिकर्ता नेताहरुले समेत भेउ पाउन सकेका छैनन्। त्यसैले  जेठ २ र १० बुँदे पालनाको रट लगाउन उनीहरुले छाडेका छैनन्। त्यसैको परिणामस्वरुप बिहीबार शाक्यको अभिव्यक्ति आएको हो। 

१० बुँदे कार्यान्वयन हुँदा शाक्य निर्विकल्प रुपमा बागमती प्रदेशको इन्चार्ज हुन्छिन् भने भीम रावल सुदूरपश्चिम प्रदेशको इन्चार्ज। 

तर, अहिले बागमती प्रदेश इन्चार्जको हैसियतमा रामबहादुर थापा बादल सक्रिय छन् भने सुदूरपश्चिममा लेखराज भट्ट।

त्यही भएर भदौ ३१ गते काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीलाई शाक्यले कडै बोलीमा भनिन्, ‘सहमति भाँड्ने षड्यन्त्र नगरौँ।’

माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्दा शाक्यसहितका १० नेताले साथ दिएनन् र एमालेमै बस्ने निर्णय गरे।

जेठ २ मा फर्कने र १० बुँदे कार्यान्वयन हुने समझदारी बनेको भन्दै उपाध्यक्षहरु शाक्य, युवराज ज्ञवाली, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटीका रघुजी पन्त, सुरेन्द्र पाण्डे एमालेमै बस्न सहमत भएका थिए।

त्यसमध्ये ज्ञवाली कर्णाली प्रदेशको इन्चार्जमा कायम छन्।

योगेश भट्टराईले शुक्रबार (असोज १) देखि प्रचार विभागको प्रमुखको जिम्मेवारी समालेका छन्। तर, जेठ २ को अवस्थामा उनी पार्टी प्रवक्ता पनि थिए। 

अहिले पार्टी प्रवक्तामा सचिव प्रदीप ज्ञवाली छन्। यो भनेको नेकपाकालीन अवस्था हो।

यसलाई आधार मान्दा अहिले एमालेमा २०७७ फागुन २८ गते र जेठ २ गतेको दुवै अवस्था कार्यान्वयनमा छ। 

सर्वाेच्च अदालतले २०७७ फागुन २३ गते नेकपा भंग गर्ने फैसला गरिदियो। त्यसपछि एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए। एमालेले २८ गते बैठक राख्यो। तर, त्यो बैठकमा माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुलाई पनि सहभागी गराइयो। 

त्यही बैठकले माओवादीबाट एमाले प्रवेश गर्ने नेताहरुलाई समेटेर केन्द्रीय समिति पनि विस्तार गर्यो।

पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपालसहितका उनी पक्षीय नेताहरुलाई जानकारी नदिई राखिएको सो बैठकले गरेको निर्णय नै अहिले ओलीले कार्यान्वयन गरिरहेका छन्। अर्थात्, उनले माओवादीका रामबहादुर थापालाई बागमती र लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाएका छन्। ओलीको यही निर्णयमा हो एमालेमै बसेका नेताहरुको गुनासो पनि। 

माधव नेपाललाई छोडेर एमालेमै बसेका केही नेताहरु पूर्ववत् अवस्थामा रहेको आफ्नो भूमिका खोजिरहेका छन्। शुक्रबार अछाममा पत्रकारसँग कुरा गर्दै रावलले आफू नै सुदूरपश्चिमको इन्चार्ज भएको जिकिर गरे।

‘नेकपा एमाले पार्टी विधानअनुसार नवौँ महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष र पार्टीले चयन गरेको सुदूरपश्चिम संयोजक (इन्चार्ज) मै छु,’ रावलले भने। 

उनले यसो भने पनि एमालेको सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट हुन्। अध्यक्ष ओलीले भदौ २२ गते पोखरामा कार्यकर्ता भेलामा जेठ २ मा पुरै फर्कन नसक्ने प्रष्ट पारेका थिए।

‘१० बुँदे भन्ने छ अहिले। १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन। जेठ २ भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ? जस्ताको तस्तै त फर्किंनै सकिँदैन,’ ओलीले रावलसँग भनेका थिए। 

