चीनले तिब्बतमा भारतद्वारा हुनसक्ने सम्भावित हवाई हमलालाई रोक्न सैन्य अभ्यास गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
यो अभ्यासबाट चीनले आफ्नो सेनाको हवाई प्रतिरक्षा शक्तिको जाँच गरेको बताइएको छ।
तिब्बतको ४ हजार ७ सय मिटर उचाइमा अवस्थित भूगोलमा यो अभ्यास गरिएको थियो। युद्धअभ्यासका क्रममा तिब्बत मिलिट्री डिस्ट्रिक्टअन्तर्गतको हवाई प्रतिरक्षा ब्रिगेडले क्षेप्यास्त्र आक्रमणलाई निस्तेज पारेको चीनको सरकारी प्रसारक सीसीटीभीले सार्वजनिक गरेको भिडिओमा देखाइएको छ।
क्रुज क्षेप्यास्त्र, विमानबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्रलगायतका हतियारको आक्रमणलाई रोक्ने अभ्यास गरिएको थियो। यसमा डमी विमान पनि प्रयोग गरिएको थियो।
चिनियाँ सेनाले जमिनबाट आकासमा प्रहार गर्न मिल्ने एचक्यू–१६बी क्षेप्यास्त्र र राडारको प्रयोग गरेको थियो।
‘यो अभ्यासले सेनाको तीव्र गति र एकै पटक धेरै वटा काम गर्न सक्ने क्षमताको परीक्षण गरेको छ,’ रिपोर्टमा भनिएको छ।
चिनियाँ सेनाको तिब्बत मिलिट्री डिस्ट्रिक्टले भारतसँगको विवादित सीमा क्षेत्र हेर्छ। गतवर्ष चीन र भारतबीच सीमा विवाद चुलिएको थियो। सबैभन्दा हिंसात्मक घटनामा २० भारतीय र चार चिनियाँ सैनिकको ज्यान गएको थियो।
१९६२ को युद्धपछि पहिलो पटक भारत–चीन सीमामा यतिधेरै सैनिकको ज्यान गएको थियो। त्यसयता दुवै मुलुकले सीमा क्षेत्रमा सैन्य तयारी बढाएका छन्। पूर्वाधार निर्माण, सैन्य अभ्यास र सेनाको उपस्थिति पनि वृद्धि गरेका छन्।
१२ चरणको सैन्य वार्तापछि पनि गत वर्ष सुरु भएको विवाद पुरै समाधान भएको छैन। चाँडै नै १३ औँ बैठक हुने बताइएको छ। एससीएमपी
Shares

प्रतिक्रिया