ओलीसितको यही कुराकानी पछि सुदूरपश्चिम पुगेका रावल आफूलाई आफैँ एमालेको सुदूरपश्चिम इन्चार्ज दाबी गरिरहेका छन्। 

ओलीले नेकपाकालीन अवस्थामा प्रचण्डहरु मात्र बाहिरिएको र माओवादीसँगको एकता कायम रहेको पनि दाबी गरेका थिए। 

‘२०७५ जेठ ३ मा हामीले एकीकरण गरेका थियौँ,’ ओलीले थपे, ‘त्यो एकीकरण कायमै छ। माओवादी केन्द्रबाट आउनुभएका साथीहरू अहिले पनि हामीसँगै हुनुहुन्छ। दस बुँदे पार्टीलाई गतिशील बनाउन गरिएको हो, कसैसँग पार्टीको सम्झौता भएको  होइन।’ 

ओली र उनीपक्षीय नेताहरुले एकथरी र अन्तिम समयमा एमालेमा फर्केका नेताहरुले अर्काथरी अभिव्यक्ति दिइरहँदा एमालेमा १० बुँदे र जेठ २ को दहलफसल अरु लम्बिने देखिन्छ। किनभने पूर्ववत् जिम्मेवारी नपाएका नेताहरु त्यही भूमिका खोजिरहेका छन्। तर, ओली त्यसलाई सुन्ने पक्षमा छैनन्।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जेठ २ कार्यान्वयन गर्न केही बाँकी रहेको बताए।

‘अन्तरपार्टी निर्देशनमा जेठ २ कार्यान्वयनको विषय प्रष्टसँग उल्लेख छ,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘कार्यान्वयन गर्ने सन्दर्भमा केही नेताहरुको मिलिरहेको छैन।’

असोज ३ गते बस्ने स्थायी कमिटीको बैठकले त्यसलाई मिलाउने र व्यवस्थित गर्ने उनले विश्वास लिए। 

‘हाम्रो पार्टीको असोज ३ गतेदेखि स्थायी कमिटीको बैठक बस्दैछ, केही अस्पष्ट रहेका साथीहरुको जिम्मेवारी हामी टुंगो लगाउँछौं भनेर अध्यक्ष केपी ओलीले भन्नुभएको छ,’ ज्ञवालीले थपे। 

उनले जेठ २ लाई कार्यान्वयन नगर्दा व्यवहारमा समस्या देखिएको स्वीकार गरे। 

‘केही अस्पष्टताहरु छन्, त्यसलाई स्थायी कमिटीले समाधान गर्नुपर्छ,’ ज्ञवालीले थपे। 

तर, अध्यक्ष ओली पार्टीमा कुनै समस्या नरहेको बताउँछन्। ओली निकट नेताहरु भूमिका र जिम्मेवारी दिने कुरा पार्टी अध्यक्षले गर्ने भएकोले पहिलाको जस्तै हुनुपर्ने माग राख्नै नहुने तर्क गर्छन्। 

उनीहरुको बुझाइमा जेठ २ भनेर बार्गेनिङ गर्दा पार्टी झन् समस्यामा पर्ने खतरा छ। 

तर, शाक्य त्यसलाई मान्न तयार छैनन्। उनले सहमति कार्यान्वयन गराउने कुरामा पूर्वाग्रह नराख्न र मन फराकिलो पार्न सुझाइन्।

‘अब हामीले अन्तरपार्टी निर्देशनलाई अक्षरसः पालना गरेर देशव्यापी रुपमा स्थापित गर्नुपर्छ,’ शाक्यले भनिन्, ‘बिनाकुनै पूर्वाग्रह, बिनाकुनै मनमुटाव। हिजोको कुरा बिर्सेर सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनै पर्छ।’

तर, ओलीले मुखले नभने पनि व्यवहारमा एमालेमा बस्नेभए पार्टीले जे दिन्छ, त्यसलाई पालना गर्नू भनेर चेतावनी दिइसकेका छन्।

मुख्यमन्त्री समेत रहेकी अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमा फर्किन गरेको आग्रहप्रति पनि ओलीले आपत्ति  जनाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .